शनिबार , बैसाख ८, २०८१

पोखरा:

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को शीर्ष नेतृत्वले पार्टीमा देखिएको संकट समाधान गर्न नसकिरहेका बेला गण्डकी प्रदेश र जिल्लास्तरमा पनि तीव्र गुटगत भेला भइरहेका छन् ।

सचिवालयले निकास दिन नसकेपछि विवाद स्थायी कमिटीमा पुगेको छ । र, २१ गते सुरु भएर स्थगित भएको नेकपा स्थायी कमिटीको बैठक भोलि आइतबार पुनः बस्दैछ ।

स्थायी समितिकै बैठक अगाडि शनिबारसम्म गण्डकी प्रदेश र अन्तर्गतका जिल्लाहरुमा नेकपा अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली पक्ष र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ तथा वरिष्ठ नेता माधवकुमार नेपाल पक्षले छुट्टाछुट्टै भेला गरेका छन् ।

आफ्नो पक्षलाई भनेका छन्, ‘पार्टी चरम संकटमा छ । जुनसुकै बेला जे पनि हुन सक्छ, तयार अवस्थामा रहनुस् ।’

दुबै पक्षका भेलामा नेताहरुले आफूहरु एकताको पक्षमै रहेको भन्दै एकअर्कालाई दोषारोपण गरेका छन् ।

कसका कारण संकट आयो र विभाजन भयो भने कसका कारण हुन्छ भनेर जनतालाई बुझाउनुपर्ने भन्दै नेताहरुले दाबी गरेका छन्, ‘भावनात्मक एकता टुटे पनि हामी पार्टीगत एकताकै पक्षमा हौं ।’

पछिल्लो पटक गण्डकी प्रदेश अध्यक्ष हितराज पाण्डेले पोखरामा पूर्वमाओवादी पक्षका प्रदेश तथा केन्द्रीयस्तरका नेतालाई बोलाएर भेला गरेका छन् ।

कास्की जिल्लास्तरमा बुधबारमात्र अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल पक्षका नेताहरुको भेला भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय