मंगलबार , बैसाख ११, २०८१

नेपालको राजनीतिक इतिहासमा एक पृथक पहिचान तथा कम्युनिष्ट आन्दोलनलाई नविनतम ब्याख्या र विश्लेषण गर्ने सिद्धान्तकारका रूपमा नेता मदन भण्डारीलाई लिन सकिन्छ । मदन भण्डारी एक कुशल संगठक तथा सिद्धान्तनिष्ठ र व्यावहारिक नेताका रुपमा आफ्नो लौलिक जीवनकालमा जति परिचित हुनुभयो, उहाँको असामयिक र स्तव्धकारी अनि अप्रत्यासित निधनले तात्कालिक नेपालको राजनीतिमा अपुरणीय क्षति भयो । त्यो निधन कसैले पनि सहजरुपमा लिन सक्ने अवस्था थिएन ।

मदन भण्डारीको असामयिक निधनमा नेपाली राजनीतिको एक नायकको इहलिला समाप्त भए पनि उनका विचार, कम्युनिष्ट सिद्धान्त तथा मुल्यको बैचारिक राजनीति नेपालको राजनीतिक पाटामा चीरस्थायी त रहन्छ । विश्व कम्युनिष्ट आन्दोलनमा भण्डारीले प्रतिपादन गरेको जनताको बहुदलीय जनवादले नयाँ उचाई प्राप्त गर्यो ।

जनताको बहुदलीय जनवादले बहुलवाद र बहुल विचारको राजनीतिक पृष्ठभूमिमा अन्य विचार र सिद्धान्तलाई पनि प्रतिस्पर्धाको खुला राजनीतिमा बोध र स्वीकार्यता गर्दै जनताकाबीच प्रतिनिधिमूलक संस्थाको जननिर्वाचित प्रतिनिधिका माध्यमबाट व्यवहारमा रुपान्तरणको प्रयोग तात्कालिक नेकपा एमालेले ग¥यो । जसको श्रेय जननेता मदन भण्डारीमा जान्छ ।

२०४६ सालको ऐतिहासिक जनआन्दोलनको उपलब्धीपछि पुनस्र्थापित बहुदलीय व्यवस्था र त्यसैको आधारसिलामा बनेको नेपाल अधिराज्यको संविधान २०४६ मा व्यवस्था भएको जनताको प्रतिनिधिमुलक संस्था व्यवस्थापिका संसद् तथा तल्लो तहका स्थानीय निकायको प्रत्यक्ष निर्वाचनमा जनताको बहुदलीय जनवादको बैचारिक धरातलमा खुला राजनीतिक प्रतिस्पर्धामा भाग लिएर जनताका निर्वाचित संस्थाका माध्यमबाट शासन र विकासमा सहभागिताको स्वस्थ अभ्यास तात्कालीक नेकपा एमालेले ग¥यो । साथै जनमतको उच्च सम्मानको प्रतिकात्मकताका आधारमा तात्कालिक नेकपा एमाले संसद्को दोस्रो ठूलो दल तथा नेपाली राजनीतिको प्रमुख शक्तिका रुपमा स्थापित हुनसक्नु उनको विचार र सिद्धान्तको विजयका रुपमा लिन सकिन्छ ।

मदन भण्डारी बैचारिक सिद्धान्तकार बढि थिए तर पनि उनमा मास पोलिटिकल लिडरको गुण पनि कम थिएन् । बहुदलीय व्यवस्थाको पुनस्र्थापना पछिको पहिलो व्यवस्थापिका संसद्को निर्वाचनका दौरानमा नेता भण्डारीको मास पोलिटिकल लिडरको क्षमता आमनेपाली जनताले देखेकै हुन्, अनुभव गरेकै हुन् भने समकालिक राजनीतिक वृत्तमा पनि उनी कुशल र प्रखर वक्ताको छवि बनाउन सफल भए ।

कुशल संगठक नभएको भए पञ्चायती र्निदलीय व्यवस्थाको स्वाभाविक प्रतिकूल र असहज परिस्थितिमा पनि पार्टीको संगठन कुशलतापूर्वक गर्नसक्नु कम चुनौती थिएन । परिणामस्वरुप बहुदलीय व्यवस्थाको पुनस्र्थापनाका लागि तात्कालिन बाममोर्चा र नेपाली कांग्रेसको संयुक्त जनआन्दोलन पश्चात देशमा नयाँ राजनीतिक परिवेशको पदार्पण हुनसक्यो । तात्कालिक नेकपा मालेको एक प्रमुख नेताका रुपमा मदन भण्डारीको उचाईं आफैंमा उच्च थियो ।

जसका कारण एकीकृत पार्टी (तात्कालिक नेकपा माले र नेपाल कम्युनिष्ट पार्टी माक्र्सवादी) नेपाल कम्युनिष्ट पार्टी एमालेको महासचिवको महत्वपूर्ण जिम्मेवारी मदन भण्डारीले कुशलतापूर्वक निर्वाध गरे । यसै समयक्रममा महासचिव तथा जननेता मदन भण्डारी र तात्कालिक एमालेका संगठन विभाग प्रमुख जीवराज आश्रितको पार्टीको सांगठनिक कामको सिलसिलामा यात्रा गर्ने क्रममा चितवनको दासढुंगामा जिप दुर्घटनामा परी आकस्मिक निधन भयो । उनको असामयिक निधन नेपालको राजनीतिक क्षेत्रमा लामो समयका लागि अपुरणीय क्षति र पार्टीका लागि अग्रज नेताको अवसान थियो ।

मदन भण्डारीका विचारहरू सामयिक थिए, समाजवादी आन्दोलनलाई नयाँ शिराबाट व्याख्या र विश्लेषण गर्ने कुशल भाष्यकारका रुपमा उनलाई लिन सकिन्छ । विशेषतः पश्चिमा विश्वमा आएको उदारवाद तथा खुल्ला राजनीतिक प्रतिस्पर्धामा समाजवादी विचारलाई कसरी स्थापित गर्न सकिन्छ र तात्कालीक पूर्वी युरोपलगायत सोभियत संघको विघटन र अवसानपछि विश्व कम्युनिष्ट आन्दोलनकै आसानको अवस्था र पुनर्जागरणको आवश्यकताको टड्कारो प्रतिछायाँमा नवजीवन दिने बैचारिक मान्यता जनताको बहुदलीय जनवाद थियो । त्यसको कुशल प्रयोग र व्याख्याको व्यवहारिकतालाई पुष्टि गर्न जननेता मदन भण्डारी सफल भए । त्यसैले समग्र कम्युनिष्ट आन्दोलन र समाजवादी विचारको पुर्नचिन्तनको अग्रज अभियन्ताका रुपमा मदन भण्डारीलाई लिन सकिन्छ ।

समय परिवर्तनशील छ, समय बलवान पनि छ । यसै सन्दर्भमा तत्कालीन नेकपा माओवादी, जसको नेतृत्व नेता पुष्पकमल दाहालले गरेका थिए, त्यस पार्टीले नेपालमा सशस्त्र द्वन्द्वको बैचारिक धरातललाई पुष्टाई गर्ने अभियानलाई करिव दश वर्षसम्म निरन्तरता दिए । तर, अन्ततोगत्वा जनताको बहुदलीय जनवादको विचार नै सही रहेको पुष्ट्याइको थप जिरह आवश्यकता नरहला, जसरी राजनीतिक घटनाक्रमले हालको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को राजनीतिक हैसियत तथा जनअभिमतको प्रतिविम्ब संस्थापन ग¥यो ।

यो जनताको आवश्यकता थियो । यो एकता समयको मागको प्रतिविम्ब थियो । गत वर्षको जेष्ठमा तत्कालीन नेकपा एमाले र एकीकृत नेकपा माओवादीको एकीकरणपछि गठन भएको नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को अस्तित्व र नेपाली राजनीतिमा सत्ताधारी पार्टीका रुपमा नेकपाले आफ्नो अलग पहिचान बनाएर अघि बढेको छ ।

नेपाली कम्युनिष्ट राजनीतिक विचारका एक शिखर व्यक्तित्व मदन भण्डारीको योगदान र उनले नेपाली कम्युनिष्ट आन्दोलनलाई जुन नयाँ विचारको सैद्धान्तिक धरातलमा व्याख्या र विश्लेषण गरे त्यसको परिणति स्वरुप वर्तमान नेपाली कम्युनिष्ट आन्दोलन नेपालमा मात्र होइन विश्व कम्युनिष्ट आन्दोलनमा पनि स्पष्ट प्रभाव पारेको छ । साथै जनताको बहुदलीय जनवादीे विचारको जुन प्रयोग र व्याख्या उनले अघि सारे त्यसैको पृष्ठभूमिमा नेपाली कम्युनिष्ट आन्दोलन अघि बढ्नेछ भन्नेमा राजनीतिक विश्लेषक र आमजनता अपेक्षित छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय