नेपाली राजनिती,
काठमाडौँ,
नेकपा एमालेका प्रभावशाली नेता जीवन श्रेष्ठले पनि सक्रिय राजनीतिबाट सन्न्यास लिएका छन्।
जिल्ला अधिवेधनपछि उनले नेतृत्वसँग असन्तुष्ट हुँदै सक्रिय राजनीति छाड्ने घोषणा गरेका हुन् । एमाले पूर्वी नवलपरासीको आठौं जिल्ला अधिवेशनमा अध्यक्ष पदका आकांक्षी श्रेष्ठले सर्वसम्मत रूपमा आफूलाई अध्यक्ष नबनाइएपछि निराश हुँदै सक्रिय राजनीति नै परित्याग गरेको घोषणा गरेका हुन्।
संविधान सभा सदस्यसमेत रहेका श्रेष्ठले मंगलबार साँझ सामाजिक सञ्जालमार्फत अब सक्रिय राजनीति नगर्ने जनताको सेवामा मात्र गर्ने बताएका हुन्।
‘पार्टीलाई गाह्रो, अप्ठ्यारो र विभाजनका बखत पार्टी एकता र सुढृद गर्दै ‘समृद्ध नेपाल सुखी नेपाली’को आकांक्षा पूरा गर्ने अभियानमा अविछिन्न लागिरहेको र हाल केही असहज परिस्थितिको कारण आजका मितिदेखि सक्रिय राजनीतिबाट विश्राम लिने घोषणा गर्दछु’, श्रेष्ठले लेखेका छन्।
सोमबार आयोजित एमालेको आठौं जिल्ला अधिवेशनमा नवलपुर अध्यक्षमा निवर्तमान सचिव श्रेष्ठ र निवर्तमान जिल्ला अध्यक्ष रोशनबहादुर गाहा मगरले दाबी गरेका थिए। उनीहरूबीच सहमति नभएपछि अध्यक्ष मण्डलको प्रस्तावमा मुक्तिराम पाण्डेलाई बन्दसत्रले सर्वसम्मत अध्यक्षमा चयन गरेको छ।
सक्रिय राजनितिबाट सन्न्यास घोषणा
म जीवन श्रेष्ठ २०२९ सालदेखि झापा विद्रोहबाट प्रभावित भई अनेरास्ववियु नजिक रही २०३० सालदेखि अनेरास्ववियु छैटौंमा आबद्ध रहेको र २०३२ सालबाट अनेरास्ववियुमा संगठित भई नेकपा (केर के) नेकपा माले हुँदै एमालेमा संगठित भई २०४९ साल र २०५४ सालको स्थानीय निर्वाचनमा गाविस उपाध्यक्ष ।
र २०७० सालको संविधान सभा निर्वाचनमा निर्वाचित भई संविधान घोषणासम्म भूमिका निर्वाह गरेको र नेकपा एमाले पार्टीमा गाउँ कमिटी, इलाका, क्षेत्रीय कमिटीको सदस्य र प्रमुख भूमिका निर्वाह गर्दै २०५४ सालदेखि पार्टी जिल्ला कमिटीको सदस्य, २०६३ मा उपाध्यक्ष र २०६९ सालदेखि सचिव पदको
भूमिका निर्वाह गर्दै आइरहेको र पार्टीलाइ गाह्रो,अप्ठ्यारो र विभाजनको बखत पार्टी एकता र सुढृद गर्दै ‘समृद्ध नेपाल सुखी नेपाली’को आंकाक्षा पूरा गर्ने अभियानमा अविछिन्न लागिरहेको र हाल केही असहज परिस्थितिको कारण आजका (२०७८÷०९÷२७) मितिदेखि सक्रिय राजनीतिबाट विश्राम लिने घोषणा गर्दछु।
मेरो ४२ वर्षको राजनीतिक सक्रिय जीवनयात्रामा मलाई साथ सहयोग गर्नुहुने सम्पूर्ण जन, नेकपा एमाले पार्टी र राजनितिको शिक्षा–दीक्षा दिनुहुने नेतागण र साथ सहयोग दिनुहुने पार्टी कार्यकर्ता र हरेक मोर्चा, आन्दोलनमा ऐक्यबद्धता प्रकट गर्नुहुने तथा मतदान गर्नुहुने सम्पूर्ण जनसमुदायमा हार्दिक आभार प्रकट गर्दै धन्यवाद दिन चाहन्छु। यस उप्रान्त जनताको प्रतिनिधि र सेवकको रूपमा सदैव सेवारत रहने प्रतिबद्धता समेत जाहेर गर्दछु। जना अावाजबाट ।