बिहिबार , बैसाख १३, २०८१

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले नेकपा (एमाले) लाई प्रहार गर्न नहुने बताउनुभएको छ ।

 

उहाँले उक्त पार्टी भोलि आफ्नै घरपनि हुनसक्ने भन्दै धेरै प्रहार नगर्न नेता कार्यकर्ताहरुलाई अपिल गर्नुभयो ।

 

बागमती प्रदेश कमिटीको तेस्रो पूर्ण बैठकलाई शुक्रबार सम्बोधन गर्दै अध्यक्ष नेपालले अहिले एमालेले धेरै प्रहार नगरेकाले आफूहरूले पनि प्रहार गर्न नहुने थप प्रष्ट पार्नुभयो ।

 

‘अहिले धेरै किन भन्नु हुँदैन भने एमालेका नेताहरुले अहिले हामीलाई धेरै प्रहार गरिरहनुभएको छैन’ विभिन्न तहमा सम्वादपनि भइरहेको छ । उहाँले कार्यकर्तालाई थप भन्नुभयो, ‘धेरै प्रहार नगरिरहेको बेलामा हामीले पनि प्रहार गर्नुहुँदैन ।’

 

तर, आफूहरूले एकएक कुराहरू मसिनोगरी हेरिरहेको र कुनै पनि भुलभुलैयामा नपर्ने उहाँको भनाइ छ । भुलभुलैयामा पर्दा न घरको न घाटको हुने भएकोले यस्तो मुर्खतापूर्ण गल्ती कहिल्यै नगर्न अध्यक्ष नेपालले कार्यकर्ताले निर्देशन दिनुभयो । यद्यपी एमालेसँग मिल्नै सकिन्न भन्ने ठाउँपनि कतै नरहेको उहाँले स्पष्ट पार्नुभयो ।

 

‘राजनीतिमा मान्छेले बाहिर र भित्रका सबै कुरा राम्ररी देख्न सक्दैन’ उहाँले अघि भन्नुभयो, ‘ठूलो हन्डर–ठक्कर खानुपर्छ । पछुताउने बाहेक अरु केही पनि हुँदैन ।’

 

उहाँले आफूहरूलाई कम आँकलन गर्दा स्थानीय तह निर्वाचनमा सबैभन्दा ठूलो नोक्सानी भोगेको दाबीसमेत गर्नुभयो ।

 

कार्यकर्तालाई सम्बोधन गर्ने क्रममा अध्यक्ष नेपालले गठबन्धनमा रहेका नेपाली कांग्रेस र माओवादी केन्द्रप्रति निक्कै खनिनुभयो । आक्रोशित बन्दै उहाँले विभिन्न चेतवानी समेत दिनुभयो ।

 

स्थानीय तह निर्वाचनमा कांग्रेस–माओवादीले आफूहरूलाई धोका दिएको भन्दै सत्ता र संसदको गणितीय खेलमा देखाइदिने चेतावनी दिनुभयो ।

 

‘राष्ट्रिय राजनीतिको नयाँ दृश्य देखिरहेका छौं । आफूले धेरै पाउन सकेनन् भने अरुलाई सिध्याउँन सक्छन् । गणितीय खेल पनि हुन्छ, त्यसैले ख्याल गर्नुपर्छ’ उहाँले भन्नुभयो, ‘हाम्रो शक्तिको अवमूल्यन गर्छ भने तिनिहरूले महँगो मूल्य चुकाउनु पर्छ ।’

 

उहाँले भन्नुभयो ‘हामीले कांग्रेस र माओवादीलाई हिर्काइरहेका छौं’, ‘तिमीहरूको अहंकार, धोकादारी र बेइमानीले गठबन्धन जुन उदेश्यले अगाडि जानु पर्ने थियो त्यो नजाने स्थिति पनि बनेको छ ।

 

तर अहिले आफूहरू राजावादी र संविधान मास्नेसँग जानसक्ने विकल्प नभएकोले गणतन्त्र पक्षधरसँगै बस्नुपर्ने बाध्यता रहेकाले मात्र केही दिन गठबन्धन टिक्ने स्पष्ट पार्नुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय