शुक्रबार , चैत्र १६, २०८०

वाम गठबन्धन : ओलीले हैसियत सोधेपछि झलनाथ पनि मोडिए (तलको लिंक क्लिक गरेर हेर्नुहोस भिडियो)

 

२८ साउन, काठमाडौं ।

 

नेकपा एमालेका महासचिव शंकर पोखरेलले गएको २२ साउनमा गृह प्रदेश लुम्बिनी पुगेर प्रतिनिधिसभा र प्रदेशसभा चुनावमा वाम तालमेल नहुने बताए । बुटवलमा आयोजित रुपन्देही जिल्ला स्तरीय प्रशिक्षण कार्यक्रममा पोखरेलले भने, ‘पुष्पकमल दाहाल प्रचण्ड र माधव नेपाललाई ल्याएर वाम तालमेल हुन्न ।’

 

पोखरेल मात्रै नभएर एमाले अध्यक्ष केपी शर्मा ओलीसहित नेताहरूले लामो समयदेखि प्रचण्ड र माधव नेपाल बिनाको बलियो कम्युनिष्ट पार्टी बनाउने दावी गरिरहेका छन् ।

 

तर प्रचण्ड र माधव नेपालको साथ पाएकैले नेपाली कांग्रेसले शक्ति आर्जन गरेको छ भने एमालेले गुमाएको छ । ‘माओवादी र एकीकृत समाजवादीमा विचार, गन्तव्य र लक्ष्यमै द्विविधा छ ।

 

पार्टी फुटाएर नेपाली कांग्रेसको सहारामा हिँड्नुपर्ने बाध्यता छ’, त्यसदिन बुटवलमा पोखरेलले भने । जबकी एमाले नेताहरूको यस्तो आक्रोशले कांग्रेस नेतृत्वको गठबन्धन चाहिँ थप मजबुत बनिरहेको छ ।

 

पोखरेलले प्रचण्ड र माधव नेपालप्रति निषेधात्मक आक्रोश पोख्नु दुई दिन अघि (२० साउनमा) मात्रै बालुवाटारमा सत्तारुढ गठबन्धनले सिट बाँडफाँट टुग्याउने गरी कार्यदल बनाइसकेको थियो । ‘हामी सम्भावित अवसर पनि उपयोग गर्नेतिर लागेनौं । प्रतिश्पर्धी नेता निषेध गर्न खोज्दा पार्टी एक्लिने अवस्था बन्यो’, एमालेका एक नेता भन्छन् ।

 

ती नेताका भनाइमा, ४ मंसिरको चुनाव आउनु तीन महिना बढी समय बाँकी रहँदै सत्तारुढबीच सिट फाँडफाँटकै गृहकार्य हुनुमा एमाले नेताहरुको अभिव्यक्तिले मुख्य भूमिका खेलेको छ ।

 

गएको ३० वैशाखको स्थानीय चुनावपछि माओवादी केन्द्र र एकीकृत समाजवादीकै नेताहरू एमालेसँग तालमेलको पक्षमा उभिएका थिए । पूर्वप्रधानमन्त्री झलनाथ खनाल पनि वाम तालमेलको पक्षमा रहेका नेताहरुकै पंक्तिमा उभिए ।

 

एमालेसँग चुनावी तालमेलदेखि एकतामा समेत जान सकिने नेता खनालको सार्वजनिक अभिव्यक्तिले सत्ता गठबन्धन र एकीकृत समाजवादीभित्र राम्रै हलचल ल्यायो । खनालको अभिव्यक्तिले वाम एकताको पक्षमा पहिलेबाटै वकालत गर्दै आएका एमाले नेताहरू पनि उत्साहित भए ।

 

गएको ९ चैतको स्थायी कमिटी बैठकमै घनश्याम भूसालले तीन वटै पार्टीबीच (एमाले, माओवादी केन्द्र र एकीकृत समाजवादी) सैद्धान्तिक–वैचारिक मतभेद नरहेकाले एकता गर्नुपर्ने प्रस्ताव राखेका थिए । वाम तालमेल हुँदा चुनावको नतिजामा ठूलो अन्तर पर्ने भूसालको प्रस्ताव त्यसबेला ओलीले अस्वीकार गरे ।

 

३० वैशाखको स्थानीय चुनावमा ०७४ भन्दा ८८ सिट गुमाएर २०५ स्थानीय तहमा खुम्चिएको एमालेभित्र वाम तालमेलको पक्षमा उभिने नेताहरुको संख्या बढेको छ । विशेषगरी प्रतिनिधिसभा र प्रदेशसभाका सांसदहरूमध्ये ठूलो संख्या वाम तालमेल चाहन्छन्, जसले वाम तालमेलकै जगमा ०७४ मा जितेका थिए ।

 

तर सार्वजनिक रुपमा तालमेलको वकालत गरेर पार्टी नेतृत्व चिढ्याउने हिम्मत चाहिँ उनीहरुमा देखिएनन् । किनकि एमालेभित्र ओली भन्दा फरक मत राख्नेले आगामी चुनावमा टिकट पाउनै मुस्किल छ । उपमहासचिव पृथ्वीसुब्बा गुरुङले भने सार्वजनिक अभिव्यक्ति दिनेदेखि पार्टी नेतृत्वसहित माधव नेपाल, झलनाथ खनाल, वामदेव गौतम लगायतसँग यो अवधिमा भेटे ।

 

तत्कालीन नेपाल कम्युनिष्ट पार्टी (नेकपा) विभाजन हुँदा कतै पनि नलागेका वामदेव गौतमले पनि स्थानीय चुनावपछि वाम तालमेलको प्रयत्न गरे । प्रचण्ड, माधव, झलनाथ र नारायणकाजी श्रेष्ठ सहित केही भेटवार्ता पनि गरे ।

 

‘विभाजित नेकपाका सबै घटक नभएपनि पूर्व एमालेसम्म मिल्न सकिन्छ कि भन्ने थियो, तर त्यो सम्भावना पनि तत्काललाई सकियो’, खनाल निकट एक नेता भन्छन् ।

 

उनका अनुसार, एमाले सांसदहरुले नै पूर्वएमालेबीच तत्काल एकता गर्ने वातावरण बनाउन खनालसँग आग्रह गरेका थिए । खनालले एमालेमा रहेका नेताहरू कुनै बेला आफ्नै कार्यकर्ता भएको ‘भावनात्मक’ कुरा गरेर त्यस्तो बातावरण एकीकृत समाजवादीभित्र बनाउने पहल गरे ।

 

तर ओली र पोखरेलको जवाफले भने अहिले खनाल समेत एमालेसँग तत्काल एकता र तालमेल नहुने निष्कर्षमा पुगेका छन् । ‘हैसियतको कुरा उठाएर मनस्थिति नै बिगार्ने काम भयो । अब एमालेसँग हुँदैन, गठबन्धन कसिलो बनाउन लाग्छौं’, खनाल निकट ती नेता भन्छन् ।

 

एमाले उच्च स्रोतका अनुसार, तालमेल र एकताको प्रस्ताव लिएर जाने नेताहरुसँग ओलीले माधव र झलनाथलाई फेरि एमालेको नेता हुने रहर जागेको जवाफ फर्काएका थिए । ‘३ प्रतिशतको हैसियत हुनेसँग ३४ प्रतिशतको नेता बन्ने रहर छ ।

 

कसरी मान्ने ?’, एकता सम्भव नरहेको अडान ओलीले

 

 

सत्ता गठबन्धन, एमाले र एकीकृत समाजवादीको निर्णयले पनि ‘चमत्कार’ नभए वाम तालमेल र एकताको सम्भावना सकिएको छ । सिट बाँडफाँट गर्न गठित कार्यदलले मापदण्डमाथि सैद्धान्तिक छलफल शुरु गरिसकेको छ ।

 

एकीकृत समाजवादीले २५ साउनमा टिकट बितरणको योग्यता निर्धारण र घोषणापत्र मस्यौदा लेखन समिति गठन गरेको छ ।

 

सचिवालय बैठकबाट प्रकाश ज्वाला, गंगालाल तुलाधर र विजय पौडेललाई घोषणापत्र मस्यौदा लेखनको जिम्मेवारी दिएको छ भने उम्मेदवारको मापदण्ड र विधि तय गर्न महासचिव बेदुराम भुसाललाई जिम्मेवारी दिइएको छ ।

 

यसको भोलिपल्टै, २६ साउनमा सचिवालय बोलाएर एमालेले पनि निर्वाचन परिचालन र घोषणापत्र मस्यौदा लेखन समिति गठन गरेको छ । ‘प्रष्टै रुपमा एमाले एक्लै लड्ने हो ।

 

त्यसमै केन्द्रीत हुनुपर्छ’, उपाध्यक्ष अष्टलक्ष्मी शाक्य भन्छिन् । वाम शक्तिहरु एकठाउँ उभिएर जानुपर्छ भन्ने कार्यकर्ताको चाहना भएपनि तत्काल सम्भावना नरहेको उनी बताउँछन् ।

 

अन्य दलहरुलाई जितेर गएको वर्ष मात्रै विभाजित एमाले र एकीकृत समाजवादीले चुनावबारे निर्णय गर्नुले पनि दुई पार्टीबीचको तिक्तता र प्रतिश्पर्धा बुझ्न सकिन्छ ।

 

यसले आगामी चुनावमा पनि स्थानीय चुनावकै नियति दोहोरिने (एमाले भर्सेस गठबन्धनको समीकरण) पक्का जस्तो छ । किनकि अहिलेको सत्ता गठबन्धन वा नयाँ समीकरण निर्माणमा एकीकृत समाजवादीको निर्णयले अर्थपूर्ण छ ।

 

‘माधव नेपाल कमरेडले सोच्नुपर्ने हो, उहाँ त नेता हो । शीर्ष तहमा कुरा मिल्ने देखिएन’, उपाध्यक्ष शाक्य भन्छिन् । अझ लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) पनि सत्ता गठबन्धनतिरै लाग्ने तयारीमा रहेकाले आगामी चुनावमा एमाले झनै एक्लिने देखिन्छ ।

 

गएको स्थानीय चुनावमा वीरगञ्ज महागनरपालिका सहित कपितय स्थानीय तहमा लोसपासँग एमालेले गठबन्धन गरेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय