नेकपा एमाले संसदीय दलका प्रमुख सचेतक विशाल भट्टराईले नागरिकता विधेयक फिर्ता गर्ने राष्ट्रपति विद्यादेवी भण्डारीको कदम स्वागतयोग्य भएको बताएका छन् । राष्ट्रपतिले संविधानको पालना र राष्ट्रको हित हेरेको उनको जिकिर छ ।

 

“राष्ट्रपतिले नागरिकता विधेयकमा पुनःविचारका लागि फिर्ता गरेर असाध्यै राम्रो काम गर्नुभयो । ठूलो संख्यामा जनताको समर्थन छ । यो राष्ट्रको हितमा हुन्न भनेर उहाँले संविधानको पालना गर्नुभएको हो, आफ्नो अधिकार दुरुपयोग गर्नुभएको होइन । यसबीचमा उहाँले विभिन्न राजनीतिक दल, प्रधानमन्त्री, कानुनमन्त्री र महान्यायाधिवक्तासँग परामर्श पनि गर्नुभएको थियो,” नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै नेता भट्टराईले भने ।

 

तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले ल्याएको हुबहु अध्यादेशचाहिँ उहाँले सरुक्क प्रमाणीकरण गर्नुभएको होइन भन्ने पत्रकार धमलाको प्रश्नमा भट्टराईले भने, “नेकपा एमालेले ३३ वटा संशोधन हाल्दा गठबन्धनले विवेकभन्दा जबर्जस्ती बहुमत लाद्यो । हो, उहाँले केपी ओलीले ल्याएको नागरिकता अध्यादेश प्रमाणीकरण गर्नुभयो । अध्यादेश फिर्ता गर्ने प्रावधान नै थिएन । त्यसकारण गर्नुभएन ।”

 

नागरिकता विधेयकले देशमा खतरा निम्त्याउने पनि उनको जिकिर छ । भट्टराईले भने, “वैवाहिक अंगीकृतको हकमा भारतमा ७ वर्ष, श्रीलंकामा १५ वर्ष, भुटानमा १५ वर्ष छ । नेपालमा आज विवाह, भोलि नागरिकता, पछि उम्मेदवार बन्ने प्रावधान ल्याएर कसको सेवा गरेको हो ? भारतको सरह बनाउँदा के फरक पर्ला र ? त्यसैल राष्ट्रपतिले देशलाई खतरामा जानबाट रोक्नुभएको हो ।”

 

तपाईंहरु भारतको कुरा मात्र गर्नुहुन्छ, चीनको कुरा किन गर्नुहुन्न भन्ने पत्रकार धमलाको प्रश्नमा एमाले नेता भट्टराईले भने, “नेपालको तीनतिर खुला सिमाना छ । बिहेवारी धेरै चलेको छ । गठबन्धनका नेताहरु कसैबाट वशीभूत हुनुहुन्छ, कसमै खाएर आउनुभएको देखियो । उहाँहरु किन त्यसरी के कारणले झुक्नुभएको हो ? कहिल्यै भेट नहुने जस्तो गरेर आरजु देउवा भारत गएको मौकामा भारतीय पक्षलाई साक्षी राखेर यता आएर विधेयक ल्याइन्छ भने देशप्रति त्योभन्दा ठूलो धोका अरु के हुन सक्छ ?” अब नागरिकता विधेयक फास्टट्रयाकबाट नभएर शून्यबाट सुरु हुने उनले औंल्याए ।

 

एमालेलाई पाँच दलले मात्र हराउन सकिँदैन भनेर नौ दलको गठबन्धन बनाउन खोजिएको आरोप पनि भट्टराईले लगाए । उनले भने, “शेरबहादुर देउवाले जम्मै दललाई भेला पार्नुभयो, अझै पनि एमालेलाई हराउन सकिँदैन कि भनेर अब ९ वटा पुर्याउने खोजिरहनुभएको छ । तर गठबन्धनलाई हराएर एमालेले बहुमत ल्याउँछ ।” अर्को प्रसंगमा उनले द्वन्द्वपीडितको समस्या समाधान गर्न विधेयक संशोधनमा एमालेले अग्रसरता लिने पनि बताए ।

 

खडेरीले नदीमा पानी घट्दा युरोपभर ढुवानी समस्या

पेरिस — साढे दुई महिनाभन्दा लामो समयदेखिको चर्को खडेरीले युरोपका नदीमा पानीको स्तर घट्दै गएपछि ढुवानीमा समस्या पर्दै गएको छ ।जर्मनीको राइन, फ्रान्सको सेन, रोन र ल्वार, इटालीको पो, बेल्जियमको एस्कोट र मास, बेलायतको थेम्स तथा नेदरल्याण्ड्सको मुस लगायत मुख्य नदीमा पानीको स्तर नाटकिय रुपमा घट्न थालेपछि ढुवानी र खाध्यान्नमा गम्भिर असर पर्न लागेको हो ।

 

युरोपकै सबैभन्दा लामो दानुबे नदी युरोपेली मुलुकका १० देश भएर बग्छ । यो पानीको स्तर घट्दा जर्मनी, अस्ट्रिया, स्लोभाकिया, हंगेरी, क्रोआसिया, सर्बिया, रोमानिया, बुल्गेरिया, मोल्दाबह रौरेनको जल यातायातमा समस्या परेको युरोपेली आयोगको संयुक्त अनुसन्धान केन्द्रको भनाए छ ।

 

जर्मनीको राइन नदीमा पानीको स्तर नाटकीय रुपमा घट्दै गएको र आगामी दिनहरूमा गम्भीर रूपमा न्यून बिन्दुमा पुग्न सक्ने आकलन जर्मन अधिकारीहरुले गरेका छन् । राइन नदीबाट हुने ढुवानी सवारी साधनबाट हुनेभन्दा बढी रहेकाले नदीको पानी घट्दा त्यसले कोइला र पेट्रोल लगायत सामानहरू ढुवानी गर्न झन् कठिन बनाउँदै लगेको छ ।

 

रुसी ग्याँसमा करिब ४० प्रतिशत निर्भर रहेको जर्मनी रुसले नर्दन स्ट्रिम-१ पाइप लाइनबाट ग्याँसको आपूर्ति घटाइदिँदा मार खाइरहेको छ । अब नदीको पानी घटेर कोइला ढुवानीमासमेत असर पर्नाले जर्मनीलाई मात्रै होइन यसले युरोपभर उर्जा संकट थप बढाउने अनुमान गरिएको छ ।

 

केही हप्तादेखि निरन्तर बढ्दै गएको खडेरी र सुख्खा मौसमले युरोपका धेरै प्रमुख जलमार्गहरूलाई खुम्च्याइदिएको छ । राइन नदीमा पानीको स्तर घट्दा पानी जहाजबाट सामान डेलिभरी गर्ने जर्मन कारखानाहरू र पावर प्लान्टहरूका लागि समस्या पर्न लागेको छ । क्यापिटल इकोनोमिक्सका अनुसार अन्य युरोपेली देशमा भन्दा जर्मनीमा पानी जहाजबाट सामान ढुवानी धेरै हुने गर्छ ।

 

जर्मनीको यातायात मन्त्रालयका जर्मनीको यातायात मन्त्रालयका प्रवक्ता टिम अलेक्जान्ड्रिनले राइन नदीको समुद्रमा जोडिने काउब भन्ने ठाउँको घाँटी साँघुरो र पानीको सतह कम हुनाले खडेरीले झनै घटाइदिंदा साना जहाजहरु मात्रै पार गर्न सक्ने अवस्थामा पुगेको बताएका छन् ।

 

पानीको अभावका कारण हेलब्रोनबाट कोलोनसम्म राइन नदीबाट नुन ल्याउने जहाजहरूले सामान्यतया दुई हजार दुई सय मेट्रिक टन कार्गो बोक्ने गरेकोमा हाल ६ सय टन मात्र ढुवानी गर्न सक्षम रहेको जर्मन रसद कम्पनी एचजिकेका प्रवक्ता क्रिस्चियन लोरेन्जले मेडियाहरुलाई बताएका छन् ।राइन नदीमा पानीको स्तर घट्दा त्यसले जर्मनीमा मात्रै नभएर नेदरल्याण्ड्सको जल यातायात र कृषिमासमेत निकै ठूलो प्रभाव पार्ने चेतावनी टोरेटीले दिएका छन् ।

 

उच्च खडेरीका कारण अर्कोतर्फ फ्रान्स र इटालीले पनि संघर्ष गरिरहेका छन् । इटालीको सबैभन्दा ठूलो पो नदीमा पानीको सतह नौ मिटर घटेर पानीको संकट परेको छ भने डुंगा बिना तर्न नसकिने फ्रान्सको ल्वार नदी हाल पैदलमै पार गर्न सकिने भएपछि ढुवानी र सिँचाइमा गम्भीर असर परेको छ ।

 

इटालीको सबैभन्दा लामो पो नदीले इटालीको ४० प्रतिशत खाद्यान्न उत्पादन गर्ने हुँदा यसको सुकाईले अधिकारीहरुलाई हाल चिन्ता बढाएको छ ।अधिकारीहरूले थप सामान ओसार्नका लागि अब रेल नेटवर्कमा स्थानान्तरण गर्न कदम चालिरहेको जर्मन यातायात मन्त्रालयका प्रवक्ता अलेक्जान्ड्रिनले बताएका छन् ।

 

जर्मनीमा उर्जाको संकट परेको र यातायात महँगो परिरहेका बेला नदीको यातायातलाई असर परेमा उर्जा संकट र मूल्य दुबै अझ महँगो हुने क्यापिटल इकोनोमिक्सका युरोपेली प्रमुख अर्थशास्त्री एन्ड्र्यु कनिंघमको भनाइ छ । पानीको अभावले सर्बिया, इटाली, स्पेन, पोर्चुगलको जलविद्युत उत्पादनमा समेत कमी ल्याएको छ ।

 

नदीमा पानीको स्तर घट्दा पनि चलाउन सकिने साना जहाजहरु निर्माणक लागि उनीहरुले पहल गरेको भनाए जर्मन अधिकारीहरुको छ ।सर्बियाका अधिकारीहरूले जलमार्गलाई गहिरो बनाउन र जहाजहरूलाई सहज रूपमा चलाउन डेन्युब नदीको वालुवा निकाल्न थालेको बताएका छन् ।

 

युरोपेली आयोग संयुक्त अनुसन्धान केन्द्र (ईसी-जेआरसी) ले हालको खडेरी ५०० वर्षमा सबैभन्दा खराब हुनसक्ने चेतावनी दिएको छ । यो भविष्यवाणीको घोषणा वरिष्ठ अनुसन्धानकर्ता एन्ड्रिया टोरेटीले एक पत्रकार सम्मेलनमार्फत् गरेका हुन् ।

 

तोरेतीले नदीको पानी सुक्दै गएकाले युरोपमा ढुवानी मात्रै नभएर दैनिक जिवनमा प्रभावित क्षेत्रहरू बढ्ने र प्रभावकारी न्यूनीकरणका उपायहरू नलिइएमा युरोपमा उत्तर र दक्षिण दुवैतिर नाटकीय रूपमा समस्या बढ्ने बताएका छन् ।

 

पो नदी सुक्दै जानाले खासगरि इटाली सबैभन्दा प्रभावित हुने र त्यसपछि दक्षिणी फ्रान्स, स्पेन र पोर्चुगलको ठूलो क्षेत्रहरू पर्ने उनको भनाइ छ ।इटालीको पो नदी सुख्खा हुँदै गएपछि पानीको अभावकै कारण रोमले पाँच उत्तरी क्षेत्रहरूमा आपतकालिन अवस्था घोषणा गरिसकेको छ ।

 

मे महिनादेखिनै सुख्खा पर्नु र जुन देखि खडेरी सुरु भएपछि फ्रान्सको ल्वार नदी सुक्दै गएको छ । नदी यति सुकिसकेको छ कि केही ठाउँमा पैदल पार गर्न सकिने भएको छ ।

 

उता बेलायतको दक्षिण पश्चिममा रहेको थेम्स नदीकै मुहान कोट्सवोल्ड्स पहाडको फेद सुख्खा भएको अधिकारीहरुले बताएका छन । थेम्स नदीमा पानीको सतह घट्दै जाँदा जल यातायात, पर्यटन र कृषिलाइ ठूलो असर पर्ने भनाइ अधिकारीहरुको छ ।बेलायत सरकारले शुक्रबारदेखि खडेरीलाई राष्ट्रिय समस्याका रुपमा उल्लेख गर्दै थेम्स लगायत नदीको पानी उपयोगमा नियन्त्रणको घोषणा गरेको छ ।

 

अभूतपूर्व खडेरीले लगभग आधा युरोपेली महाद्वीपलाई असर गरिरहेको छ। यसले कृषि अर्थतन्त्रलाई नोक्सान पुर्‍याइरहेको छ । पानी प्रतिबन्ध लगाउन बाध्य पारिरहेको छ । जंगलमा डढेलो बढाएको छ र जलचर प्रजातिहरूलाई खतरामा पारिरहेको छ।युरोपेली आयोगको संयुक्त अनुसन्धान केन्द्रले खडेरीको अवस्था अझ खराब हुने र सम्भावित रूपमा महाद्वीपको ४७ प्रतिशत भूभाग प्रभावित हुने यसै हप्ता चेतावनी दिएको छ ।

 

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय