बुधबार , बैसाख १२, २०८१

चितवन – भरतपुर महानगरपालिकाकी मेयर रेनु दाहालले अबको पाँच वर्ष रफ्तारमा काम गर्ने बताउनुभएको छ । भरतपुर वडा नम्बर १ काे लोक कल्याण सेवा प्रतिष्ठानद्वारा सञ्चालित राम जानकी बालिका आश्रमको गृह प्रवेश समारोहलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो ।

 

मेयर दाहालले यो कार्यकालमा पनि विगतको जस्तै साझा ढङ्गबाट सबैसँग हातेमालो गरेर अगाडि बढ्ने उल्लेख गर्नुभयो । ‘म दोस्रो कार्यकालका निर्वाचित भएको छु’, उहाँले भन्नुभयो, ‘म केही गर्छु भनेर आएको छु । बृहत् सङ्कल्पसहित आएको छु । म भरतपुरको विकासलाई रफ्तारमा लैजाने छु । समानुपातिक विकास मेरो प्रतिबद्धता हो ।’

 

विगतमा महानगरपालिकाले भौतिक पूर्वाधारको क्षेत्रमा मात्रै नभइ दिगो विकासको लक्ष्यअनुसार सामाजिक क्षेत्रमा पनि ठूलो फड्को मारेकाे उहाँकाे दाबी छ ।

 

राम जानकी बालिका आश्रम निर्माणका लागि महानगरपालिकाले तीन कठ्ठा जग्गा र भवन निर्माणका लागि बजेट विनियोजन गरी यसको अगुवाइ गरेको मेयर दाहालले बताउनुभयाे ।

 

देवघाटको एक भवनमा भाडामा बालिकाहरूलाई संरक्षण गर्दै आएको आश्रमलाई भरतपुर महानगरपालिकाले जग्गा र भवन निर्माणका लागि बजेट विनियोजन गरेसँगै २८ कोठे भवन निर्माणाधीन अवस्थामा छ । भवन निर्माणमा बाग्मती प्रदेश सरकार र दाताहरूले सहयोग गरेका छन् । भवन निर्माणका लागि झन्डै दुई करोड रुपैयाँ खर्च भइसकेको छ ।

 

बाँकी निर्माण कार्य सम्पन्न गर्न भरतपुर महानगरपालिकाले यस आर्थिक वर्षमा पनि बजेट विनियोजन गर्ने भरतपुर महानगरपालिकाकी मेयर दाहालले प्रतिबद्धता व्यक्त गर्नुभयो ।

 

कार्यक्रममा मेयर दाहालले देवघाट क्षेत्रलाई आकर्षक धार्मिक पर्यटकीय क्षेत्रको रूपमा विकास गर्न महानगरपालिका अगाडि बढेको बताउनुभयो । भरतपुरले मेडिकल, पर्यटकीय, शिक्षा, पूर्वाधार क्षेत्रमा धेरै फड्को मारेकाले अब भने धार्मिक क्षेत्रको विकासलाई प्रथामिकतामा राखेको उहाँले उल्लेख गर्नभयो ।

 

देवघाट आवतजावत गर्न वृद्धावृद्धलाई निःशुल्क बिजुली बस सञ्चालनमा ल्याउने पनि उहाँले जानकारी दिनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय