शनिबार , बैसाख ८, २०८१

काठमाडौं ।

काठमाडौं महानगरपालिकाको मेयरका प्रत्यासी बालेन्द्र साह (बालेन) कलाकार पनि हुन् । चुनावअघि उनी फिल्म प्रचारमा पनि सहभागी रहे ।

सोमबार उनै बालेन राष्ट्रिय सभागृहको मतगणना स्थलबाट समय निकालेर फिल्म ‘चिसो मान्छे’को ट्रेलर सार्वजनिक कार्यक्रममा पुगे ।

जहाँ उनले फिल्मलाई शुभकामना समेत दिए । नेपाली कलालाई अन्तर्राष्ट्रियकरण गर्नुपर्ने बताउँदै बालेनले विदेशमा समेत प्रतिस्पर्धा गर्न सक्ने क्राफ्ट निर्माण गर्नुपर्ने बताए ।

फिल्मका दुई मुख्य कलाकार स्वस्तिमा खड्का र अर्पण थापाको उनले प्रशंसा गरे ।

‘हामी पहिल्यैदेखि नै अर्पण दाइका फिल्म हेरेर यहाँसम्म आइपुगेका हौं । उहाँका सबै फिल्म राम्रो लाग्छ । स्वस्तिमाको अभिनयको पनि म प्रशंसक हुँ,’ बालेनले त्यस अवसरमा भने ।

ठूलो मतान्तरले निकटतम प्रतिस्पर्धीलाई चुनावी मतगणनामा पछि पारेका बालेनसामु कार्यक्रममा चलचित्र विकास बोर्डका अध्यक्ष दयाराम दाहालले केही माग प्रस्तुत गरे ।

यदि बालेन मेयर निर्वाचित भएमा दाहालले नेपाली फिल्मलाई लगाउँदै आएको ५ प्रतिशत स्थानीय कर मिनाहा गर्न आग्रह गरे ।

अनलाइनखबरसँग कुरा गर्दै बालेनले कोरोना प्रभावित नेपाली फिल्म क्षेत्रलाई राहत दिन आफू मेयर भए महानगरले एक वर्षसम्मका लागि २ प्रतिशत कर मिनाहा गर्ने बताए ।

‘हाम्रो घोषणापत्रमै फिल्मसहित कला संस्कृतिलाई सम्वर्द्धन गर्नुपर्छ भन्ने उल्लेख छ । हामीले जितेमा त्यो प्रक्रिया अघि बढ्छ,’ बालेनले भने, ‘बोर्डको मागप्रति हामी गम्भीर पनि छौं ।’

असार ३ गते रिलिज हुने फिल्म ‘चिसो मान्छे’लाई दीपेन्द्र के खनालले निर्देशन गरेका हुन् ।

निर्मात्री शर्मिला पाण्डे चुनावअघिदेखि नै बालेनको पक्षमा खुलेर निर्वाचन अभियान चलाइरहेकी थिइन् ।

निर्देशक खनालले पनि बालेनको पक्षमा भोट मागेका थिए । सोमबार फिल्मको ट्रेलर सार्वजनिक गरिएको छ ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय