
काठमाडौं ।
राजनीतिमा निराशाका बीच आशाको किरण बनेर उदाएका काठमाडौं महानगरपालिकाका मेयर बालेन साहलाई असफल बनाउन सिंगो बागमती सरकार हात धोएरै लागेको छ ।
वागमती प्रदेश सरकारले कुनै पनि हालतमा बञ्चरेडाँडामा काठमाडौंको फोहोर फाल्न नदिने बताएको हो ।
अहिले काठमाडौंको फोहोरको विषयलाई लिएर बागमती प्रदेश सरकार र काठमाडौं महानगरपालिकाबिच ‘टसल’ को अवस्था देखिएको छ ।
हिजो बाग्मती प्रदेशले आयोजना गरेको अभिमुखीकरण कार्यक्रमपछि महानगरपालिका र प्रदेश सरकारबीच तनाव सुरु भएको हो ।
प्रदेश सरकारका अर्थमन्त्रीले काठमाडौंको फोहोर अरू पालिकामा फाल्न नपाउने बताएपछि असन्तुष्ट भएर मेयर साह कार्यक्रम नै छोडेर हिँडेका थिए ।
उनले अभिमुखीकरण कार्यक्रममा काठमाडौं महानगरलाई गाली मात्रै गरिएको आरोप लगाएका छन् ।
दुई दिने अभिमुखीकरण कार्यक्रम आज समापन भएको छ । उद्घाटनको दिन कार्यक्रम छोडेर हिँडेका काठमाडौंका मेयर र उपमेयर दोस्रो दिन सहभागी भएनन् ।
यो प्रदेशका आर्थिक माामिला तथा योजना मन्त्री सालिकराम जमकट्टेलले काठमाडौंको फोहोरको भार अरू पालिकाले बोक्न नसक्ने जिकिर गरेका छन् ।
काठमाडौंका मेयर बालेन्द्र साह र उपमेयर सुनिता डंगोलकै सामुन्ने जमकट्टेलले यस्तो बताएका हुन् ।
जनप्रतिनिधिहरूलाई अभिमुखीकरण गर्ने कार्यक्रममा अर्थमन्त्री जमकट्टेल भने काठमाडौं महानगरमाथि खनिए ।
उनले एउटा पालिकाले अर्को पालिकालाई हस्तक्षेप गर्न नमिल्ने भन्दै काठमाडौंका मेयरले बञ्चरेडाँडामा फोहोर फ्याँक्ने विषयमा गरेको समझदारीप्रति असन्तुष्टि जनाए ।
जमकट्टेलले भने, ‘काठमाडौंवासीले गरेको फोहोरको जिम्मा धादिङ र नुवाकोटका जनताले किन लिनुपर्ने ?
यस्तो अब कदापि सैह्य हुँदैन । काठमाडौंले अब बञ्चरेडाँडामा फोहोर लैजान पाउँदैन ।’
यसैबीच, यो प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डेले आफ्नै अर्थमन्त्रीको पक्षपोषण गरेर अभिव्यक्ती दिएका छन् । उनले बालेनलाई खुइल्याएका छन् ।
उनले मेयर साहको विषयमा टिप्पणी गर्दै राजनीतिक व्यक्ति नभएकाले आलोचना सहने क्षमता नदेखिएको बताए ।
पाण्डेले भने, ‘कसैले उहाँको विरोध गर्नै नपाउने, आलोचना गर्नै नपाउने भन्ने हुँदैन । त्यस्तो भयो भने त अर्को तानाशाही जन्मिहाल्छ नि ।
उहाँ त्यो बाटोमा जानु भएन । आलोचना सुन्न सक्ने क्षमता विकास गर्नुपर्छ ।’
अहिले देश नै बालेन्द्रमय भएको र उनको विषयमा केही बोल्नै नहुने माहोल बनाइएको भन्दै पाण्डेले चिन्ता व्यक्त गरे । ‘उहाँलाई जनताले निर्वाचित गरेर मेयर बनाएका हुन् ।
केशव स्थापित र सिर्जना सिंहभन्दा केही बढी भोट ल्याएर उहाँले जित्नुभएको हो । त्यसैले आफूलाई सर्वोपरि ठान्नु हुँदैन,’ उनले भने ।
मेयर साहले आफ्नो घरमै आएर फोहोर व्यवस्थापनका बारेमा छलफल गरेको पनि पाण्डेले सुनाए ।
पाण्डेका अनुसार साहले सेना परिचालन गरेर भए पनि काठमाडौंको फोहोर व्यवस्थापन गर्नुपर्ने प्रस्ताव गरेका थिए ।
‘त्यसमा मैले सहमति जनाइनँ,’ उनले भने, ‘जनतामाथि सेना प्रयोग गर्न मिल्दैन र तपाईँ यस्तो बाटोमा नलाग्नुस् भनेर सुझाव दिएको हुँ ।’