शुक्रबार , बैसाख ७, २०८१

November 25, 2020, Wednesday
२०७७ मंसिर १०

कैलाली सुरक्षाका दृष्टिकोणले संवेदनशील जिल्ला मानिन्छ । अस्थायी प्रहरी पोष्ट जुगेडाका तत्कालीन इञ्चार्ज असई गोविन्द विक र जवान रामबहादुर साउद तस्कर समूहबाट मारिएपछि जिल्लाको सुरक्षा व्यवस्था थप कडा पारिएको छ ।

यस्तो अवस्थाका बीच मंगलबार राति ९ बजेपछि इलाका प्रहरी कार्यालय, मालाखेतीका इञ्चार्ज भरतराज चौधरी सम्पर्कविहीन भए । जिल्लाका अधिकारीलाई कुनै जानकारी नदिई प्रहरी नायब उपरीक्षक (डीएसपी) सम्पर्कविहीन भएपछि हल्लिखल्ली मच्चियो ।

चौधरीको कार्यक्षेत्र पर्ने स्थानमा भएको दुर्घटनाबारे बुझ्न सञ्चार सेटमा सम्पर्क गर्दा उनी बोलेनन् । त्यसपछि मोबाइलमा सम्पर्क गर्दा स्वीच अफ थियो । चौकीका प्रहरी निरीक्षकसहित अन्यसँग सम्पर्क हुँदा समेत डीएसपी चौधरीको अत्तोपत्तो भएन ।

त्यसपछि उनको खोजीमा विभिन्न टोली परिचालन गरिए । कैलालीका डीएसपी प्रतीक विष्टसहित सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयबाट छुट्टाछुट्टै टोली खटियो । एक महिना अघि दुई प्रहरी अधिकारीको हत्या भएका कारण पनि प्रहरी झस्किएको थियो ।

तनावका बीच बुधबार बिहान ६ बजेतिर गोदावरी नगरपालिकाको बुढीतोलामा उनी देखा परेको प्रहरी बताउँछ । मोटरसाइकलमा गुड्दै गरेको अवस्थामा प्रहरीको टोलीले बिहान फेला पारेको प्रदेश प्रहरी कार्यालयका एसएसपी मुकेश सिंह बताउँछन् ।
तर, स्थानीयले भने उनलाई होटलमा भेटेको बताएका छन् । संवेदनशील क्षेत्रका इञ्चार्ज विना जानकारी हराउनु नै गम्भीर विषय भएको बताउँदै प्रदेश प्रहरी कार्यालयले घटनाको छानविन थालेको छ । छानविनका लागि प्रहरी उपरीक्षक (एसपी) दिलिपसिंह देउवाको नेतृत्वमा चार सदस्यीय समिति बनाइएको छ ।अनलाइन खबर बाट साभार

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय