भिडियो,
काठमाडौं ।
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेकपा एमाले र माओवादीबीच पार्टी एकता गरेर गल्ती नभएको भन्दै फेरि समीक्षा गर्न भनेका छन् ।
आइतबार पार्टीको ८ औँ महाधिवेशन उद्घाटन समारोहलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले एकता गरेर गल्ती नगरेको भन्दै पुनः एकचोटी समीक्षा गर्नुपर्ने बताए ।
उनले भने, ‘बिहान कमरेड केपी ओलीसँग कुरा भएको थियो । उहाँ झापामा हुनुहुन्थ्यो । उहाँले महासचिव पठाउछु भन्नुभयो, साँच्चै आउनुभयो । मलाई मन परेको कुरा के हो भने, हामीले पार्टी एकता गरेर गल्ती गरेका थिएनौँ ।
फेरि एकचोटी आत्मसमीक्षा गर्यौँ । कहाँ भत्कायौँ फेरि समीक्षा गरौँ । अघि महासचिव शंकर पाखेरलजीले जुन कुरा राख्नुभयो त्यो जायज छ ।’ यता नेकपा एमालेका महासचिव शंकर पोखरेलले नेकपा जोगाउन नसकेकोमा पछुतो लागेको बताएका छन् ।
उनले अहिले नेपालको वामपन्थी आन्दोलन सही बाटोमा नरहेको पनि बताए । त्यसैको परिणाम स्वरुप एकता नजोगिएको भन्दै उनले आफुलाई पछुतो लागेको पनि बताए ।
२०७४ सालको निर्वाचनमा नेकपा एमाले र नेकपा माओवादी केन्द्रले एउटै घोषणापत्र लिएर भाग लिएको स्मरण गर्दै उनले एकताका लागि गरेको प्रयास इमानदार भए पनि त्यसलाई जोगाउन नसकिएकोमा पछुतो लागेको बताएका हुन् ।
नेपाली कम्युनिस्ट आन्दोलनलाई कसरी अघि बढाउने भन्नेबारे नयाँ सोचका साथ अघि बढ्न जरुरी रहेको उनको भनाइ छ । राष्ट्रियता, राष्ट्रिय स्वाधिनता, परराष्ट्र नीतिका सवालमा नेपालका राजनीतिक दलहरु एकै ठाउँमा उभिनुपर्ने खाँचो पनि उनले औंल्याए । राष्ट्रलाई कसरी बलियो बनाउने भन्ने सन्दर्भमा दलहरु एउटै ठाउँमा उभिनुपर्ने उनको भनाइ थियो ।
जनअधिकारका प्रश्नमा दलका नेताहरुको कुरा मिले पनि विकासका कुरामा कुरा किन मिल्दैन ? सोच्नुपर्ने बेला भएको छ उनले भने । पूर्वाधार विकासका प्रश्नमा कुनै दलले विमति राख्न जरुरी नरहेको उनले प्रस्ट पारे ।
उनले भने, ‘समाजलाई लाभ गर्ने काम गर्न सक्नुभएन भने पाँच दल, ६ दल मिल्नुको कुनै अर्थ छैन ।’ पार्टी निर्माणमा कार्यकर्ताको सम्प्रभुता र राष्ट्र निर्माणमा जनताको सम्प्रभुतालाई कम्युनिस्ट पार्टीले छाड्न नहुने उनले प्रस्ट पारे । यो खबर साभार गरियको हो।