आइतबार , बैसाख ९, २०८१

नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले स्टेट पार्टनरसीप प्रोग्राम (एसपिपी) अस्वीकार गरेर नेपालका पहाडमा अमेरिकी सेना परेड खेल्नबाट रोकिएको बताएका छन्।

 

उनले एसपिपी लागू नगर्न सरकारले अमेरिकालाई पत्राचार गर्ने निर्णय गरेकोमा नेताहरूलाई धन्यबाद पनि दिए।

 

आज ललितपुरमा आयोजित नेपालमा समाजवाद: चुनौती र सम्भावना विषयक अन्तर्क्रियामा बोल्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका खनालले एमसिसी र एसपिपी अध्ययनका लागि माग गर्दा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र तत्कालीन परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीले नदिएको बताए।

 

‘एमसिसी पारित नगरौं भनेको पारित गरे। हाम्रा कयौं नेताको हालत सुतुरमुर्गको जस्तो देखियो,’ उनले भने, ‘माफ पाउँ है कसैलाई अप्ठ्यारो पर्‍यो भने। म आफ्ना कुरा प्रष्ट राख्दछु। एमसिसीसँगै त्यही बेलामा एसपिपी आएको थियो।’

 

यही प्रसंगमा खनालले नेपालमा सेना आए चार पाटा मुडियोस् भन्नेहरू कता छन् भनेर प्रश्न गरेका थिए।

 

एमसिसी संसदमा छलफल हुँदा नेपाली कांग्रेसका महामन्त्रीसमेत रहेका सांसद गगन थापाले एमसिसी पारित गर्दा नेपालमा अमेरिकी सेना आए आफूलाई चारपाटामुडेर थानकोट कटाइयोस् भनेका थिए।

 

थापाको नाम नलिई थापाकै उक्त भनाइप्रति लक्षित गर्दै खनालले भने, ‘कतिपयले मलाई चारपाटा मुडेर काठमाडौं बाहिर निकाल्नु अमेरिकी सेना आयो भने भनेका थिए। आज ती चारपाटा मुडियोस् भन्नेहरू कहाँ छन्। यसबारे मैले संसदमा सोध्न बाँकी नै छ। एसपिपी लगायत डकुमेन्टले अमेरिकी सेना आउने देखियो कि देखिएन?’

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय