शुक्रबार , बैसाख ७, २०८१

जारी कक्षा १२ को परीक्षा दिने क्रममा अनियमितता भएको भिडियो भाइरल भएको छ । परीक्षा हलमा खिचिएको २६ सेकेन्डको सो भिडियोमा विद्यार्थीहरु मोबाइलको स्क्रीन हेर्दै उत्तर लेखिरहेका देखिएका छन् । परीक्षा हलमा निरीक्षक भने देखिँदैनन् ।                                                  भिडियो खिच्ने विद्यार्थीले भनिरहेका छन्, ‘इग्जयाम भनेको यही हो है केटाहरु हो, सिर्जना मोबाइलमा, हाम्रो घिसिङ सर पनि मोबाइलमा, यतापनि मोबाइलमा हो, उतापनि मोबाइलमा हो सब केटाहरु, सर छैन । यही हो है केटाहरु इग्जाम भनेको यही हो । मेरो सकिसक्यो ।’

यो भिडियो कुन परीक्षा केन्द्रको हो भन्ने खुलिसकेको छैन भने केही विद्यार्थीहरुले मास्क लगाएका देखिएका छन् । यो भिडियो सामाजिक सञ्जाल फेसबुक र टिकटकमा अहिले भाइरल भइरहेको छ ।

राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष पौडेल भन्छन् : परीक्षा रद्द गर्न सक्छौं 

परीक्षामा स्मार्टफोनबाट उत्तर लेखिरहेको भाइरल भिडियोबारे हामीले राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष डा. चन्द्रमणी पौडेलसँग कुरा ग-यौँ । उनले यो घटनाबारे परीक्षा बोर्डमा जनाकारी नआएको बताए । उनले कुन कलेजमा यस्तो भएको त्यसको जानकारी दिन समेत आग्रह गर्दै थाहा पाउने वित्तिकै कारवाही गर्ने उल्लेख गरे ।

उनले भने–‘कोरोना काल छ, ५ हजार १ सय परीक्षा सेन्टर छ, सबै ठाउँमा बोर्डले मात्र अनुगमन गर्न सक्दैन । कहिँ कतै त्यस्तो प-यो भने हामी अनुगमन गर्न त सक्छौँ नै । अनुगमन पनि गरेका छौँ । जहाँ जहाँ गरेका छौँ त्यहाँ यस्तो देखिएको पनि छैन । कहाँको हो, कुन जिल्लाको हो ? कुन विद्यालयको हो ? मिडियामा आइसकेपछि हैन कसरी भनौँ । त्यो थाहा पाऔँ न ।’

बोर्डले अनुगमन गरेको केन्द्रहरुमा भने राम्रोसँग परीक्षा भएको उनको दावी छ ।

उनले परीक्षालाई मर्यादित बनाउन बोर्ड लागिपरेको बताउँदै धेरै संख्यामा परीक्षा केन्द्र भएकोले सबैमा अनुगमन गर्न नसकिने उल्लेख गरे । परीक्षामा स्मार्ट फोन प्रयोग गर्ने, चिट चोर्ने काममा संलग्नलाई फौजदारी कसुर अनुसार कारवाही हुने बताउँदै नियम विपरीत परीक्षा सञ्चालन गर्ने केन्द्रको परीक्षा समेत रद्ध हुने उनले बताए ।

बोर्डका अध्यक्ष पौडेलले परीक्षामा पर्यात मात्रामा निरिक्षकहरुको व्यवस्था गरिएको, मोबाइल फोन लान नपाइने र सामाजिक दुरी कायम गरेर परीक्षा दिने व्यवस्था गरिएको बताएपनि भाइरल भएको सो भिडियोमा कतिपय बिद्यार्थीहरुले मास्क समेत नलगाएको स्पष्ट देखिन्छ ।

गत वैशाखमा हुनुपर्ने परीक्षा कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणका लागि लकडाउन जारीपछि पछि धेकेलिएको थियो । मंगलबारबाट देशभर सुरु भएको परीक्षामा ४ लाख ३३ हजार विद्यार्थी परीक्षामा सहभागी छन् ।

हेर्नुहोस् भिडियो ः

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय