
काठमाडौं–
काठमाडौं महानगरपालिकामा स्वतन्त्र उम्मेदवारी दिएका बालेन शाहले अग्रता कायमै राखेका छन् ।
३ हजार २ सय ५९ मत गणना हुँदा बालेनले १०५३ मत ल्याएका छन् ।
यस्तै, नेकपा एमालेका उम्मेदवार केशव स्थापितले ८३८ मत ल्याएका छन् भने नेपाली कांग्रेसकी उम्मेदवार सिर्जना सिंहले ६३६ मत ल्याएकी छन् ।
मेयरमा स्वतन्त्र उम्मेदवार शाहले मतान्तर बढाइरहेका छन् । के यसैगरी अग्रता जोगाइराख्लान् बालेनले ?
स्वतन्त्रबाट काठमाडौं महानगरपालिकामा उम्मेद्वारी दिएसँगै बालेन्द्र शाह (बालेन) एकाएक चर्चामा आए ।
पेसाले इञ्जिनियर रहेको शाहमाथि सहानुभूति ओइरियो काठमाडौंवासीको । उनले चुनाव चिन्ह पाए । लौरो ।
बालेनले चुनाव चिन्ह पाएसँगै सामाजिक सञ्जालमा ट्रोल बन्यो ‘बुढाबुढीलाई टेकाउन मिल्ने–भ्रष्टाचारीलाई सेकाउन मिल्ने ।
यो भाइरल पनि बन्यो । र, बालेनलाई युवाहरुले साथ पनि दिए । काठमाडौंका मतदाता मात्रै हैन उनको चुनावी प्रचारमा अन्य जिल्लाका समर्थक पनि साथमा रहे ।
उनी इन्जिनियर मात्रै हैनन् । एक सफल गायक पनि हुन् । त्यसैले पनि उनको समर्थनमा कलाकारहरु पनि खुलेरै उत्रिए ।
काठमाडौंका चोकहरुमा उनका गीत बजाउँदै युवायुवती नाच्दै मतको आव्हान गरिरहेको दृष्य राजधानीवासी धेरैले देखे ।
उसो त, उम्मेदवारी दर्ता गराउने समयमा पनि बालेन क्रेजले छपक्कै छोपेको थियो ।
प्रमुख दलहरुबाट उम्मेदवारी दिएका उम्मेदवारको रौनक र तामझाप त सामान्य नै मानिन्छ । मान्नुपर्छ ।
तर, उनी बल्लतल्ल प्रस्तावक र समर्थक जुटाएर उम्मेदवारी दर्ता गराउन गएका स्वतन्त्र व्यक्ति थिए । उनको साथमा न संगठन थियो ।
न समर्थक । तर, पनि उनको साथलाई धेरै युवाहरुले हो मा हैसे गरे । र, त बालेन्द्र शाह खास बालेन्द्र बने । बालेन बने । अनि देशभर उनी चिनिए ।