बिहिबार , चैत्र १५, २०८०

नेपाली राजनिती,

काठमाडौँ ।

नेकपा माओवादी केन्द्रको जारी महाधिवेशन अन्तर्गतको बन्दसत्रमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले राजनीति प्रतिवेदन पेस गरेका छन् ।

उनले पेस गरेको प्रतिवेदन माथि समूहगत छलफल हुँदै छ। त्यसका लागि विभिन्न समूह बनाइएको छ । प्रतिवेदनमा प्रचण्डले पार्टी कमजोर भएको स्वीकार गरेका छन् । र, यसको मुख्यदो षी पनि आफै रहेको समीक्षा गरेका छन् । त्यस्तै प्रतिवेदनमा उनले राष्ट्रिय र अन्तर्राष्ट्रिय परिस्थितिबारे पनि विशद् चर्चा गरेका छन् ।

प्रतिवेदनमा उनले माओवादी पार्टी र नेताहरुका अरू कमजोरीलाई समेत औंल्याएका छन् । उनले नेता कार्यकर्ताको भड्किलो जीवनशैली, वैचारिक रूपमा भुत्तेपन र सांस्कृतिक विचलनको आलोचना गर्दै अब आत्मआलोचना गरेर अघि बढ्नुको विकल्प नरहेको पनि उल्लेख गरेका छन् ।

प्रतिवेदनमा प्रचण्डले बारम्बार पार्टी कमजोर हुनुमा आफूले नेतृत्वकर्ताको हिसाबमा जिम्मा लिनु पर्ने र आत्मआलोचना गर्नुपर्ने उल्लेख गरेका छन् । उद्घाटन समारोहमा पनि उनले धेरैपटक उनले आफ्नै कारण पार्टी कमजोर भएको भनेका थिए ।

पार्टीमा व्यक्तिवादी चरित्र, गुटबन्दी, विधिपद्दतीलाई नमान्ने जस्ता कुरा बढ्दै गएकोले त्यसलाई सुधार गरेर अघि बढ्नुपर्ने प्रतिवेदनमा उल्लेख गरेका छन् ।

यतिबेला एमसीसीलाई लिएर मा‌ओवादीले आफ्नो धारणा परिवर्तन गर्छ कि गर्दैन भन्नेमा माओवादी पार्टीकै कार्यकर्तासहित अन्य राजनीतिक पक्षहरुलाई पनि चासो रहेको छ । कार्यकर्ता तहमा एमसिसीको विरोध भइरहेको छ र उनको दल रहेको सत्ता गठबन्धनबाट प्रधानमन्त्री शेरबहादुर देउवा त्यसलाई अनुमोदन गर्न चाहिरहका छन् ।

देउवाले शनिबार मात्रै माओवादीकै कार्यक्रममा आफूले सम्झौतामा कहिँ कतै राष्ट्रघात नदेखेको र भए देखाउन चुनौती दिएको अवस्थामा प्रचण्डले प्रतिवेदनमा एमसीसीका बारेमा कस्तो व्याख्या गरेका छन् भन्ने चासो झन् बढेको छ ।

बहुचर्चित एमसीसी सम्झौताका बारेमा पनि प्रचण्डले मा‌ओवादीको स्पष्ट अडान सार्वजनिक गरेका छन् । यस अडानअनुसार अब माओवादीबाट कुनै पनि हालतमा एमसीसी अघि बढाउन सहयोग पुग्ने देखिँदैन । महाधिवेशनमा पेस गरेको प्रतिवेदनमा अमेरिकी अनुदान सम्झौता एमसिसीलाई प्रचण्डले सहयोगीहरुको साथ लिएर युद्ध गर्ने तयारीस्वरुप आएको भनेका छन् ।

प्रतिवेदनमा प्रचण्डले एउटा बुँदा उल्लेख गरेका छन् । उनले एमसिसीबारे यसअघि नै भन्दै आएको राष्ट्रिय सहमति कायम गर्नुपर्ने उल्लेख गरेका छन् । एमसीसी परिमार्जन गरेर र राष्ट्रिय सहमति बनाएर मात्र अघि बढाउन सकिने कुरा उनले प्रतिवेदनमा लेखेका छन् ।

प्रचण्डको यस धारणाले सत्ता गठबन्धन थप अप्ठेरोमा पर्ने निश्चित भएको छ । कांग्रेसले पनि सत्ता गठबन्धनको साझेदार फेर्न खोजिरहेको छ । माओवादीको यस अडानले अब यो गठबन्धन थप अघि बढ्न नसक्ने देखिएको छ ।

निर्वाचन आयोगले स्थानीय चुनावका लागि मिति सार्वजनिक गरिसकेको र एमालेले आम निर्वाचन पनि तत्काल घोषणा गर्न माग गरिरहेका बेला सत्ता गठबन्धनमै हेराफेरी हुने अवस्थाले राष्ट्रिय राजनीतिमा नयाँ मोड देखिन लागेको हो । प्रधानमन्त्री शेरबहादुर देउवाले सत्ता सम्हालेको ६ महिना पनि नपुग्दै हुन लागेको यस खालको हेराफेरीपछि चुनाव र अरु राष्ट्रिय मुद्दा के हुन्छन् भन्नेचाहिँ अनिश्चयकै गर्भमा छन् ।

माओवादी र एकीकृत समाजवादी तत्काल चुनावमा जाने पक्षमा छैनन् । जसरी हुन्छ चुनाव टार्न अनेक प्रयास गरिरहेका छन् । अब कांग्रेस र एमालेले गठबन्धन बनाएमा उनीहरु सडकमा आउने सम्भावना छ । नयाँ गठबन्धन र एमसीसीको विरोध गरेर उनीहरुको राजनीतिक जीविका चल्छ कि चल्दैन, त्यो भने हेर्न बाँकी नै छ । पाथिभरा न्युजबाट साभार गरियको हो।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय