
काठमाडौं:
नेपालको निजामती प्रशासन उच्च तहका कर्मचारी र तल्लो तहका कर्मचारीबीच रहेको विभेद हटाउन एकीकृत सरकारी कर्मचारी संगठन, नेपालले माग गरेको छ ।
उच्च कर्मचारीलाई महंगो गाडी सुविधा दिने तर, तल्लो तहका कर्मचारीलाई भने परिवहन खर्च समेत तलबबाट खर्च गर्नुपर्ने अवस्था छ ।
यस्तो अवस्थामा गाडी सुविधा नपाउने कर्मचारीलाई परिवन भत्ता दिन माग गरिएको छ ।
सोमबार अर्थमन्त्री जनार्दन शर्मालाई भेटेर संगठनका पदाधिकारीहरुले यस्तो माग गरेका छन् ।
आगामी बजेटमा कर्मचारीका सेवा सुविधा बढाउन माग गरिएको संगठनका अध्यक्ष मोहन कुमार घिमिरेले बताए ।
संगठनले कर्मचारीको आधारभुत तलब ३० हजार बनाउन माग गरेको छ । अस्थायी, करार र ज्यालादारी कर्मचारीलाई सामाजिक सुरक्षा कोषमा आबद्ध गराउन पनि माग गरिएको छ ।
पर्यटन काज सुविधा, स्थानीय भत्ताको बृद्धि, अवकाश हुँदा सुविधाको रकममा कर नलाग्ने व्यवस्था, कार्यसम्पादनमा आधारीत भत्ता प्रणाली लागू गर्न माग गरेको छ ।
त्यस्तै सरकारी सेवामा कार्यरत अस्थायी र करारका कर्मचारीलाई एकपटकका लागि उमेरहद नलाग्ने गरी स्थायी गर्न पनि माग गरिएको छ ।
निजामती सेवा अस्पतालको सेवा सबै तहका कर्मचारीले समान रुपमा पाउने व्यवस्था गर्न पनि भनिएको छ ।
सरकारी कर्मचारीहरुले संजय कोषबाट उपलब्ध गराइँदै आएको घर सापटीको ब्याज राष्ट्र बैंक र संजय कोषका कर्मचारी सरह कायम गर्न समेत भनिएको छ ।
कर्मचारीलाई आफ्नो जिम्मेवारीप्रति उत्प्रेरित गर्ने गरी उनीहरुको जीवनयापनका लागि पुग्ने सेवा सुविधा दिलाउन अर्थमन्त्रीसँग माग गरिएको संगठनका अध्यक्ष घिमिरेले बताए ।