आइतबार , बैसाख २, २०८१

काठमाडौँ । मन्त्री हेरफेरको विषयले पेचिलो बन्दै गएको एकीकृत समाजवादीभित्र मोर्चाबन्दीको नयाँ कसरत सुरु भएको छ । ४ मन्त्रीसहित १० सांसदले संसदीय दलको बैठक मागेपछि तनाब झन् बढेको छ । असन्तुष्ट नेताहरुलाई थामथुम पार्न नेतृत्वले आजसम्मको समय दिएर मन्त्री हेरफेरको सिफारिस कार्यान्वयन गर्ने आश्वासन दिएको छ । तर यो कचिंगल तत्काल सहजै साम्य हुने देखिँदैन।

 

संयोग नै भन्नुपर्छ कि नेकपा एमाले फुटाउँदा अन्तिम समयमा १० जना स्थायी समिति सदस्यले माधव नेपालको साथ छाडेका थिए । अहिले कांग्रेस नेतृत्वको गठबन्धनसँगको सम्बन्धमा पनि नेपाललाई दबाब दिन १० जना सांसदले नै मोर्चाबन्दी गरेका छन्।

 

मन्त्री हेरफेरका लागि पार्टीले गरेको सिफारिस अलपत्र परिरहेकै बेला एकीकृत समाजवादीका चार मन्त्रीसहित १० सांसदले बिहीबार अध्यक्ष नेपाललाई ८ बुँदे लिखित ध्यानाकर्षणपत्र नै बुझाए । उनीहरुले पार्टीको निर्णय अनुचित र अपरिपक्व भनेका छन् । यसले उनीहरु सहजै पद छाड्ने पक्षमा छैनन् भन्ने प्रस्ट हुन्छ ।

 

एकीकृत समाजवादीले ६ महिनाका लागि पठाएका मन्त्रीको कार्यकाल गुज्रिसकेकाले नयाँ टिम पठाउने निर्णय गत जेठ २२ गते नै गरेको थियो । नयाँ मन्त्रीका लागि प्रस्तावित नामसमेत पठाउँदा पनि प्रधानमन्त्री शेरबहादुर देउवाले कार्यान्वयन नगरिदिँदा पार्टीभित्र झन् विवाद चर्किएको थियो ।

 

देउवाले गठबन्धन संस्कृतिकै अवज्ञा गरेको र अध्यक्ष नेपालले पनि निर्णय कार्यान्वयन गर्न नसकेको भनेर मन्त्रीका आकांक्षीहरुले रोष पोखिरहेका थिए । बहालवाला मन्त्रीले प्रधानमन्त्रीलाई नै प्रभावित पारी पार्टीको लक्ष्मण रेखा नाघेको उनीहरुको आरोप थियो । नभन्दै कुर्सी छाड्न नचाहेका मन्त्रीहरुले आफूसहित १० सांसदको हस्ताक्षर जुटाई मोर्चा नै कसेपछि संसदकै कान्छो दल अब एकढिक्का रहनेमै शंका उत्पन्न भएको छ ।

 

शुक्रबार दिनभर पोलिट्ब्युरो बैठकमा पनि यही विषयमा चर्काचर्की भएको थियो । पक्ष र विपक्षबाट उठेका आवाज थामथुम पार्न माधव नेपाललाई महाभारत नै आइलागेको थियो । अन्त्यमा नेपालले राष्ट्रिय सभाबाट बजेट पारित भएपछि मन्त्री हेरफेर हुने विश्वास दिलाउँदै विवाद थामथुम पारे । फर्किन नमानेका मन्त्रीले पनि पार्टीको निर्णय मान्न तयार रहेको जनाउँदै केही लचक प्रतिक्रिया दिए ।

 

तर यो विषय यत्तिकै सेलाउने भने देखिँदैन । हुन पनि माधव नेपालले एमाले फुटाउने बेला न्यूनतम संख्याका सांसद पनि जुटाउन नसकेपछि एक्लै बाहिरिनुपर्ने अवस्थासम्म बनेको थियो । उनका भरपर्दा १० स्थायी समिति सदस्यले एमालेमै बस्ने निर्णय गरेपछि नेपाल झण्डै राजनीतिबाटै पलायन हुनुपर्ने अवस्था बनेको थियो । अन्तिम समयमा बालुवाटारमा प्रधानमन्त्रीपत्नी आरजु राणा देउवाको संयोजनमा प्रेम आले र कृष्णकुमार श्रेष्ठसमेतको गोप्य बैठकले एमाले फुटाउने सफल योजना तय गरेको थियो । त्यहीबेला नै आले र श्रेष्ठलाई मन्त्री बनाउने ग्यारेन्टी गरिएको थियो । मन्त्री पाउने निश्चित भएपछि उनीहरुले २० प्रतिशत पुग्ने गरी सांसद जुटाएर चन्द्रागिरिमा पुर्‍याएका थिए ।

 

चन्द्रागिरिमा रातभरि थुनेर राखिएका सांसदहरुलाई भोलिपल्ट एकसाथ निर्वाचन आयोगमा लाइन लगाएर सनाखत गर्न लगाएपछि बल्ल एमाले फुटाउने योजना सफल भएको थियो । यसरी मन्त्री बन्नकै लागि एमाले छाडेर नयाँ पार्टीमा गएका नेताहरु माधव नेपाललाई किन टेर्थे र ?

 

 

 

 

अहिले उल्टै माधव नेपाललाई अल्पमतमा पारिदिने गरी मोर्चा कस्न थालेका छन् । यी गतिविधि हेर्दा आउँदो चुनावसम्म धेरै नेता एमालेमै फर्किने र माधव नेपाल सन्यास आश्रमतिर लाग्ने वातावरण बन्दै छ भन्दा अत्युक्ति हुन्न ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय