शुक्रबार , चैत्र १६, २०८०

नेपाली राष्ट्रिय क्रिकेट सदस्य सन्दीप लामिछानेको अमेरिका भिसा समस्या सल्टिएको छ।

मंगलबार विहान सन्दीपलाई भिसा दिन अस्विकार गरेको काठमाडौंस्थित अमेरिकी दुताबासले दिउसो पुनः बोलाएर उनको पासपोर्ट र डकुमेन्टहरु राखेको थियो।

‘भिसा समस्या समाधान भएको छ। दुई दिनपछि भिसा लगाउने हो। अहिलेलाई पासपोर्ट र डकुमेन्ट दुताबासले नै राखेको छ,’ नेपाली राष्ट्रिय टोली तथा सन्दीपका व्यवस्थापक रमण सिबाकोटीले भने।

विश्वकै सबभन्दा ठूलो र आकर्षक भारतको इन्डियन प्रिमियर लिग (आइपिएल) मा दुई सिजन लगातार खेल्नुका साथै क्यारेबियन प्रिमियर लिग (सिपिएल), अस्ट्रेलियाको बिग बास, बंगलादेशको बिपिएल र क्यानाडाको ग्लोबल ट्वान्टी–२० लगायत शंसारका सबै ठूला प्रतियोगिताको हिस्सा बनिसकेका सन्दीपलाई मंगलबार नेपालस्थित अमेरिकी दुताबासले भिसा दिन अस्विकार गरेको थियो।

सन्दीप क्यानडामा सम्पन्न ग्लोबल ट्वान्टी–२० क्रिकेट प्रतियोगिता सकेर आइतबारमात्र नेपाल फर्किएका थिए। लगत्तै सिपिएल खेल्न क्यारेबियन टापुहरुका साथै अमेरिकाको समेत भ्रमण गर्नुपर्ने भएकाले उनले अमेरिकाको भिसा आवेदन दिएका थिए। यसपाली क्यारेबियन प्रिमियर लिगका केही खेल अमेरिकामा हुन्छ।

तर अमेरिकाले उनलाई भिसा दिन अस्विकार गरेको थियो। यसअघि पनि विभिन्न खेलमा थुप्रै नेपाली खेलाडीहरुको भिसा आवेदन अमेरिका, अस्ट्रेलिया, दक्षिण कोरिया, जापान तथा युरोपका विभिन्न देशहरुले अस्विकार गरेका थिए।

सन्दीपले विहान ट्विटमार्फत् आफूलाई अमेरिकी राजदूतावासबाट भिसा दिन अस्वीकार गरिएको जानकारी दिएका थिए।

‘राष्ट्रिय क्रिकेट खेलाडीको रूपमा मैले सन् २०१६ यता विश्वका विभिन्न लिगमा देशको प्रतिनिधित्व गर्दै आएको छु। भिसा अस्वीकृत भएकोमा म एददमै अचम्मित भएको छु,’ सन्दीपले लेखेका थिए।

उनले परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली, परराष्ट्र मन्त्रालय, हेल्लो सरकार, सिपिएललगायतलाई मेन्सन गर्दै ट्विट गरेका छन्, ‘यो सब देखेर म हासिँरहेको थिएँ। शब्दविहीन भएँ। आवश्यक सम्पूर्ण कागजात हुँदाहुँदै पनि अस्वीकृत हुनु अचम्म छ,’ उनले लेखेका छन्, ‘एक खेलाडीको रूपमा सिपिएलमा सहभागी हुन अब कठिन बन्दैछ।
हेल्लो सरकारले सन्दीपको ट्विटमा जवाफ फर्काउँदै लेखेको थियो, ‘तपाईको गुनासो हेल्लो सरकारमा दर्ता गरी सम्बन्धित निकायमा पठाइएको छ। धन्यवाद’

गत सिजन सेन्ट किट्स एण्ड नेभिस प्याट्रियोट्सबाट खेलेका सन्दीप लामिछानेले ५ खेलमा ७ विकेट लिएका थिए। यो सिजनका लागि सन्दीप बार्बाडोस ट्रिडेन्ट्ससँग अनुबन्ध भएका छन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय