काठमाडौं- सहरी विकासमन्त्री रामकुमारी झाँक्री मन्त्रालयबाट बिदा हुन लाग्दा रोएकी छन् ।
मन्त्रालयमा आइतबार बेलुकी आयोजित पत्रकार सम्मेलन सुरुवातमै उनी रोएकी हुन् । उनी कार्यक्रम सुरु हुँदै गर्दा मन्त्री झाँक्री आफूले वाचन गर्ने पत्र हेर्दै टिस्यु पेपरले आँसु पुछेकी हुन् ।
पत्रकार सम्मेलनमा मन्त्री झाँक्री अत्यन्तै भावुक बनिन् ।उनले पत्रकारसँग खुलेर बोल्न समेत सकिनन् ।
मन्त्रालयमा आयोजित कार्यक्रममा कर्मचारीले मन्त्रालयको प्रगति विवरण सुनाएका थिए । उनीहरुले ‘फेरि भेटौंला’ भन्दै मन्त्री झाँक्रीको विदाइ गरेका थिए ।झाँक्री सुरुदेखि भावविव्वहल थिइन् ।
पत्रकार सम्मेलनमा झाँक्री पटक–पटक भावुक भएकी थिइन्। उनले आँशु रोक्न प्रयास गरिरहेकी उनी असफल भएकी थिइन्। भावुक भएका कारण आफूलाई बोल्न कठिनाइ पर्ने भन्दै उनले वातावरणलाई अलि रमाइलो बनाउने प्रयास गरेकी थिइन्।
त्यसै क्रममा उनले भनिन्, ‘त्यो सोसल मिडियामा आएको घर फिनिसिङ सकिदिऊँ न।’ केही अघि मन्त्री झाँक्रीको घर भन्दै एउटा फोटो सार्वजनिक भएको थियो।
आफूलाई मायाको चिनो दिनेहरुसँग पनि उनी ठट्टा गरिरहेकी थिइन्। वातावरण केही सहज भएपछि बोल्ने पालो लिएकी उनी सम्बोधन गर्दैगर्दा फेरि भावुक भएकी थिइन्। उनले लामो सम्बोधन गर्न पनि सकिनन्।
‘यो जिम्मेवारी दिनुहुने मेरो पार्टी, प्रधानमन्त्री र मन्त्रिपरिषद्को समग्र टिम, सहयोग गर्ने शहरी विकास मन्त्रालयका सचिव लगायतका समग्र टिमप्रति धन्यवाद दिन चाहन्छु’, पत्रकार सम्मेलनमा उनले भनिन्, ‘काम गर्दै जाउँला।’
पत्रकारका प्रश्नको उत्तर दिने बेलामा पनि उनी आँशु झारिरहेकी थिइन्। झाँक्रीले २०७८ असोज २२ गते मन्त्री पदको शपथ लिएकी थिइन्।