मंगलबार , बैसाख ११, २०८१

२0 मंसिर, काठमाडौं:

प्रधानमन्त्रीनिवास बालुवाटारमा शनिबार दिउँसो बसेको सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठकले आइतबार दिउँसो स्थायी कमिटीको बैठक बोलाउने निर्णय गरेको छ ।

आइतबार दिउँसो १ बजे पार्टी कार्यालय धुम्बाराहीमा स्थायी कमिटीको बैठक बस्ने पार्टीका प्रवक्ता नारायणकाजी श्रेष्ठले बैठकपछि सञ्चार माध्यमलाई जानकारी दिएका छन् ।

सचिवालयका सबै, ९ जनै नेताहरुको उपस्थितिमा बसेको बैठकले स्थायी कमिटीको बैठक बोलाएको हो ।

आइतबारको बैठकमा अध्यक्षद्वय केपी शर्मा ओली र प्रचण्डका पत्र र लिखित प्रस्तावहरु प्रस्तुत हुने कार्यसूची छ ।

यसअघिको सचिवालय बैठकमा कार्यकारी अध्यक्ष प्रचण्डले १९ पृष्ठको प्रस्ताव ल्याएपछि अध्यक्ष ओलीले १० दिनपछि त्यसको काउन्टरमा ३८ पृष्ठको बेग्लै प्रस्ताव ल्याएका छन् ।

प्रचण्डको प्रस्तावलाई ‘लाञ्छनापत्र’को संज्ञा दिँदै प्रधानमन्त्री ओलीले त्यसलाई खारेज गरेर प्रचण्डले माफी माग्नुपर्ने बताउँदै आएका छन् ।

तर, प्रधानमन्त्री ओलीको माग विपरीत शनिबारको सचिवालय बैठकले प्रचण्ड र ओली दुबैका प्रस्तावहरु औपचारिक छलफलका लागि स्थायी कमिटीमा लैजाने निर्णय गरेको छ ।

आइतबारको स्थायी कमिटी बैठकमा ती प्रस्तावहरुका साथै ओली र प्रचण्डले लेखेका चिठीपत्रहरुसमेत अध्ययनका लागि वितरण गरिने सचिवालयका एक नेताले बताए ।

शनिबारको सचिवालय बैठकमा अध्यक्ष केपी शर्मा ओली उपस्थित नहुने नेताहरुको अनुमान थियो ।

तर, बैठकअघि कार्यकारी अध्यक्ष प्रचण्डसँग करिब २० मिनेटजति अलग्गै छलफल गरेपछि ओली बैठकमा सहभागी बने ।

तर, बैठकमा ओलीले प्रचण्डको प्रस्ताव खारेज हुनुपर्ने र जे सहमति गर्नुपर्ने हो, सचिवालयकै गरिनुपर्ने अडान दोहोर्‍याए । अनलाईन खबरबाट

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय