शुक्रबार , बैसाख ७, २०८१

काठमाडौं, २४ मंसिर:

सरकारले नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीविरुद्ध कठोर बन्ने संकेत गरेको छ ।

विप्लव समूहले हिंसात्मक गतिविधि र चन्दा आतंक बढाएको भन्दै सरकारले कठोर कदम चाल्ने तयारी गरेको हो ।

विप्लव समूहको सक्रियता र पछिल्लो शान्तिसुरक्षाको अवस्थाबारे समिक्षा गर्न गृहमन्त्री रामबहादुर थापा बादलले आज सुरक्षा समितिको बैठक डाकेका छन् ।

बैठकमा सुरक्षा निकायका प्रमुखहरु सहभागी भएको बुझिएको छ । बैठकले विप्लव समूहप्रति अब कसरी प्रस्तुत हुने देखि राजावादीको प्रदर्शन रोक्ने उपायबारे समेत रणनीतिको तयारी गर्ने बुझिएको छ ।

विश्वस्त स्रोतका अनुसार गृहमन्त्री बादलले हत्या हिंसा गर्ने समूहप्रति कडा बन्न निर्देशन दिइसकेका छन् । उनले आजको बैठकमा सुरक्षा अवस्थाबारे जानकारी लिने र त्यस अनुसारको रणनीति बनाई थप निर्देशन दिने बुझिएको छ ।

मङ्गलबार विप्लव समूहले मोरङमा शिक्षक राजेन्द्रकुमार श्रेष्ठको घाँटी रेटेर हत्या गरी जिम्मेवारी समेत लिएपछि त्रास बढेको छ । उक्त समूह अझ सक्रिय हुनसक्ने भन्दै सरकारले पनि कडा नीति बनाउन लागेको हो ।

यसअघि प्रधानमन्त्री केपी शर्मा ओलीले हिजो नै सर्वदलीय बैठक डाकेर राजावादी र विप्लव समूहको चुनौतीको सामना गर्न एकजुट हुन आग्रह गरेका थिए ।

उनले हिंसात्मक गतिवधि गर्ने शक्ति र दक्षिणपन्थी शक्ति सलबलाउन थालेको भन्दै कसरी अगाडि बढ्नेबारे सुझाव समेत मागेका थिए । यसलाई ओलीको कठोर कदम चाल्दै अगाडि बढ्ने तयारीका रुपमा बुझिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय