काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले आफ्नो पार्टी छोटो समयमा नै लोकप्रिय भएको दाबी गरेका छन् । आइतबार पार्टीनिकट महिला संघको कार्यक्रममा नेपालले पार्टीलाई अवमूल्यन र अपमान गरेपनि गठबन्धनलाई निरन्तरता दिने पक्षमा आफूहरू रहेको बताए ।
‘केही समस्या भए छलफल गरेर अघि बढ्छौँ । अहिलेको उपलब्धी सानो ठान्न हुँदैन’, उनको भनाइ थियो । स्थानीय निर्वाचनमा मतपत्रमा कमजोरी हुँदा अधिकांश स्थानमा पार्टीले हार व्यहोर्नुपरेको नेपालले जिकिर गरे । निर्वाचनमा महिलालाई उम्मेदवार बनाउँदा कतिपय ठाउँमा विद्रोह नै गर्नुपरेको उनले खुलाए ।
एमालेभित्र व्यक्तिको मूल्यांकनमा बेवास्ता भएपछि विद्रोह गर्नुपरेको भन्दै नेपालले भने, ‘केपी ओलीको व्यक्तिवादी प्रवृत्तिविरुद्ध विद्रोह गर्न निकै गार्हो भएको थियो । विद्रोह गर्ने बेलामा केही अनुकूलता सिर्जना भएकाले सफल भइयो ।’
एमाले र माओवादी मिल्दा पार्टीमा वैचारिक मतभेद नभएपनि त्यसपछि भने ओली दक्षिणवादी भाँसमा भासिन थालेको नेपालले टिप्पणी गरे ।
यो पनि पढ्नुहोस
अचेल तपाईँहरू कहाँ हुनुहुन्छ ?
माइतीघरमा पलेँटी कसेर बसेर ‘हामी यहाँ छौँ’ भनेर सरकार गठनको प्रक्रिया सुरु गरेका नेपाल, प्रचण्डहरू अहिले सिंहदरबारमा छन् । दैनिक बालुवाटारमा बैठक बस्छन् । कसको भागबन्डा कहाँ पुगेन, कसलाई कुन पद नपाउँदा अन्याय भयो भन्ने बाहेक जनताको सास्तीमाथि कहिले बैठकमा छलफल भयो ? कसलाई कहाँ नियुक्ति दिने, लाभको पदमा कसलाई राख्ने भन्ने बाहेक बालुवाटारको बैठकले महँगी घटाउने उपाय खोज्यो ?
माइतीघरको सडकमा पसारिएर ‘हामी यहाँ छौँ’ भन्दै सरकार गठनको प्रक्रिया सुरु गरेर सिंह दरबार छिरेकाहरूले फेरि माइतीघरमा आएर जनताको दुःख, कष्ट सुन्ने यत्न गरे ? कहिले जनताको माझमा पुगेर उनीहरूसित संवादको प्रयत्न गरे ? महँगीमाथि कहिल्यै अर्थपूर्ण छलफल गरे ?
फेरि उनीहरू माइतीघरमा आएर ‘हामी यहाँ छौँ’ भन्नका लागि के नयाँ सरकार गठनकै प्रक्रिया सुरु हुनुपर्ने हो ? यस वेला उनीहरूलाई आम नागरिक एकै प्रश्न सोधिरहेका छन्, ‘तपाईँहरू कहाँ हुनुहुन्छ ?’ जवाफ दिनु पर्छ कि पर्दैन ?