भरतपुर:
भरतपुर महानगरपालिकाको ६ वटा वडाको मतगणना सकिएको छ । भरतपुरको मेयरका लागि २७ उम्मेदवार भएपनि मुख्य प्रतिस्पर्धा माओवादी केन्द्रकी रेनु दाहाल र एमालेका विजय सुवेदीबीच छ ।
नेपाली कांग्रेसबाट बागी उम्मेदवार जगन्नाथ पौडेलले पाउने मतले पनि रेनु वा विजय को मेयर बन्छ भन्ने एक हदसम्म निर्धारण गर्छ ।
पौडेलले काट्ने मतले भरतपुर महानगरको बागडोर सम्हाल्न सहज हुने एमालेको बुझाइ थियो । ७ नम्बर वडाको गणना चलिरहँदा एमाले दबावमा पर्न थालेको छ ।
किनकी पौडेलले अपेक्षा गरेअनुसार कांग्रेसको मत काटेका छैनन् भने एमालेबाटै केही मत माओवादी केन्द्रकी उम्मेदवार रेनु दाहालले पाएकी छन् ।
वडा नं। ४ को गणनासम्म पौडेलले गठबन्धनको मत काटेकै कारण रेनु र विजयको मतान्तर उति ठूलो थिएन । अग्रता पनि कम थियो ।
वडा नं। १ को मतगणना सकेर २ को सुरु गर्दा रेनुले कायम गरेको १२१ मतको अग्रता वडा नं। २ बाट ३ मा जाँदा निकै कम भएको थियो ।
वडा नं। ३ बाट ४ मा जाँदा विजयले रेनुलाई उछिन्दै ५० मतको अग्रता लिएका थिए । एमाले नेताहरुका अनुसार यो अग्रता अपेक्षाभन्दा कम हो ।
यद्यपि २०७४ को चुनावमा कांग्रेस समर्थक तथा सुभेच्छुकबाट एमाले उम्मेदवार देवी ज्ञवालीले पाएको मत यो पटक पौडेलतिर गएको भनेर चिक्त बुझाए ।
तर एमालेलाई टाउको दुखाई भने एमालेबाटै रेनुलाई गएको मत थियो ।
वडा नं। २ मा केही मतहरु मेयरमा रेनुलाई र बाँकी पदमा एमाले उम्मेवारलाई गएको देखियो ।
यो क्रम छिटफुट होला भन्ने ठानेका एमालेका नेताहरु वडा नं। ५ मा पुगेपछि भने झस्किएका छन् । किनकी अरु पदमा एमालेलाई भोट दिएकाहरुले मेयरमा रेनुलाई मत दिएको धेरै भेटिएको छ ।
त्यसकै बलमा रेनुले अग्रता बढाएकी छन् । गतगणना स्थलमा रहेका एमाले नेताहरुका अनुसार अहिले गणना भइरहेका वडाहरु कांग्रेसको बलियो पकड भएको क्षेत्र मानिन्छ र, त्यहाँबाट कांग्रेसको मत रेनुले राम्ररी पाएको देखिन्छ ।
वडा नं। ४ मा बागी उम्मेदवार पौडेलले कांग्रेसको मत आफूतिर जति तानेका थिए, ५, ६ र ७ मा त्यति तान्न सकेको देखिएन ।
त्यस्तै वडाका एमालेका उम्मेदवारले पाएको मत विगतभन्दा बढेको देखिन्छ तर, वडाध्यक्षका उम्मेदवारले पाएको मत मेयरका उम्मेदवार विजयले पाएका छैनन् ।
वडा नं। १, २, ३ मा पनि यस्तो देखिएको थियो । जस्तो, भरतपुर महानगरको वडा नम्बर १ को वडाध्यक्षमा एमाले उम्मेदवारले १३१३ मत पाउँदा मेयरमा सुवेदीले १०८७ मत पाएका छन् ।
वडा नम्बर २ मा वडाध्यक्षका उम्मेदवारले २०५८ मत पाउँदा मेयर पदमा सुवेदीले १८२८ मत पाएका छन् ।
२०७४ मा एमालेले जितेकामध्ये वडा नम्बर २, ४ र ५ को नेतृत्व यो गुमाएको छ भने कांग्रेसको गढ मानिएको भरतपुर ३ मा भने एमालेले वडाध्यक्ष जितेको छ ।