काठमाडौं ।
काठमाडौं उपत्यकाका ३ प्रमुख जिल्ला अधिकारीको बैठकले शनिबारदेखि
राजधानीका सबै सङ्ग्रहालय बन्द गर्ने निर्णय गरेका छन् ।
नयाँ भेरियन्टसहितको कोरोना भाइरसको सङ्क्रमण तीव्र बन्दै गएपछि उनीहरुले यस्तो निर्णय गरेका हुन् ।
बैठकले आज राति १२ बजेदेखि राजधानीका सबै सङ्ग्रहालय बन्द गर्ने निर्णय गरेको थियो ।
आजसम्म स्वास्थ्य सुरक्षाका मापदण्ड पूरा गरेर चलिरहेका सङ्ग्रहालय शनिबारदेखि बन्द गर्ने गरी
तयारी गरिएको हनुमानढोका दरबार सङ्ग्रहालयका कार्यालय प्रमुख सन्दीप खनालले बताए ।
राजधानीमा हनुमानढोका दरबार सङ्ग्रहालयका साथै मुख्यरुपमा राष्ट्रिय सङ्ग्रहालय,
मुद्रा सङ्ग्रहालय, नारायणहिटी दरबार सङ्ग्रहालय,
भक्तपुर र पाटन दरबार सङ्ग्रहालयलगायत सङ्ग्रहालय छन् ।
कोरोना बढ्दै गएपछि सरकारले भीडभाड हुने सबै कार्यालय बन्द गर्ने
क्रममा शनिबारदेखि सङ्ग्रहालय पनि बन्द गर्न लागेको हो ।
अर्को सूचना जारी नभएसम्म सङ्ग्रहालय बन्द गर्न जिल्ला प्रशासन कार्यालय काठमाडौँको विज्ञप्तिमा उल्लेख छ ।
यस्तै, नेपाल प्रहरीले कोभिडको तेस्रो भेरियन्टका क्रममा संक्रमित
भएका प्रहरीहरुको स्वास्थ्य अवस्था भने जटिल नभएको जनाएको छ ।
नेपाल प्रहरीका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक विष्णुकुमार केसीले कोभिडको तेस्रो
भेटियन्टबाट प्रहरीहरु पनि संक्रमित भएको तर स्वास्थ्य अवस्था जटिल नरहेको बताएका हुन् ।
उनले संक्रमितहरुको संख्या थपिँदै गएपनि नेपाल प्रहरीको काममा भने प्रभावित हुने अवस्था नरहेको स्पष्ट पारे ।
प्रवक्ता केसीले फ्रन्टलाइनमा खटिने प्रहरीहरूका लागि सहज ढंगले बुष्टर खोपको व्यवस्था मिलाइएको बताए ।