काठमाडौँ,१२ असार । नेकपा एमालेका सचिव एवं सांसद योगेश भट्टराईले नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाललाई सन्न्यास लिएर बस्न सुझाव दिएका छन् ।

 

आइतबार प्रतिनिधिसभाको बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै सांसद भट्टराईले अध्यक्ष नेपाल राजनीति र जीवन दुवैको उत्तरार्द्धमा रहेकाले सन्न्यास लिएर बस्न सुझाव दिएका हुन् । केही दिनअघि अध्यक्ष नेपालले आफूहरूलाई ‘१० भाइ एमालेका दास हौ; तिमीहरूले हाम्रो खैरो खन्छौ’ भन्ने भाषण गरेकोप्रति सांसद भट्टराईले माधव नेपालजत्तिको शीर्ष नेताले सम्हालिएर बोल्नुपर्ने बताए ।

 

उनले समाजवादीका अध्यक्ष नेपाल राजनीतिबाट नै अवकाश लिने बेलामा अर्को पार्टी बनाउँछु भन्दै धुलो उडाउनुको तुक नरहेको पनि स्पष्ट पारे । सांसद भट्टराईले आफूले गरेका गल्तीहरूलाई आत्मसात् गर्दै नयाँ पुस्तालाई राजनीति, पार्टी, मुलुक सुम्पिएर आफू आनन्दले बस्न सुझाव दिए । भट्टराईले मुख छाड्दै हिँड्ने हो भने आफूलाई पनि त्योभन्दा धेरै मुख छाड्न आउने बताए ।

 

सांसद भट्टराईले भने, ‘माधव नेपालजस्तो शीर्ष नेता‚ त्यो ढंगले बोल्ने कुरा मलाई त्यति ठिक लाग्दैन । उहाँ सम्हालिनु पर्छ । अर्को कुरा उहाँ जीवनको उत्तरार्द्धमा हुनुहुन्छ; राजनीतिको पनि उत्तरार्द्धमा हुनुहुन्छ । उहाँका बारेमा धेरै टिप्पणी किन गर्नु ? उहाँको आगामी अवकाशको जीवन राम्रो बितोस् ।’

 

अवकाश लिने बेलामा अर्को पार्टी बनाउने भन्दै धुलो उडाउँदै हिँडेको बताए । ‘असम्भव कुरामा दौडिने नभई आफ्ना गल्तीहरूलाई रिलाइजेसन गरेर अब नयाँ पुस्तालाई राजनीति सुम्पिएर आफू आनन्दले बस्ने; सन्न्यासी मान्छेले मुख छाड्दै हिँड्दैनन् । अब माधव नेपाल पनि सन्न्यासी भएर बस्ने हो; मुख छाड्दै हिँड्ने होइन ।’

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय