बिहिबार , बैसाख १३, २०८१

पूर्वप्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीको निर्वाचन क्षेत्र झापा–५ हो । यो निर्वाचन क्षेत्र दमक नगरपालिका, कमल गाउँपालिकाका तथा गौरादह नगरपालिका ९ नम्बरबाहेकका वडा र गौरीगञ्ज गाउँपालिकाका १ र २ नम्बरबाहेकका वडाहरू पर्दछन् । ओलीले २०७४ सालमा भएको निर्वाचनमा ५७ हजार १३९ मत ल्याएका थिए । उनका प्रतिष्पर्धी नेपाली कांग्रेसका खग्रेन्द्र अधिकारीले २८ हजार २९७ मत ल्याएका थिए ।

 

वैशाख ३० मा सम्पन्न स्थानीय तह निर्वाचनमा ओलीको क्षेत्रमा एमालेलाई ४० हजार ३६१ मत आएको छ । स्थानीय तहको मत परिणाम आउँदा दमक नगरपालिका प्रमुख/उपप्रमुख दुवै पद गुमाएको छ । कमल गाउँपालिकामा पनि एमाले पराजित भएको छ । गौरीगञ्ज गाउँपालिका पनि एमालेले गुमाएको छ । तर, अघिल्लोपटक हारेको गौरादह नगरपालिका भने एमालेले जितेको छ ।

 

तीन–तीनवटा स्थानीय तहको नेतृत्व गुमाउँदासमेत वडा तहमा एमालेले पाएको मत हेर्दा यो निर्वाचन क्षेत्रमा ओली बलियो अवस्थामा देखिएका छन् । ओलीको क्षेत्रमा उनलाई हराउन वर्तमान सत्ता गठबन्धनले मात्र पुग्ने अवस्था देखिँदैन । गएको स्थानीय तह निर्वाचनको वडा तहको मतपरिणाम हेर्दा वर्तमान सत्ता गठबन्धनमा राप्रपासमेत मिसिएमात्र ओलीलाई जोखिम हुनसक्छ ।

 

यस निर्वाचन क्षेत्रमा कांग्रेसको २२ हजार २२ मत तथा माओवादी केन्द्रको १० हजार ७७८ मत रहेको छ । नेकपा(एकिकृत समाजवादी) को भने २ हजार १५ मत मात्र देखिन्छ । यी दलहरुले पाएको मत जोड्दा ३४ हजार ८१५ पुग्छ । राप्रपाको ८ हजार ३५३ मत छ । यो मतसमेत गठबन्धनसँग आए ४३ हजार १५८ मत पुग्छ ।

 

जुन एमाले एक्लैसँग भएको भन्दा झण्डै दुईहजारमात्रै मत बढी हुन्छ । झापा क्षेत्रनम्बर–५मा यी मुख्य दलहरुबाहेकसँग पनि पर्याप्त मत छ । संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चसँग एकहजार ७५४, राष्ट्रिय जनमुक्ति पार्टीसँग ६८, मंगोल नेशनल अर्गनाइजेशनसँग २८४, विवेकशील साझा पार्टीसँग ६८ मत छ ।

 

यस्तै उन्नत लोकतान्त्रिक पार्टीसँग ९, जनमत पार्टीसँग ८३०, लोकतान्त्रिक समाजवादी पार्टीसँग १११ र नेपाली जनता दलसँग २६ मत छ । यी सबै साना दलहरूसँगको कुल मत तीन हजार १५० छ । यी मत सबै ओलीले तान्न सके उनको मत ४३ हजार ३११ पुग्छ । यो राप्रपासहितको सत्ता गठबन्धन भन्दा ३५३ मत बढी हो । यस्तो अवस्थामा ओलीसँग कडा टक्कर हुने देखिन्छ ।

 

झापा–५बाट भित्रका पालिकाबाट गएको स्थानीय तह निर्वाचनमा स्वतन्त्र उमेदवारहरूले कुल ३ हजार ४७१ मत ल्याएको निर्वाचन आयोगको तथ्यांकले देखाउँछ । त्यहाँ गठबन्धन भएमा क–कसले चुनाव जित्छ भन्नका लागि स्वतन्त्रहरुको मत पनि निर्णायक हुने अवस्था छ ।

 

२०७४ को प्रदेश र प्रतिनिधि सभा चुनावलाई फर्केर हेर्दा ओली यहाँ वाम गठबन्धनको तर्फबाट उमेदवार बनेका थिए । झापा क्षेत्र नम्बर ३ मा राप्रपाका राजेन्द्र लिङ्देनलाई सहयोग गरेवापत आफ्नो क्षेत्रमा ओलीले राप्रपाको राम्रो साथ र मत पाएका थिए । यसपटक पनि राप्रपाको साथ ओलीले नै लिए भने उनलाई पराजित गर्न गठबन्धनलाई सहज देखिँदैन ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय