बिहिबार , फागुण १०, २०८०

शीतल निवासमा २० जनाको लर्को एकै चोटी छिर्यो । पेचिलो बनाइएको नागरिकता विधेयक र यसको प्रमाणाीकरणबारे छलफल गर्न एक महिनादेखि नियमित रुपमा शीतल निवास जानेहरुको सूची लामै छ ।

 

सोही क्रममा हिजो दिउँसो २ बजे राष्ट्रपतिले ‘नागरिकता विधेयक मात्र नभएर राष्ट्र र राष्ट्रियताको विषयमा संघर्ष गरिरहनु भएका तपाईंहरु’ भन्दै २० जनालाई ‘आफ्नो मुद्दामा थप वातावरण बनाउन देशभक्तहरु लागिपर्नोस्’ भनेर आग्रह गर्नुभएको बताइन्छ ।

 

राष्ट्रपतिसामु नागरिकता बिधेयकबारे सरोकार राख्न प्रा.डा. राजकुमार पोखरेल,साध्यबहादुर भण्डारी,सीपी मैनाली,नारायण शर्मा, हाम्रो पार्टी नेपालका संयोजक गोविन्द बोहरा ब्रह्माण्ड,रत्नसंसार श्रेष्ठ,नागरिकताविज्ञ शान्तिकुमार तिमल्सिना,कुमार श्रेष्ठ, डम्बरविक्रम कार्कीलगायत शीतल निवास पुगेका थिए ।

 

टोलीको कुरा सुनेपछि राष्ट्रपति भण्डारीले सबैलाई धन्यवाद दिँदै नागरिकताको मुद्दा २००९ सालदेखि कायम रहेको जानकारी दिनुभएको सहभागी एक जनाले जनआस्थालाई बताए ।

 

राष्ट्रपतिको भनाइ थियो, ‘वंशजकाले नागरिकता पाउन कुनै अप्ठेरो नहुनुु पर्ने हो । तर त्यस्तो भइरहेको सुन्छु । कमजोरी कहाँबाट भइरहेको छ थाहा पाउनुपर्छ र कसैले पनि नियतवशः गल्ती गर्नुहुँदैन ।’

 

नागरिकतालगायतका विषय विश्व परिवेशअनुकूल नभएको आवाज उठेको,यसलाई हाम्रो देश र परिवेशअनुसार बनाउन सबैले रचनात्मक भूमिका खेल्नुपर्ने उहाँको सुझाव थियो । स्रोतका अनुसार बुझ्ने भाषामा राष्ट्रपतिले भन्नुभयो, ‘नागरिकताको कारण विखण्डनकारी तत्वले खेल्न नपाओस्,राष्ट्रियता कमजोर नबनोस्,मुलुकको सार्वभौम र स्वतन्त्रतामा कुनै असर नपरोस् साथै आर्थिक असर पनि नहोस् ।’

 

राष्ट्रपति भण्डारीले नागरिकताको विषयलाई बढी जोड दिँदै धारणा राखेको बताइन्छ । हामी पहिले कहिँ चुकेको आफूलाई महसुस भएको उहाँको भनाइ थियो । अब सबै मिलेर सच्याउने र संविधान बन्नुअघि अहिलेको जस्तो बहस उठेको भए राष्ट्रहितमा हुने उहाँको निश्कर्ष थियो ।

 

‘तर ढिलै भए पनि आज पक्ष र विपक्षमा बहस उठेको छ,यो खुशीको विषय हो । बहस उठेपछि सल्टिन्छ । तपाईंहरु पनि आफ्नो मुद्दामा लाग्नुहोला,वातावरण बनाउनु होला । गल्ती सुधार्ने अवसर सबैलाई दिनुपर्छ,’ उहाँको भनाइ रहेको सहभागीले बताए ।

 

राष्ट्रपतिले आफ्नो पुत्ला जलाएको थाहा पाएको र त्यसमा आफूलाई खुशी लागेको सहभागीहरुलाई जानकारी गराउनुभएको छ । आफ्नो कर्म गर्नेलाई पुत्ला जलाएर केही फरक नपर्ने उहाँको निचोड थियो । ‘मेरोविरुध्द प्रदर्शन भएकोमा खुशी छु,’ राष्ट्रपतिले अन्तिममा भन्नुभयो । सबैलाई धन्यवाद भनेपछि उहाँ आफैँ सामूहिक फोटो खिच्न तयार हुनुभएको स्रोतको दाबी छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय