बुधबार , बैसाख १२, २०८१

२१ मंसिर, काठमाडौं:

०६२/६३ मा भएको आन्दोलनले राजतन्त्र उन्मूलन गरेको झण्डै डेढ दशकपछि राजावादी शक्तिहरु एकाएक जुर्मुराएका छन् ।

देशका विभिन्न भागहरुमा ‘राजा आउ देश बचाउ’ को नारासहित र्‍याली भइरहँदा यसको नेतृत्व कसले गरिरहेको छ भन्ने कौतुहल पनि धेरैलाई छ ।

कुनै ठूलो राजनीतिक दल घोषितरुपमा यो आन्दोलनमा सहभागी छैन । राजावादीहरु यो स्वतःस्फूर्त आन्दोलन भएको बताउँछन् ।

यद्यपि, विभिन्न संघ–संस्थाहरुको ब्यानर र्‍यालीमा देखिन्छ । त्यसमध्येको एउटा संस्था हो, राष्ट्रिय शक्ति नेपाल अभियान । पुराना राजावादी नेता केशरबहादुर विष्ट यो अभियानका संयोजक हुन् ।

काठमाडौंमा गत १६ गते भएको र्‍याली यही अभियानको संयोजनमा भएको थियो । शनिबार काठमाडौंको जुलुसमा पनि यो अभियानले अगुवाइ गरेको थियो ।

पञ्चायतकालमा र प्रजातन्त्र आएपछि पनि पटकपटक मन्त्री भएका विष्ट पहिले कमल थापा नेतृत्वको राप्रपा नेपालका सहअध्यक्ष थिए ।

थापासँग मतभेदपछि उनी प्रकाशचन्द्र लोहनीको राप्रपा प्रजातान्त्रिकतिर लागे । पछि लोहनीसँग पनि अलग भएर उनले ‘राष्ट्रिय शक्ति नेपाल अभियान’ सुरु गरेका हुन् ।

यो अभियान पार्टीका रुपमा दर्ता भएको छैन । बेइमानी र धोका भएपछि आफूले  राप्रपा छाडेर हिँडेको विष्ट बताउँछन् । हाल भइरहेका प्रदर्शनमा देखिएको भिडभाडलाई लिएर विष्ट निकै उत्साहित देखिन्छन् ।

जनता गणतन्त्रबाट अघाइसकेको र राजतन्त्र नै ठीक रहेछ भन्ने मनस्थितिमा पुगेको उनको निश्कर्ष छ । विष्टले यो पनि भने, ‘दलहरुको राजनीति बोकाले दाइँ गरेजस्तो भएको छ ।’

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय