शुक्रबार , चैत्र १६, २०८०

मङ्सिर १०, काठमाडौँ।

राष्ट्रिय वाणिज्य बैंकले ऊर्जा बचत कार्यमा योगदान गरेकामा विभिन्न कम्पनीलाई सम्मानस्वरुप अनुदान सहयोग प्रदान गरेको छ । मंगलबार आयोजित कार्यक्रममा राष्ट्रिय वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले विभिन्न कम्पनीलाई अनुदान रकम हस्तान्तरण गर्नुभयो ।बैंकले जर्मन सरकारबाट प्राप्त अनुदान सहयोगमा सञ्चालित इनर्जी इफिसेन्सी प्रोग्राम अन्तर्गत अनुदान सहयोग उपलब्ध गराइएको हो । अनुदान सहयोग कार्यक्रमअन्तर्गत प्रिमियर अर्गानिक्स प्रालिलाई रु ५३ लाख ५१ हजार ५८४, हुलास स्टील इन्डस्ट्रिजलाई रु ३३ लाख १५ हजार र प्रिमियर स्टिललाई रु १७ लाख आठ हजार ४५६ रकम हस्तान्तरण गरिएको छ ।
मितव्ययी तथा प्रभावकारी ऊर्जा बचत हुने गरी कम्पनीहरुले यन्त्र उपकरण जडान गरेको हुँदा स्वीकृत अनुदान कार्यविधिअनुसार अनुदान सहयोग सम्झौता आदानप्रदान तथा अनुदान रकमको चेक आज बैंकका प्रमुख कार्यकारी अधिकृत श्रेष्ठले हस्तान्तरण गर्नुभयो ।
नेपाल सरकार र जर्मन सरकारबीच सन् २०१० मा नेपालको औद्योगिक तथा व्यापारिक क्षेत्रमा मितव्ययी तथा प्रभावकारी ऊर्जा बचत गर्ने सम्झौता बमोजिम राष्ट्रिय वाणिज्य बैंकले सो आयोजना कार्यान्वयन गरेको हो । उक्त आयोजनाअन्तर्गत कुनै एक एकाइले मितव्ययी तथा प्रभावकारी ऊर्जा बचत हुने गरी यन्त्र उपकरणमा लगानी गरेमा स्वीकृत अनुदान कार्यविधि भित्र रही अधिकतम रु एक करोडसम्मको सहायता रकमका लागि दरखास्त दिन सकिने बैंकका उपकार्यकारी अधिकृत देवेशप्रसाद लोहनीले जानकारी दिनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय