Kathmandu, Nepal
नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले सत्तारुढ गठबन्धन जुनसुकै मितिमा पनि चुनावको सामना गर्न तयार रहेको बताएका छन् । उनले संविधानको व्यवस्थाबमोजिम नै चुनावको मिति तोक्नेबारे छलफल भइरहेको बताए ।
निजामति कर्मचारी संगठनको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै नेता नेपालले गठबन्धनको शक्तिसँग डराएका दक्षिणपन्थी शक्तिहरू भने चुनावसँग आत्तिएर भ्रम छर्न थालेका आरोप लगाए ।
‘चुनाव वैशाखमै भए पनि हामी सामना गर्न तयार छौं । जेठ वा असारमा गर्ने भए पनि सामना गर्न हामी तयार छौं । जुन चुनाव जहिले भएपनि हामी सामना गर्न तयार छौँ, हामी चुनावबाट आत्तिएका छैनौं,’ उनले भने, ‘चुनावबाट अरु आत्तिएका होलान् ।
गठबन्धन तोड्न चाहने आत्तिएका होलान्, गठबन्धनबारे भ्रम पैदा गरिरहेका होलान् । तर, हामी जनताको बीचमा जान तयार छौं ।’ शनिबार बिहान मात्रै पनि गठबन्धनको बैठक बसेको र चुनावको मितिबारे छलफल
भएको भन्दै गठबन्धनले छिट्टै चुनावको मितिबारे निर्णय लिने बताए । नेता नेपालले सत्तारुढ वाम–लोकतान्त्रिक गठबन्धन आगामी चुनावसम्मै रहने बताए । ‘अहिले बिहानमात्रै पनि कांग्रेसका सबै नेताहरूले गठबन्धन चुनावसम्म
रहन्छ, राख्नुपर्छ भनेर प्रतिबद्धता जनाउनुभयो । प्रधानमन्त्रीजीले पनि त्यही भन्नुभएको छ,’ उनले भने, ‘त्यसैले यो गठबन्धन आगामी चुनावसम्मै रहन्छ ।’ नेकपा एमालेले स्थानीय तहको निर्वाचनको मिति घोषणाका लागि आन्दोलनको तयारी सुरु गरेको छ ।
एमालेले जनवर्गीय संगठनहरुमार्फत दबाबमूलक कार्यक्रम आयोजना गर्न लागेको हो । आन्दोलनको तयारीको विषयमा छलफल गर्नका लागि एमालेले आफ्नो २२ वटा जनवर्गीय संगठनहरुको बैठक भक्तपुरमा बोलाएको छ ।
एमाले प्रचार विभागका उपप्रमुख विष्णु रिजालका अनुसार बैठकमा आन्दोलनको तयारीको विषयमा छलफल हुने छ। ‘स्थानीय तहको चुनाव ढिलो गर्न खोजेको प्रति हाम्रो आपत्ति रहेको छ ।
त्यसका लागि दबाबमूलक कार्यक्रमहरू गर्न तयारी छ । चुनाव घोषणाका लागि दबाब दिन गर्न लागिएको आन्दोलनको तयारीका लागि बैठकको आयोजना गर्न लागिएको हो,’ रिजालले भने ‘परिस्थिति हेरर कार्यकर्ता परिचालनदेखि अन्य
दबाबमूलक कार्यक्रमहरू आयोजना गर्न विषयमा छलफल हुनेछ । आन्दोलनका लागि आफ्नो पंक्तिलाई तयार गर्ने, जुम बैठकहरु आयोजना गर्ने र सरकारले तोकेको मापदण्डअनुसार साना-साना भेलाहरु गर्न सहमतिको विषयहरु रहेका छन् ।’
भक्तपुरस्थित जर्मन हस्पिटालिटी होम्समा आयोजना गर्न लागिएको बैठकमा स्वास्थ्य सुरक्षा र सरकारको तोकेको मापदण्डअनुरुप नै हुने उपप्रमुख रिजालले बताए । ‘सबै जनवर्गीय संगठनबाट एक जनाको सहभागिता रहने छ,’ रिजालले भने ।
एमालेको २२ वटा जनसंगठन समन्वयन समितिको संयोजकमा पूर्वस्वास्थ्यमन्त्री भानुभक्त ढकाल रहेका छन् । सो समितिमा जनवर्गीय संगठनका इन्चार्ज, सह-इन्चार्ज र अध्यक्ष रहने गरेका छन् ।
यसअघि कोरोनाबाट संक्रमित रहेका एमाले अध्यक्ष केपी शर्मा ओली सार्वजनिक कार्यक्रममा सहभागी भएपनि बिबादमा परेका थिए । संक्रमित रहँदै उनले रक्तदान कार्यक्रममा सहभागी भएकाहरूलाई प्रमाणपत्र प्रदान गरेका थिए ।
source: www.news.recentnepalnews.com