शनिबार , बैसाख ८, २०८१

बर्दिया – बर्दियाको एक वन समूहले पर्यटकलाई रुखमै बास बसाल्ने व्यवस्था मिलाएर नवीन  शैलीको सुरुआत गरेको छ । बर्दिया राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा पर्ने बानुगाउँ मध्यवर्ती सामुदायिक वन उपभोक्ता समूहले पर्यटकलाई अब होटल तथा रिसोर्टमा होइन, जंगलका रुखमै बास बस्ने व्यवस्था मिलाएको छ । 

निकुञ्ज तथा सामुदायिक वन घुम्न आउने पर्यटकलाई बसाइमा नौलो अनुभूति दिलाउन सामुदायिक वनले ट्रि हाउस निर्माण गरेर रुखमै रात बिताउन सकिने व्यवस्था मिलाएको हो ।सामुदायिक वनभित्रको एउटा ठूलो सिमलको रुखलाई बास बस्ने घरको रुपमा विकास गरिएको छ । ठाकुरबाबा नगरपालिकाको पाँच लाख र वनको दुई लाख ७५ हजार गरी सात लाख ७५ हजारको लागतमा ट्रि हाउस निमार्ण गरिएको हो । 

दिनभर निकुञ्ज घुमेर आउने पर्यटकले अब जंगलभित्रै ट्रि हाउसमा रात बिताउन सक्नेछन् । ट्रि हाउसमा एक पटकमा बढीमा आठ जना बास बस्न मिल्ने बनाइएको छ । ट्रि हाउसमा बसेर पर्यटकले रातीको समय पनि वन तथा वन्यजन्तुको अवलोकन गर्न सक्नेछन् । ट्रि हाउसमा उज्यालोका लागि सोलार बत्ती, टुकी र लालटिन व्यवस्था गरिएको छ । रुखमै जैविक शौचालय बनाइएको छ । 

पर्यटकले सजिलै वन्यजन्तु अवलोकन गर्न सकून् भन्ने उद्देश्यले वन्यजन्तु आवागमन बढी हुने स्थान छनोट गरी ट्रि हाउस निर्माण गरिएको हो वन समूहका सचिव वासुदेव भट्टराईले भने मट्रि हाउसमा रात बिताउन शुल्क तिर्नुपर्नेछ ।

म विदेशी पर्यटकले प्रतिव्यक्ति एक रातको सात सय र स्वदेशीले प्रतिव्यक्ति प्रतिरात पाँच सय शुल्क तय गरिएको ट्रि हाउस व्यवस्थापन समितिले जनाएको छ । ट्रि हाउसमा बस्दा एक जना गाइड अनिवार्य राख्नुपर्ने व्यवस्था गरिएको छ । 

पालिकाले लिएको प्रकृतिमा आधारित पर्यटनको अवधारणाअनुसार ट्रि हाउस निर्माणका लागि आर्थिक सहयोग गरिएको ठाकुरबाबा नगरपालिका प्रमुख घननारायण श्रेष्ठले बताए । 

पर्यटकले ट्रि हाउसमा रात बिताउँदा छुट्टै अनुभूतिका साथै रातीमा वन्यजन्य तथा विभिन्न चराचुरुंगीको आवाज सुनेर आनन्द लिन पाउने पर्यापर्यटन विकास मञ्चका अध्यक्ष कृष्णप्रसाद भट्टराईको विश्वास छ । ट्रि हाउसमा बस्नेले समितिले निर्माण गरेको आचारसंहिता अनिवार्य पालना गर्नुपर्ने उनले बताए  । 

ट्रि हाउसको माध्यमबाट पर्यटकलाई आकर्षित गरी पर्यापर्यटनको विकासका साथै समुदायको आर्थिक, सामाजिक विकासमा टेवा पुर्‍याउन ट्रि हाउस उपयोगी हुनेछ नगरप्रमुख श्रेष्ठले भने ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय