शुक्रबार , चैत्र १६, २०८०

एमाले फेरि फुटको नजिक, घनश्यामसहित ३० भन्दा बढी केन्द्रीय सदस्य विद्रोहका लागि

 

प्रकाशित मिति । २३ साउन, २०७९ ।

 

काठमाडौं । घनश्याम भुसालमाथि नेकपा एमालेको अनुशासन आयोगले कारबाहीका लागि बढाएको प्रक्रियाको कारण थियो अध्यक्ष केपी शर्मा ओलीमाथि आइपर्ने ठूलो संकट ।

 

स्थानीय तहको चुनावमा एमालेले धक्का खाएपनि भुसालले दुई वटा विकल्पसहित प्रस्ताव सार्न लागेका थिए । उनले ओलीले या त आत्मालोचनासहित बाम एकताको आव्हान गर्नुपर्ने या त राजीनामा दिनुपर्ने प्रस्ताव भुसालले तयार गरिसकेका थिए ।

 

एमाले बैठकमा भुसालले प्रस्ताव प्रस्तुत गर्ने तयारी गरेको सूचना पाएपछि ओलीले केशव बडाललाई लगाएर अनुशासनको कारबाही अगाडि बढाउन लगाए । भुसाललाई सम्भवत एमालेबाट निष्काशन हुन सक्छ । उनले पनि त्यसको सामना गर्न पूर्वतयारी गरिसकेको बुझिएको छ ।

 

भुसालको साथमा एमालेका ३० भन्दा बढी केन्द्रीय सदस्य रहेको विश्वस्त स्रोतले बताएको छ । योगेश भट्टराईले पनि साथ दिएमा त्यो संख्या ५० को हाराहारीमा पुग्न सक्छ । योगेशले साथ दिने या नदिने स्पष्ट छैन । तर, भुसाल अगाडि बढिसकेका छन् ।

 

कुनैपनि बेला कारबाहीको निर्णय भएमा भुसाल विद्रोह गर्ने तयारीमा छन् । उनले आफ्नो साथमा रहेका केन्द्रीय सदस्यहरुसहित एमाले छाड्ने सम्भावना बलियो भएको छ ।

 

यसैगरी, विगतमा माधवकुमार नेपालसँग नजिक रहेका युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य, गोकर्ण बिष्ट, भीम आचार्य, रघु पन्तलगायत नेताहरु पनि ओलीको पेलाईमा पर्दै गएका छन् । उनीहरु पनि ओलीलाई बाम एकताका लागि दबाब दिइरहेका छन् । तर, ओली टसमस भएका छैनन् ।

 

ओली, प्रचण्ड र माधवकुमार नेपाललाई मिलाउने दबाब सृजनामा बामदेव गौतम भित्र भित्र लागेका छन् । तर, यो सजिलो देखिएको छैन । ओली लचिलो नभए संसदको चुनावसम्म प्रचण्ड र माधवकुमार नेपालसहितको ओलीबाहेकको वाम शक्ति एक बनाउने गरी गौतम लागेका छन् । उनीनिकट रहेकाहरु पनि त्यही रणनीति अनुसार सक्रिय छन् ।

 

गोरखामा बाबुरामजीले सिट पाउने सम्भावना छैनः सुरेन्द्रराज पाण्डे

 

काठमाडौं, २३ साउन । नेपाली कांग्रेसका नेता सुरेन्द्रराज पाण्डेले बाबुराम भट्टराई गठबन्धनमा आए पनि गोरखामा सिट पाउन मुस्किल भएको बताएका छन् । नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै नेता पाण्डेले भने,

 

“बाबुरामजी जसपा हुँदाखेरि हामीसँग सहकार्यमै हुनुहुुन्थ्यो । अहिले छुट्टै पार्टी बनाउनुभएको छ । उहाँ गठबन्धनमा आउनुभयो र कुरा गर्नुभयो भने धेरै नाइँनास्ति गर्नुपर्ने कुरा छैन । उहाँको नेपाल समाजवादी पार्टी, लोसपा आए गठबन्धनमा सातवटा पार्टी होलान् ।

 

फराकिलो गठबन्धन बन्ला । अरु को को थपिन्छन्, कति सिट दाबी गर्छन् भन्दा पनि उसको संगठनात्मक स्थिति कस्तो छ ? त्यस आधारमा निर्क्यौल हुन्छ । तर यसपालि गोरखामा बाबुरामजीले सिट पाउने सम्भावना छैन ।”

 

गोरखामा बाबुराम भट्टराईको पार्टीको भोट नै नभएको उनको जिकिर छ । पाण्डेले भने, “कांग्रेसले कुनै दल गठबन्धनमा आउनासाथ यति सिट लिनुस् भन्ने होइन । गोरखामा दुइटा सिट छन् । त्यसमध्ये एउटा कांग्रेसले लिन्छ । कांग्रेसका साथीहरुले क्षेत्र नं २ नेपाली कांग्रेसले लिनुपर्छ भनेका छन् ।

 

गत निर्वाचनमा नेपाली कांग्रेसले बाबुरामलाई छाडेकाले यसपटक हामी लिन्छौं । एउटै व्यक्तिलाई पटकपटक सहयोग गर्न सकिँदैन । टिकट पाउनुमात्र ठूलो कुरा होइन । बाबुरामजीको पार्टीमा कति भोट छ र भोट सहज रुपमा ‘ट्रान्सफर’ हुन्छ कि हुँदैन भन्ने ख्याल गर्नुपर्छ । ”

 

तपाईंहरु अरु दलसँग गठबन्धन गर्न खोज्नुभएको छ, आन्तरिक रुपमा चाहिँ मिल्नु पर्दैन भन्ने पत्रकार धमलाको प्रश्नमा नेता पाण्डेले भने, “हो, नेपाली कांग्रेसमा धेरै आकांक्षी छन् । कांग्रेसलाई १६५ सिटमै लडे त अप्ठ्यारो छ भने धेरै सिट अरु दललाई छाड्दा गाह्रो हुन्छ । भुइँको टिप्न खोज्दा पोल्टाको झर्छ कि भनेर चिन्ता छ । भित्रका साथीहरुलाई पेल्ने, बाहिर गठबन्धन गर्न जाने भन्ने हुँदैन । सभापतिजीले पहिला पनि म्यानेज गर्नुभयो । अहिले पनि हुन्छ ।”

 

अबको प्रधानमन्त्री कसलाई घोषणा गरेर जानुहुन्छ भन्ने अर्को प्रश्नमा उनले भने, “ऋषिजी, तपाईं प्रख्यात र सफल पत्रकार हो । गठबन्धन हुन्छ कि हुँदैन, तालमेलको मोडालिटी के हुन्छ र कांग्रेसले कस्ता कस्ता उम्मेदवार बनाउँछ भन्ने प्रश्न त ठीकै छ । तर चुनावपछिको प्रश्न अहिले किन सोध्नुुन्छ ? प्रधानमन्त्री त संसदीय दलले बनाउने हो । कांग्रेसले प्रधानमन्त्रीको उम्मेदवार अघि सारेर जाने अवस्था छैन । प्रधानमन्त्री चलाउन सक्ने धेरै होलान् । तर भावी प्रधानमन्त्रीको चर्चा गर्ने बेला भएको छैन ।”

 

५०–५० को मोडलमा जाँदा ८२ सिटमा कांग्रेसले चित्त बुझाउने कि नबुझाउने भन्ने पत्रकार धमलाको प्रश्नमा पाण्डेले भने, “कसैले आधा भन्यो कि ६० भन्यो, भनेर अहिले नै रातोपिरो गर्नुपर्ने विषय होइन । स्थानीय तहको निर्वाचनको तथ्य जगजाहेर छ । यसबारे मैले भन्दा पनि गठबन्धनको कार्यदलमा भएका साथीहरुले भन्नुपर्छ । मुख्य कुरा कसले जित्छ, त्यसका आधारमा उसलाई टिकट दिने हो । टिकट मात्र लिने हो भने त आफआफै लडे भइहाल्यो ।

 

तर एक्लाएक्लै भन्दा गठबन्धन सहज हुन्छ ।” तर उनले २०७४ को निर्वाचनका आधारमा सिट बाँडफाँड हुन नसक्ने जिकिर गरे । पाण्डेले थपे, “त्यतिखेरको मत कांग्रेस एक्लैको मत हो, माओवादीले गठबन्धन गरेर जितेको हो । त्यो उसको एकलौटी मत होइन ।”

 

मुलुकका समस्या शेरबहादुर देउवा प्रधानमन्त्री भएपछि नजन्मेको पनि उनको जिकिर छ । उनले भने, “अन्तर्राष्ट्रिय परिस्थितिका कारण अचाक्ली महँगी बढेको छ । तर जति बढ्छ, त्यति बढ्न दिनुपर्छ भन्ने पनि होइन । यो विषम परिस्थितिमा बनेको सरकार हो । कांग्रेसले चाहेर मात्र मूल्य नियन्त्रण हुने पनि होइन । तर एमसीसी, नागरिकता विधेयक पारित भएको स्थिति छ । त्यसमा शेरबहादुर देउवाको योगदान छ ।”

 

चोलेन्द्रशमशेर राणालाई बचाउन कांग्रेस लागेको हो भन्ने पत्रकार धमलाको प्रश्नमा पाण्डेले भने, “कसैलाई बचाउने र फसाउने संख्या कांग्रेससँग छैन । त्यो संसद्को बिजनेस हो । संसदीय प्रक्रियामा गइसकेपछि कार्यविधि अनुसार टुंगो लाग्छ ।”

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय