बिहिबार , बैसाख १३, २०८१

गत वर्षको असार १५ मा दोहोरी गायक छत्र साउदसँग हिलोमा डुबुल्की मारेर भाइरल बनिन् रेस्लर अस्मिता जुरेली ।

 

धेरैले उनलाई रोपाइँका नाममा उच्छृङ्खलता देखाएको भनेर आलोचना समेत गरे । यद्यपि, उक्त घटनामा छत्रले एकाएक अस्मितालाई समातेर हिलोमा पछारेका थिए ।

 

यसपालिको रोपाइँमा पनि उनीमाथि फेरि त्यस्तै घटना भएको छ। युवा संघले आयोजना गरेको रोपाइँ कार्यक्रममा भाग लिन उनी भैंसेपाटी पुगेकी थिइन् ।

 

एमालेका महासचिव शंकर पोखरेल प्रमुख अतिथि थिए भने युवा नेता महेश बस्नेतको पनि सहभागिता थियो ।

 

रोपाइँ कार्यक्रममा रमाइरहेका बेला एक अपरिचित पुरुषले आफूलाई एक्कासि कम्मरमा समातेर हिलोमा पछारेको अस्मिताले बताइन् ।

 

‘म आफ्नै धुनमा थिएँ, एक जना चिन्दै नचिनेको व्यक्तिले बलपूर्वक समातेर हिलोमा लडाएपछि स्तब्ध भएँ,’ उनले सुनाइन् ।

 

ती व्यक्तिले आफूलाई गलत नियतका साथ हातपात गरेको अस्मिताको आरोप छ ।

 

‘म रोपाइँ उत्सवमा रमाइलो गर्न गएकी थिएँ, तर युवा संगठनकै एक व्यक्तिबाट दुर्व्यवहारको शिकार भएँ,’ उनले भनिन् ।

 

लडाए लगत्तै अस्मिताले प्रतिकारको प्रयास गरेकी थिइन् । तर, ती पुरुषले आफूलाई हात र घाँटीमा अँठ्याएको तथा कपडासमेत च्यातिदिएको उनको आरोप छ ।

 

सार्वजनिक भएको एक भिडियोमा एक बलिष्ठ पुरुषसँग अस्मिताले टकराब गरिरहेको देखिन्छ । उनले पुरुषको कपडा तानेकी छन् भने पुरुषले उनलाई बलियोसँग अँठ्याएका छन् ।

 

उनीहरुबीच घम्साघम्सी परेपछि युवासंघका अन्य व्यक्तिहरू आएर छुट्याएका थिए ।

 

सो घटना हुँदा प्रमुख अतिथि पोखरेल हिँडिसकेका थिए । महेश बस्नेत पछि थिएनन् । अभिनेत्री करिश्मा मानन्धर पनि उक्त रोपाइँमा सहभागी थिइन् । घटना हुँदा उनी पनि त्यहीँ उपस्थित रहेको जुरेलीको दाबी छ ।

 

आफूमाथि दुर्व्यवहार गर्ने व्यक्तिविरुद्ध कानुनी कारबाहीमा जान सक्ने उनले बताइन् ।

 

‘गत वर्षको घटनामा पनि मेरो केही दोष थिएन । छत्र साउदले मलाई जबरजस्ती समातेर हिलोमा लडाएका थिए । तर, बेकारमा किन विवाद गर्नु भनेर मैले उनको विरुद्धमा कतै पनि बोलिनँ । तर, यो वर्ष त चिन्दै नचिनेको मान्छेले यस्तो गरे । रोपाइँमा रमाउन गएकी म रुँदै फर्किनुपरेको छ । यो पटक चुप लागेर बस्दिनँ,’ उनले भनिन् ।

 

रोपाईंस्थल नजिकै प्रहरी चौकी रहेको छ । आफूले च्यातिएका कपडा प्रहरी चौकीमै छोडेर आएको उनले बताइन् । आफूमाथि गलत हरकत गर्ने पुरुषको नाम थाहा नभए पनि उनी युवा संघकै सदस्य भएको उनको भनाइ छ ।

 

अस्मिता जुरेली रेसलरका रूपमा परिचित छिन् । उनी एमाले कार्यकर्ता पनि हुन् । केही समयअघि सन्ध्या तिवारीको अध्यक्षतामा ‘नेकपा एमाले’ नाममा दर्ता गरिएको पार्टीकी उनी सचिव थिइन् । विगतमा उनी मोडलिङ पनि गर्थिन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय