शुक्रबार , चैत्र १६, २०८०

६ पुस, काठमाडौं:

संविधानविपरीत प्रतिनिधिसभा विघटन गरेर मध्यावधि चुनावको घोषणा गरेका प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा नफुट्ने बताएका छन् ।

तर, पार्टी नफुटे पनि एकता भने भंग हुने र पूर्वसमूह ( एमाले र माओवादी) आ–आफ्नो बाटो लाग्न सक्ने प्रधानमन्त्री ओलीको विश्लेषण छ ।

प्रधानमन्त्रीको सरकारीनिवास बालुवाटारमा सोमबार बिहान आफूनिकटका सांसद र केन्द्रीय सदस्यहरुको भेलालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले पछिल्लो राजनीतिक घटनाक्रमबारे आफ्नो विश्लेषण सुनाए ।

आफूले संसद विघटन गरेर मध्यावधि चुनावमा जानुपर्ने कारणबारे बताउनका लागि ओलीले आफ्नो पक्षका नेताहरूलाई बालुवाटारमा बोलाएका थिए ।

आगामी बैशाखमा दुई चरणमा मध्यावधि चुनाव गर्ने घोषणा गरेका प्रधानमन्त्री ओलीले पार्टी एकता भंग भएपछि निर्वाचन आयोगले नेकपा एमाले र सूर्यचिह्नलाई मान्यता दिने संकेत गरे ।

त्यसैगरी माओवादी र हँसिया हथौडा चुनावचिह्न प्रचण्ड समूहले पाउने उनले जनाउ दिए ।

बालुवाटारमा प्रधानमन्त्रीको भनाइ उद्धृत गर्दै एक नेताले अनलाइनखबरसँग भने, ‘प्रधानमन्त्रीज्यूको विश्लेषण के छ भने दुई अध्यक्षको सहमतिविना केन्द्रीय कमिटीको बैठक बस्न सक्दैन ।

त्यसरी बैठक राखियो भने पार्टी एकता भंग हुन्छ र पूर्वसमूहहरू आ-आफ्नो बाटो लाग्छन् ।’

प्रचण्ड-माधव पक्षले मंगलबार काठमाडौंमा केन्द्रीय कमिटीको बैठक बोलाएको छ ।

दुई अध्यक्षको सहमतिबिना त्यो बैठक बसेमा अवैधानिक हुने र पार्टी एकता भंग भई पूर्वसमूह (एमाले र माओवादी) जागृत हुने प्रधानमन्त्री ओलीले बताए ।

‘त्यसपछि आ-आफ्नो बाटो लाग्दा हुन्छ, एमाले एकातिर लाग्छ, माओवादी एकातिर लाग्छ,’ ओलीको भनाइ उद्धृत गर्दै स्रोतले भन्यो,

‘कोही (माधव नेपालहरू) प्रचण्डसँग जान चाहन्छन् भने जान पाउँछन्, जस्तै लेखराज भट्टजी हामीतिर आउनुभएको छ ।’

पार्टी एकता भंग भएको अवस्थालाई अध्ययन गरेर निर्वाचन आयोगले पनि फैसला लिने ओलीको विश्लेषण छ ।

उनको संकेत नेकपा एमाले ब्युँतिने र सूर्यचिह्न एमालेको भागमा पर्ने रहेको छ ।

त्यस्तै, उतापट्टि नेकपा नभएर माओवादी मात्र रहने र माधव नेपालहरू पनि नेकपा माओवादीको नेता बन्ने ओलीको तर्क रहेको स्रोतले बतायो ।

लेखराज भट्ट रामबहादुर थापा बादल यतातिर आएमा एमालेको नेता बन्ने उनले संकेत गरे ।

अनलाईन खबरबाट

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय