केही दिनदेखि अमेरिकाको राजधानी वासिङ्ग्टन डिसीमा नेपालका बहालरत र भूतपूर्व प्रधानसेनापति हुनुहुन्छ । सेनापति प्रभुराम शर्मा अमेरिकी सेनाको निम्तोमा त्यहाँ पुग्नुभएको हो । उहाँले वार कलेजलगायत विभिन्न स्थानको भ्रमण गर्नुभएको छ । यसबीच अमेरिकी सेनाका उच्च अधिकारीहरुसँग पनि छलफल भएको छ ।

 

लामो समयदेखि पूर्वप्रधानसेनापति राजेन्द्र क्षेत्री पनि वासिङ्ग्टन नजिकै हुनुहुन्छ । यसै क्रममा शर्मा र पूर्व प्रधानसेनापति क्षेत्रीवीच हिजो भेट भएको बताइन्छ । क्षेत्री छोरासँग छुट्टी मनाउने क्रममा त्यहाँ बस्नुभएको हो ।

 

पछिल्लो महिनादेखि उनै क्षेत्रीको नाम मुलुकभित्र र बाहिर चर्चाको शिखरमा छ । उहाँको कार्यकालमा नेपाली सेनाले अमेरिकी सेनासँगको आदानप्रदान कार्यक्रम एसपीपी अघि बढाउन काठमाडौंस्थित अमेरिकी राजदूतलाई सम्बोधन गरेर लेखेको पत्रले राजनीतिक क्षेत्र एकाएक तातेको हो ।

 

त्यहि पत्र लेख्ने पूर्वप्रधानसेनापतिसँग हिजो बहालरत सेना प्रमुखले भेटघाट गर्नुभएको हो । जबकि मुलुकभित्र उक्त पत्रबारे आरोप प्रत्यारोप चलिरहेको छ । २०७२ कात्तिकमा लेखिएको पत्रलाई नेपाल सरकारले हालै गरेको क्याबिनेट निर्णयबाट निस्क्रिय पार्ने निर्णय गरेको छ ।

 

 

सरकारले यसबीच एसपीपीबाट फिर्ता हुने निर्णय गरेको छ । तर अमेरिकी पक्षलाई नेपालको औपचारिक पत्र भने गइसकेको छैन । स्रोत भन्छ,‘खेस्रा बनाइएको छ, भाषा कुन प्रयोग गर्ने भन्नेबारे विभिन्न तहमा छलफल भइरहेको छ ।’

 

चौतर्फी आलोचना भएपछि प्रधानसेनापति शर्माले सेनाको तर्फबाट उक्त पत्रको पक्षमा बोल्दै सेनाले पत्र लेखेको स्वीकार गर्नुभएको छ । उहाँले तत्कालीन सरकारको निर्देशनमा पत्र लेखिएको सार्वजनिक रुपमै जानकारी गराउनुभएको हो ।

 

त्यसबेलाका रक्षासचिव ईश्वरी पौडेलले पनि रक्षा मन्त्रालयको जिम्मेवारीमा रहनुभएका त्यो बेलाका प्रधानमन्त्री केपी ओलीको निर्देशनमा सेनाले पत्र लेखेको स्वीकार्नुभएको छ । तर पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले पौडेलको भनाईको खण्डन गर्दै ‘झुठो’ हो भन्नुभएको छ ।

 

ओलीले पत्रको चलानी नम्बर र मिति हातले लेखिएकाले अर्को पत्र देखाउन चुनौति दिनुभएको छ । उहाँले यसबारे सत्यतथ्य र वास्तविकता बताइदिन अमेरिकी दूतावासलाई आग्रहसमेत गर्नुभएको छ । उक्त आग्रह उहाँले मदन भण्डारीको जन्मजयन्तीमा असार १४ गते मङ्गलवार आयोजित कार्यक्रममा गर्नुभएको हो ।

 

तर त्यसबेला पत्रमा दस्तखत गरेको, सेनाको पूर्वप्रधानसेनापति भएको नाताले क्षेत्रीले पनि मुख खोल्नुपर्ने आवाज उठेको छ । निवर्तमान भए पनि क्षेत्रीले राज्यकोषबाटै पेन्सन र नियमानुसारको सुविधा उपभोग गरिरहनुभएको छ । त्यसैले देशवासीलाई उक्त पत्रबारे सुसूचित गर्ने दायित्व उहाँको पनि स्वत: हुन आउँछ । मुलुक बाहिर रहेको अवस्थामा पनि उहाँले प्रविधिको सहयोगमा वास्तविकता बताउनुपर्ने हो । तर उहाँलाई उक्त कार्य गर्न कसले रोक्यो वा किन रोक्यो भन्ने प्रश्न आफ्नै ठाउँमा छ ।

 

बहालरत सेनापतिले पत्रबारे सँस्थाको तर्फबाट लिनुपर्ने अडानमा कुनै कसर बाँकी राखेको देखिन्न । तर निवर्तमान भए पनि फूर्तिलो अवस्थाका पूर्वसेनापति नबोल्दा धेरैले अनेक आशंका गर्न भ्याएका छन् । यता मुलुक अन्यौलमा परिरहँदा उहाँ अमेरिकामा रहेर दीर्घ जीवन जिउनुको आखिर के नै सार रहन्छ र !

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय