काठमाडौं–

प्रमुख प्रतिपक्ष नेकपा एमालेले आफूहरुले अगाडि सारेका दुईमध्ये एउटा माग पूरा भएमात्रै अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेञ्ज

कर्पोरेशन (एमसीसी)सँगको सम्झौता संसद्‌बाट अनुमोदन गराउनका लागि संसदीय प्रक्रियामा सहभागी हुन सकिने अडान राखेको छ।

आफूहरुले कारबाही गरेका १४ सांसद्लाई कारबाही गरिएको सूचना टाँस वा सभामुख अग्नि सापकोटाले राजीनामा दिनुपर्ने सर्त एमालेले अगाडि सारेको हो।

एमसीसी अनुमोदनका लागि सहयोग गर्नुपर्ने प्रस्तावसहित शुक्रबार साँझ अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोट पुगेका प्रधानमन्त्री

शेरबहादुर देउवासहितका कांग्रेस नेताहरुलाई दुईमध्ये एउटा माग पूरा गरिए मात्रै संसदीय प्रक्रियामा सहभागी हुन सकिने जवाफ

आफूहरुले दिएको एमाले उपमहासचिव प्रदीप ज्ञवालीले जानकारी दिए। सत्तारुढ गठबन्धनका दलहरुबाट एमसीसी पारित गर्न सहयोग

प्राप्त हुन नदेखिएपछि देउवाले एमालेसँग छलफल अगाडि बढाएका हुन्। प्रधानमन्त्री देउवा तथा एमाले अध्यक्ष ओलीसहित सत्तारुढ कांग्रेस र प्रमुख

प्रतिपक्ष एमालेका नेताहरुबीच बिहीबार र शुक्रबार छलफल भएको हो। तर, छलफलमा एमालेले पुरानै अडान दोहोर्‍याएको छ।

एमाले उपमहासचिव ज्ञवालीले प्रधानमन्त्री देउवासँगको वार्तामा आफूहरुले उठाएका मागको सन्दर्भमा २ वटा विकल्पको बारेमा छलफल भएको बताए।

‘सभामुखले कि मार्ग प्रशस्त गर्नु पर्‍यो कि १४ सांसदलाई कारबाही गर्नुपर्‍यो भन्ने नै हो। आज परिणाम नै आएको छैन उहाँहरु गम्भीर हुनुहुन्छ,’

शुक्रबार ओली निवास बालकोटमा भएको वार्तापछि ज्ञवालीले भने। शुक्रबारको वार्तामा सहमति जुट्न नसके पनि वार्तालाई भने जारी राखिने ज्ञवालीको भनाइ छ। हामीलाई संसद्‌मा बस्ने

वातावरण बनाउनुस्, हामी सहभागी भएर मुलुकको समस्या समाधानका लागि तयार छौं भनेर हामीले भन्यौं,’ ज्ञवालीले भने, ‘भोलि (शुक्रबार) पनि हामी बस्छौं। छलफल गर्छौं।’

कांग्रेस सभापति समेत रहेका देउवा पार्टी उपसभापति पूर्ण बहादुर खड्का, महामन्त्री गगन थापा र पार्टी नेता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्र

बहादुर कार्कीलाई साथमा लिएर शुक्रबार बेलुकी ओलीको निजी निवास बालकोट पुगेका थिए। दिनभर सत्ता पक्षका सहयात्रीहरु नेकपा माओवादी

केन्द्र र एकिकृत समाजवादी पार्टीसँग छलफल गरेका प्रधानमन्त्री देउवा पार्टीको आन्तरिक छलफल सकिएपछि ओलीलाई भेट्न पुगेका बालकोट पुगेका थिए।

कांग्रेस नेता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री कार्कीका अनुसार बालकोटको वार्तामा प्रधानमन्त्री देउवाले अहिलेको अवस्थामा एमसीसी संसद्‌बाट

पारित गराउनुपर्ने मुख्य विषय भएकाले यसमा सहयोग गर्न आग्रह गरेका थिए। जवाफमा एमाले अध्यक्ष ओलीले भने आफूहरुलाई संसदीय प्रक्रियामा

सहभागी गराउन १४ सांसद्लाई कारबाही गरिएको सूचना सभामुखले टाँस गर्नुपर्ने नभए सभामुखले राजीनामा दिनुपर्ने अडान दोहोर्‍याएका थिए।

‘प्रधानमन्त्रीज्यूले एमसीसीलाई सबैको सहमतिमा प्रतिनिधि सभाबाट अनुमोदन गरौं भन्ने प्रस्ताव गर्नुभएको छ। प्रमुख प्रतिपक्ष दलको नेता केपी शर्मा ओलीले पुरानै कुरा गर्नुभएको छ,

हामीलाई संसद्‌मा प्रवेश गर्ने वातावरण बनाउनुस्। त्यसपछि हामी निर्णय गर्छौं भन्नुभयो,’ कार्कीले भने।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय