
२४ मंसिर, काठमाडौं:
प्रधानमन्त्री केपी शर्मा ओलीले भ्रष्टाचारी जोकोहीलाई पनि कानुनी दायरामा ल्याउनै पर्ने बताएका छन् ।
उच्च राजनीतिक तथा प्रशासनिक पदमा रहेका पदाधिकारीविरुद्ध पनि मुद्दा चलेको बताउँदै ओलीले यसबाट भ्रष्टाचारविरुद्धको शून्य सहनशीलता प्रमाणित हुने उल्लेख पनि गरेका छन् ।

भ्रष्टाचारविरुद्धको अन्तर्राष्ट्रिय दिवसको अवसरमा शुभकामना सन्देश दिँदै प्रधानमन्त्री ओलीले भनेका छन्, ‘भ्रष्टाचारमा संलग्न जो कोहीलाई पनि कानुनी दायरामा ल्याउनै पर्दछ ।
उच्च राजनीतिक तथा प्रशासनिक पदमा रहेका पदाधिकारीविरुद्ध पनि यस वर्ष मुद्दा चलेका छन् ।
भ्रष्टाचार विरुद्धको हाम्रो शून्य सहनशीलतालाई यसले प्रमाणित गर्दछ ।’ ओलीले लेखेका छन्, ‘ठूलो वा सानो मात्राको वा ठूलो वा सानो पदको वा जोसुकैले भ्रष्टाचार गरे पनि त्यो अपराध नै हो र क्षम्य हुन सक्दैन । सरकार यसमा स्पष्ट छ ।’
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विगत दुई आर्थिक वर्षमा ७९२ भ्रष्टाचारका मुद्दा चलाएको र हाल पनि करिब ८ हजार उजुरी उपर अनुसन्धान भइरहेको उल्लेख गर्दै ओलीले भनेका छन्,
‘नेपालमा विगत दुई वर्षमा सुशासन कायम गर्न राम्रा प्रयास र अभ्यासको थालनी गरिएको छ र भ्रष्टाचार गर्ने प्रवृत्ति धेरै हदसम्म ओरालो लागेको छ ।’
भ्रष्टाचार हुनै नदिनु सरकारको प्राथमिकता हो भन्दै ओलीले यसका लागि सरकारी, निजी, गैरसरकारी, सामुदायिक तथा सञ्चार क्षेत्रलगायत सबैको सहयोग र सहकार्य आवश्यक पर्ने बताएका छन् ।
कुनै एक सूचकका आधारमा मात्रै भ्रष्टाचार घटेको वा बढेको निष्कर्षमा पुग्न नसकिने बताउँदै ओलीले त्यसको बहुपक्षीय र सुक्ष्म अध्ययन गर्न जरुरी रहेको उल्लेख गरेका छन् । अनलाईन खबरबाट ।