
काठमाडौँ –
सरकारमा रहेका दुई दल नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादी विपक्षीसँगै सत्ता साझेदार दलहरुबाटै आलोचनाको शिकार हुन बाध्य भएका छन् ।
प्रमुख विपक्षी एमालेले विरोधको धर्म निर्वाह गरे पनि सत्ता साझेदारबाटै कटाक्ष भोग्नुपर्ने नियती माओवादी र नेकपा एसले भोगिरहनु परेको हो ।
यी दुवै दलले सत्ता गठबन्धनलाई आगामी चुनावसम्मै लैजाने प्रयास गरिरहेका छन् । तर सरकारको नेतृत्व गरिरहेको दल नेपाली कांग्रेस त्यसका लागि तयार छैन ।
विपक्षी एमालेले त अब यी दुवै दल समाप्त हुने घोषणा नै गरेको छ । एमाले अध्यक्ष केपी शर्मा ओलीले माओवादी केन्द्र केही दिनमा सकिने र नेकपा एस त दल नै बन्न नसकेको बताउनुभयो ।
गृहजिल्ला झापामा आयोजित कार्यक्रममा ओलीले २०५६ सालमा नै आफूले माओवादी सकिन्छ भनेर घोषणा गरको उल्लेख गर्दै त्यो दिन अब आइसकेको बताउनुभयो ।
माओवादी केन्द्रका अध्यक्षप्रति कटाक्ष गर्दै ओलीले प्रचण्डले चिनामै सिद्धिने ग्रह बोकेर ल्याएको बताउनुभयो । विपक्षीले आलोचना गर्ने खासै नौलो कुरा हैन ।
तर अहिले त सत्ता साझेदार दलबाटै नेकपा एस र माओवादीप्रति तीव्र कटाक्ष भइरहेको छ । नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले
चुनावमा कांग्रेस एक्लै लड्ने रोडम्याप तयार रहेको भन्दै कांग्रेसरुपी हात्तीको ठूलो कान देखेर केही चमेराहरु ओत लाग्न खोजिरहेको टिप्पणी गर्नुभयो ।
माओवादी केन्द्र र नेकपा एसले चुनावमा गठबन्धन गर्न दबाब दिइरहेकोप्रति कटाक्ष गर्दै गुरुङले कांग्रेसरुपी हात्तीको कानमा ओत लाग्न
खोज्नेहरुबाट कांग्रेसलाई केही फाइदा नहुने बताउनुभयो । तर जति आलोचना भए पनि आगामी चुनावमा एक्ला एक्लै प्रतिस्पर्धा गर्न माओवादी र नेकपा एस तयार छैनन् ।
उनीहरुलाई कांग्रेसको वैशाखी चाहिएको एमालेले बताउँदै आएको छ । एमसीसी पास गरेर गठबन्धन जोगाउन सकेको र आगामी
चुनावसम्म अब मिलेरै जान सकिने परिस्थिति निर्माण भएकोमा प्रचण्ड बरु ढुक्क सुनिनुहुन्छ । तर विपक्षी एमालेले भने गठबन्धन कायमै
राख्न नसकिए चुनाव पर धकेल्नेसम्मका षड्यन्त्रहरु भइरहेको दाबी गरेको छ । एमाले उपाध्यक्ष सुवास नेम्वाङले केही दलका नेताहरु चुनावबाट भागिरहेको आरोप लगाउनुभयो ।
७४ सालमा भएको आम निर्वाचनमा माओवादी केन्द्र र एमालेबीच गठबन्धन भएको थियो । कम्युनिष्टहरु मिलेर चुनावमा गएपछि कांग्रेसले पराजय भोगेको थियो ।
तर जनताबाट प्राप्त बहुमत जोगाउन नसक्दा कम्युनिष्टहरु अहिले छिन्नभिन्न भएका छन् ।