
२१ मंसिर, काठमाडौं:

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओलीले पत्र नै पठाएर स्थायी कमिटीमा आउन नसक्ने जानकारी दिएका छन् ।
पार्टी कार्यालय, धुम्बाराहीमा आइतबार बसेको नेकपा स्थायी कमिटीको बैठकमा सचिवालय सचिव ईश्वर पोखरेलले प्रधानमन्त्री समेत रहेका अध्यक्ष ओलीले को पत्र बाचन गरेर सुनाएका थिए ।
पत्रमा उनले आफूले खारेज गरिसकेको । पार्टीलाई विभाजनको डिलमा पुर्याउने आरोपपत्रबारे हुने छलफलमा सहभागी हुन नसक्ने बताएका छन् ।
नेकपामा पछिल्लो समय पत्र जुहारी चलिरहेको छ । २२ कात्तिकमा प्रचण्डसहित पाँच नेताले सचिवालय बैठक माग गर्दै अध्यक्ष ओलीलाई दुई पन्ने पत्र लेखेका थिए ।
त्यसको जवाफमा अध्यक्ष ओलीले २५ कात्तिकमा १० पृष्ठको पत्र लेखे । २८ कात्तिकमा बसेको पार्टी सचिवालयको बैठकमा प्रचण्डले ७ पृष्ठको प्रतिउत्तरका साथै १९ पृष्ठको प्रस्ताव पेस गरे ।
तर ओलीले स्थायी कमिटीको निर्णय र पार्टीको स्थापित परम्परा विपरीत आफ्नाविरुद्ध अभियोग पत्र वितरण गरिएको र आफूमाथि संगीन फौजदारी आक्षेप समेत लगाएकाले बैठकमा छलफल हुन नसक्ने अडान लिएका छन् ।
पार्टीलाई सहज र स्वस्थ वातावरणमा फर्काउने हो भने प्रस्ताव निःशर्त फिर्ता हुनुपर्ने उनको अडान छ ।
१३ मंसिरको सचिवालय बैठकमा भने ओलीले अर्का अध्यक्ष प्रचण्डको प्रस्तावको जवाफमा ३७ पृष्ठको प्रस्ताव पेश गरेका थिए ।
शनिबार बसेको नेकपा सचिवालयको बैठकले ओलीको अडान विपरित दुवै प्रस्तावमाथि स्थायी कमिटीमा छलफल गर्ने निर्णय गर्यो ।
तर अध्यक्ष ओली आइतबारबाट सुरु भएको स्थायी कमिटी बैठकमा नै सहभागी भएनन् । अनलाईन खबरबाट