मंगलबार , बैसाख ४, २०८१

स्वतन्त्र सामाजिक अभियान्ताको रुपमा सार्वाधिक सुनिने नाम हो, हेमराज थापा । बिगत केही वर्षदेखि उनी बिभिन्न मुद्धा लिएर माईतिघर देखि बालुवाटारसम्म आन्दोलन गर्दै आएका छन् ।

 

कहिले एमसीसी त कहिले भ्रष्टाचारको बिरुद्ध आन्दोलन गर्दा प्रहरीको लाठि त कहिले प्रहरी हिरासतमै समेत थुनिएका छन् । उनै हेमराज थापा अब आउँने संघिय निर्वाचनमा उठ्ने चर्चा चल्न थालेको छ ।

 

२०७९ बैशाख ३० गते भएको स्थानिय निर्वाचनमा स्वतन्त्र उम्मेदवारहरुको जितले पार्टीका नेता–कार्यकर्ताको टाउको दुःखेको छ भने, स्वतन्त्र तर राजनीतिमा सक्रिय हुन खोज्नेहरुको लागि उत्सव र सुनौलो अवसर सिर्जना भएको छ ।

 

कुनै पनि राजनीतिक दलमा आवद्ध नभएपनि निर्वाचनमा उठ्न र जित्न सकिन्छ भन्ने काठमाडौं महानगरपालिकाको मेयरमा विजयी भएका बालेन्द्र साह ‘बालेन’ र धरान उपमहानगरपालिकाको मेयरमा विजयी हर्कराज राई ‘हर्क साम्पाङ’ एक उदाहरण हुन् । उनीहरुको विजयीले कुनै पनि राजनीतिक दलमा लाग्नै पर्छ भन्ने पुरानो सोच र धारणालाई विस्थापित गरिदिएको छ ।

 

सामाजिक अभियान्ता हेमराज थापा स्थानिय निर्वाचनमा स्वतन्त्र उम्मेदवारहरुको लागि मत माग्न बिभिन्न जिल्लामा सक्रिय भएका थिए । उनले त्यस बेला स्थानिय बासिन्दाहरुको राम्रो प्रतिक्रिया पाएका थिए ।जसले गर्दा उनी अहिले संघिय निर्वाचनमा उठ्ने तयारी थालेका छन् । स्थानिय निर्वाचनमा उनलाई धेरैको एउटै प्रश्न थियो, किन निर्वाचनमा नउठेको ? भन्ने प्रश्नको सामना गर्नु परेको थियो ।

 

त्यसै बेलादेखि हेमराज थापाले संघिय निर्वाचनमा उठ्ने मनासय बनाएका थिए ।निर्वाचनको मिति नै घोषणा नहुदै विवेकशिल साझा परित्याग गरेकी रञ्जु दर्शनाले काठमाडौंको निर्वाचन क्षेत्र ५ बाट स्वतन्त्र उम्मेदवारी दिने घोषणा गरिसकेकी छिन् ।गत संसदीय चुनावमा काठमाडौं ५ बाट एमालेका नेता इश्वर पोखरेल २३ हजार २९ मत ल्याएर विजयी भएका थिए ।

 

दोस्रो स्थानमा रहेका कांग्रेसका नेता डा।प्रकाशशरण महतले १३ हजार १६९ मत ल्याएका थिए । साझा पार्टीका तत्कालीन अध्यक्ष थापा ६ हजार ८५३ मतसहित तेस्रो भएका थिए ।त्यस्तै स्वतन्त्र उम्मेदवारका रुपमा पुकार बमले पनि काठमाडौंको निर्वाचन क्षेत्र नं–१ बाट निर्वाचनमा उठ्ने घोषणा गरिसकेका छन् ।

 

काठमाडौं महानगरपालिकाको मेयरमा पराजित सुमन सायामिले काठमाडौंको निर्वाचन क्षेत्र नं–८ बाट स्वतन्त्र उम्मेदवारी दिने तयारी थालेका छन् । हेमराज थापाले क्षेत्र नं–४बाट निर्वाचनमा उठ्ने तयारी थालेका छन् । जुन नेपाली कांग्रेसका महामन्त्री गगन थापाको निर्वाचन क्षेत्र हो । यस अघि पनि यसै क्षेत्रबाट गगन थापा विजयी भएका थिए ।भेटघाट र छलफलमा धेरै व्यक्तिहरुबाट सकारात्मक प्रतिक्रिया पाएकाले उनले जसरी भएपनि निर्वाचन जित्ने गरी रणनीति बनाउन लागि परेको उनी निकट व्यक्तिहरु बताउने गरेका छन् । काठमाडौंको बिगत देखि वतर्मान चुनावको बेला मतदाताले सधै एउटै व्यक्ति भन्दा फरक–फरक व्यक्तिलाई जिताएको इतिहास छ ।

 

तालमेलले कांग्रेस शीर्ष नेताकै टिकट जोखिममा

 

सत्तारुढ पाँचदलीय गठबन्धनले चुनावी तालमेल गर्ने निर्णय गरेसँगै सिट बाँडफाँटको चुनौती थपिएको छ । सत्ताघटकमा पनि सर्वाधिक टाउको दुखाइ नेपाली कांग्रेसलाई भएको छ । सत्ताको नेतृत्वकर्ता दल हुनुको साथै सांगठनिक रुपमा गठबन्धनका अन्य दलभन्दा कांग्रेस बलियो भएकाले बढी सिटको दाबी स्वाभाविक छ । तर सहयात्री दलहरुलाई साथमा लिएर हिँड्ने जिम्मेवारी पनि उसकै बढी हुन्छ ।

 

सत्तारुढ दलले सिट भागबण्डाको मोडालिटी तय गर्न कार्यदल बनाएका छन् । अघिल्लो निर्वाचनमा जितेको आधारमा क्षेत्र तय गर्ने एउटा विधि तय गरियो भने कांग्रेसका दर्जन बढी नेताले उम्मेदवारीबाट आशा मार्नुपर्ने देखिन्छ । अघिल्लोपटक जितेको आधारमा उम्मेदवारी दिने गरी क्षेत्र भागबण्डा गरियो भने वरिष्ठ नेता रामचन्द्र पौडेलदेखि महामन्त्री विश्वप्रकाश शर्मा समेत प्रतिस्पर्धामा उत्रन पाउँदैनन् ।

 

स्थानीय निर्वाचन २०७९ को मत हेर्दा गठबन्धनका अन्य उम्मेदवारलाई विजयी बनाउन कांग्रेसको ठूलो मत खन्याउनु पर्दछ । तुलनात्मक रुपमा सत्ताघटकमा एकीकृतका समाजवादीका उम्मेदवारलाई विजयी बनाउन अन्य दलको मत धेरै खस्नुपर्दछ । कांग्रेसका लागि तालमेलको पक्षमा कार्यकर्तालाई मनोवैज्ञानिक रुपमा विश्वासमा लिने चुनौती छ ।

 

साथै, सिटको भागबण्डा भएपछि आकांक्षीको विश्वास जित्नु अर्को समस्या छ । ‘सिटमा कुरा मिल्यो रे, कांग्रेसले छोड्नपर्ने क्षेत्रमा त्याग्ने को–को त ? क्षेत्रमा उम्मेदवारको दाबी गरेको व्यक्तिलाई मनाउन अर्को चुनौती छ,’ कांग्रेसका एक पदाधिकारी भन्छन्, ‘सिंगो देशभर छोड्ने सिटका लागि पार्टी पङ्तिलाई विश्वासमा लिनुपर्‍यो । त्यसपछि, क्षेत्र छोड्दै गर्दा व्यक्तिलाई विश्वासमा लिनुपर्‍यो ।’

 

उम्मेदवार बन्नै नपाउने डर

 

२०७४ को प्रतिनिधिसभा निर्वाचनमा कांग्रेस महामन्त्री विश्वप्रकाश शर्मा झापा–१ मा पराजित भएका थिए । वामगठबन्धनका उम्मेदवार राम कार्कीले उनलाई हराए । कार्की आवद्ध दल माओवादी केन्द्र कांग्रेससँगै सत्ताको सहयात्री छ । उक्त स्थान माओवादीलाई छुट्याउने निर्णय भयो भने शर्माले झापाको अर्को क्षेत्र रोज्नुपर्ने हुन्छ ।झापाको सन्दर्भमा शर्मा र नेता कृष्णप्रसाद सिटौला समूहको समानान्तर गतिविधि हुँदै आएको छ । झापामा कांग्रेसको उम्मेदवार टुंगाउन शर्मा र सिटौलाको सहमति अनिवार्य हुने जिल्ला तहका एक नेता बताउँछन् ।

 

गत स्थानीय तहको मतलाई आधार बनाउँदा झापा १ मा एमाले सबभन्दा बलियो दल छ । झापा १ मा पर्ने वडाहरुको मतको आधारमा एमालेले ३१ हजार २३२ मत पाएको छ । कांग्रेसले २४ हजार ५९, राप्रपाले ५ हजार ९२२, माओवादीले ३ हजार ९०५, एकीकृत समाजवादीले १ हजार २५२ र लोसपाले १६२ मत पाएका थिए । स्थानीय तहको निर्वाचनमा गठबन्धनका सबै दलको मत जोड्दा पनि एमालेको मत बढी छ ।

 

कांग्रेसका नेता रामचन्द्र पौडेलले तनहुँ १ मा प्रतिस्पर्धा गर्न पाउने/नपाउने आशंका व्याप्त छ । अघिल्लो निर्वाचनमा एमालेको तर्फबाट विजयी भई हाल एकीकृत समाजवादीमा रहेका कृष्णकुमार श्रेष्ठ (किसान)ले उनलाई पराजित गरेका थिए । श्रेष्ठले ३४ हजार ४९२ मतसहित विजयी हुँदा पौडेलको पक्षमा २७ हजार ६९० मत खसेको थियो ।

 

स्थानीय निर्वाचनमा पाएको मतका आधारमा कांग्रेस तनहुँ १ मा पहिलो स्थानमा छ । कांग्रेसले ३३ हजार १०६ मत ल्याएको छ । दोस्रो स्थानमा रहेको एमालेको पक्षमा २२ हजार २१० मत खसेको थियो ।माओवादीले ८ हजार ४७४, राप्रपाले १ हजार ७७५, एकीकृत समाजवादीले ८९२ र जसपाले ५४ मत ल्याएको छ । स्थानीय तहको निर्वाचनमा प्राप्त मतको आधारमा विश्लेषण गठबन्धनबाट अन्य दलका उम्मेदवारलाई जीत निकाल्न कठिन छ । एकीकृत समाजवादीबाट उम्मेदवार हुने अवस्था बन्यो भने ८९२ मत पाएको दललाई विजयी बनाउन कांग्रेसको सबै मत खस्नुपर्दछ ।

 

डोटीमा एकीकृत समाजवादीबाट प्रेम आले उम्मेदवार हुने अवस्था बन्यो भने कांग्रेसको मत उनलाई खस्न नसक्ने स्थानीय नेताहरु बताउँछन् । कांग्रेसका सुदूरपश्चिम प्रदेश सभापति बीरबहादुर बलायर उम्मेदवारका आकांक्षी हुन् । उनी आलेसँग गत निर्वाचनमा पराजित भएका थिए । आलेले ३२ हजार ५१० मत ल्याउँदा बलायरले ३० हजार ८७८ मत ल्याएर पराजय भोगेका थिए । तत्कालीन समयमा एमालेबाट विजयी आले हाल एकीकृत समाजवादीमा छन् ।

 

डोटीमा एकीकृत समाजवादीले गत स्थानीय तहको निर्वाचनमा कूल मत ३ हजार २०५ प्राप्त गरेको थियो । एकीकृत समाजवादीको मत चौथो स्थानमा छ । कांग्रेसले ३४ हजार ४७, एमालेले २४ हजार ९१६, माओवादी ७ हजार ७८९ र राप्रपाले ९८७ मत ल्याएका थिए । स्थानीय तहको चुनावी अभियानका क्रममा डोटीमा खटिएका कांग्रेस नेता किरण गिरीले भने, ‘मन्त्री भइसकेपछि पनि प्रेम आलेले जिल्लामा संगठन विस्तारमा ध्यान दिएको देखिएन ।’ कांग्रेसका जिल्ला तहका एक नेताले गठबन्धनबाट आलेलाई उम्मेदवार बनाए आफूले नै मत नदिने ढुक्कसँग बताए ।मकवानपुर–२ मा सहमहामन्त्री महालक्ष्मी उपाध्याय ‘डिना’ उम्मेदवार पाउन कठिनाइ एकीकृत समाजवादीका विरोध खतिवडा बनेका छन् । खतिवडासँग डिना अघिल्लो निर्वाचनमा पराजित भएकी थिइन् । मकवानपुर २ मा एकीकृत समाजवादीले गत स्थानीय तहमा २ हजार ७१९ मत पाएको थियो । यस क्षेत्रमा एमालेले पहिलो र कांग्रेस दोस्रो स्थानको मत ल्याएका थिए ।

 

महत दाजुभाइलाई पनि छैन सहज

 

कांग्रेस प्रवक्ता डा. प्रकाशशरण महत यसपटक नुवाकोट १ बाट उम्मेदवार हुने तयारीमा छन् । यसअघि काठमाडौं ५ बाट उम्मेदवार बनेका उनी गृहजिल्लामा प्रतिस्पर्धा गर्ने सुरमा छन् । तर, उनी त्यहाँ उम्मेदवार हुन भने सहज छैन । गत निर्वाचनमा माओवादी केन्द्रबाट पराजित आफ्नै दाजु डा. रामशरण महतलाई उनले मनाउनुपर्ने हुन्छ ।

 

२०७४ को निर्वाचनमा माओवादी केन्द्रका हितबहादुर तामाङले डा. रामशरण महतलाई हराएका थिए । तामाङले ३६ हजार ४७३ मत ल्याई विजयी हुँदा पराजित महतले २७ हजार ९२० मत ल्याएका थिए । गत स्थानीय तहको निर्वाचनको मत हेर्दा नुवाकोट १ मा माओवादी कांग्रेस पछिको शक्ति हो । कांग्रेसले २८ हजार ९६२, माओवादीले २३ हजार २००, एमालेले १८ हजार २६७, राप्रपा ४ हजार ७८, एकीकृत समाजवादीले २ हजार २४५ मत ल्याएको थियो । गत निर्वाचनमा जितेको स्थान, स्थानीय तहमा दोस्रो शक्ति भएकाले माओवादीको रोजाइको क्षेत्र स्वभाविक रुपमा नुवाकोट–१ हुनेछ ।कांग्रेसका लागि यसपटक प्रतिष्ठाको लडाईं गोरखामा पनि हुने देखिन्छ । अघिल्लोपटक दुबै क्षेत्रमा कांग्रेसबाट उम्मेदवार विजयी हुन सकेनन् । कांग्रेसको सहयोगमा गोरखा–२ मा तत्कालीन नयाँ शक्ति दलबाट डा. बाबुराम भट्टराई विजयी भए । यसपटक उक्त क्षेत्रमा शंकर भण्डारी अन्य दललाई छोड्ने पक्षमा छैनन् ।

 

गोरखाका २ मध्ये १ कांग्रेसले छोड्नुपर्दा भण्डारी वा चिनकाजी श्रेष्ठमध्ये एकले उम्मेदवारी बन्न नपाउने स्थिति बन्छ । श्रेष्ठ गोरखा १ बाट अघिल्लोपटक माओवादीसँग पराजित भएका थिए । स्थानीय तहको निर्वाचनको आधारमा गोरखा १ मा कांग्रेस पहिलो छ भने क्षेत्र नम्बर २ मा माओवादी केन्द्र अरु भन्दा अघि छ । दुबै क्षेत्रमा एमालेको तेस्रो स्थानको मत आएको छ ।

 

एकले अर्कालाई स्वीकार्नै नसक्ने क्षेत्र सिन्धुपाल्चोक १

 

कांग्रेस र माओवादी केन्द्रका गत निर्वाचनका दुई उम्मेदवारमा एकले अर्कालाई स्विकार्नै नसक्ने क्षेत्र सिन्धुपाल्चोक १ हो । सभामुख अग्निप्रसाद सापकोटाले गत निर्वाचनमा कांग्रेसका मोहन बस्नेतलाई हराएका थिए । यसपटक बस्नेत पूर्व विजयी सापकोटालाई छोड्ने पक्षमा छैनन् ।

 

केन्द्रीय समितिको बैठकमा उनले सापकोटालाई बाटो खाली नगरिदिने दाबी गरिसकेका छन् । सापकोटा ४० हजार ५०४ मत प्राप्त गरि विजयी भएका थिए । पराजित बस्नेतको पक्षमा २९ हजार ७९८ मत थियो ।सिन्धुपाल्चोक १ मा स्थानीय तहको निर्वाचनमा कांग्रेसले ३४ हजार ७६१ मत पाएको छ भने माओवादी केन्द्र तेस्रो स्थानमा छ । एमालेको पक्षमा २७ हजार ५९ मत खसेको थियो । माओवादीले १९ हजार ३४४, एकीकृत समाजवादीले २ हजार ३११ र राप्रपाले १ हजार २३९ मत ल्याएको थियो ।

 

गत निर्वाचनमा विजयी भएको आधारमा सिट भागबण्डा गर्ने सहमति बन्यो भने कांग्रेसका दुई नेताले मोरङको क्षेत्र नम्बर ४ र ५ छोड्नपर्दछ । वाम गठबन्धनबाट माओवादी केन्द्रका उम्मेदवारले मोरङ ४ र ५ जितेका थिए । मोरङ ४ मा कांग्रेसबाट अघिल्लोपटक पराजित महेश आचार्यसहित गुरुराज घिमिरे र भीम पराजुलीले दाबी गरेका छन् ।

 

गत निर्वाचनमा माओवादी केन्द्रका अमनलाल मोदीले कांग्रेसका आचार्यलाई पराजित गरेका थिए । मोरङ ५ मा माओवादी केन्द्रका शिवकुमार मण्डल विजयी भएका थिए । उक्त स्थानमा माओवादी केन्द्रका उम्मेदवार हुने अवस्था बन्यो भने कांग्रेस केन्द्रीय सदस्य अमृत अर्याल उक्त क्षेत्रमा उम्मेदवार बन्न पाउने छैनन् । अर्याल गत निर्वाचनमा मण्डलसँग पराजित भएका थिए । स्थानीय निर्वाचनमा मोरङ ४ मा एमाले पहिलो दल बनेको छ भने क्षेत्र नम्बर ५ मा कांग्रेस पहिलो दल बनेको छ ।कांग्रेस नेता बलबहादुर केसीले सोलुखुम्बुबाट प्रत्यक्ष निर्वाचनमा प्रतिस्पर्धा गर्न पाउने/नपाउने आशंका उब्जिएको छ । गत निर्वाचनमा माओवादी केन्द्रबाट हेमराज राईसँग उनी पराजित भएका थिए । माओवादीकै उम्मेदवार दोहोरिने अवस्था बन्यो भने केसी प्रतिस्पर्धाबाट बाहिरिनु पर्नेछ । भोजपुरमा अघिल्लो चुनावका कांग्रेस प्रतिस्पर्धी उमेशजंग रायमाझीले तालमेलकै कारण टिकट नपाउन पनि सक्छन् । रायमाझीलाई माओवादी केन्द्रका सुदन किराँतीले हराएका थिए ।

 

धनुषा १ मा कांग्रेस नेता आनन्द ढुङ्गानाले गठबन्धनका कारण टिकट नपाउन सक्छन् । अघिल्लो निर्वाचनमा ढुङ्गानालाई माओवादीका मातृका यादवले पराजित गरेका थिए । तालमेल हुँदा माओवादीको भागमा उम्मेदवार हुने टुंगो लाग्यो भने उनी उम्मेदवारीबाट बाहिर रहनुपर्दछ ।

 

मदन अमात्य कि पम्फा भुसाल ?

 

ललितपुर ३ मा केन्द्रीय सदस्य मदन अमात्यका लागि गठबन्धनबाट तगारो माओवादी नेता पम्फा भुसाल छिन् । गत निर्वाचनमा अमात्य उनै भुसालसँग पराजित भएका थिए । ललितपुर ३ मा माओवादी केन्द्र स्थानीय तहमा मतको आधारमा तेस्रो शक्ति हो । कांग्रेस पहिलो र एमालेले दोस्रो स्थानको मत ल्याएका थिए ।कांग्रेस नेता दीपकुमार उपाध्यायलाई कपिलवस्तु १ मा माओवादीका चक्रपाणी खनालले रोक्न सक्छन् । अघिल्लो निर्वाचनका यी दुई प्रतिस्पर्धीमा खनाल विजयी हुँदा प्रतिस्पर्धी उपाध्याय थिए । यो क्षेत्रमा स्थानीय निर्वाचनको मतमा कांग्रेस पहिलो स्थामा छ भने माओवादी केन्द्र चौथो स्थानमा छ ।

 

सत्ता घटकबाट प्युठानमा जनमोर्चाबाट दुर्गा पौडेलले टिकट पाउने अवस्था रह्यो भने गत निर्वाचनमा पराजित कांग्रेस उम्मेदवार प्रतिस्पर्धाबाट बाहिरिनु पर्दछ । पौडेलले गत निर्वाचनमा डा गोविन्द पोखरेललाई हराएकी थिइन् ।

 

तालमेल हुँदा जितेको स्थानमा सोही दलले उम्मेदवारी पाउने अवस्था रह्यो भने कालिकोटमा कांग्रेसका भुपेन्द्रजंग शाहीले टिकट नपाउन सक्छन् । गत निर्वाचनमा शाही माओवादीका दुर्गबहादुर रावतसँग पराजित भएका थिए ।

 

केन्द्रीय सदस्य राजीव विक्रम शाहले जाजरकोटमा उम्मेदवार बन्ने घोषणा गरिसकेका छन् । तालमेल हुँदै गर्दा उनका लागि उम्मेदवार हुन सहज छैन । अघिल्लोपटक माओवादी केन्द्रका शक्ति बस्नेतले उनलाई हराएका थिए ।

 

अर्कोपटक उम्मेदवार नहुने गरि यसैपटक उठ्न लागेको शाहले सामाजिक सञ्जालमा मंगलबार लेखेका छन् । स्थानीय तह निर्वाचनमा वडाहरुको मतको आधारमा माओवादी यस जिल्लामा तेस्रो स्थानमा छ । एमाले पहिलो र कांग्रेसले दोस्रो स्थानको मत पाएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय