शुक्रबार , बैसाख ७, २०८१

नेपाली राजनिती,

काठमाडौं: नेकपा माओवादी केन्द्रको राष्ट्रिय सम्मेलन पुस ११ देखि १३ गतेमसम्म काठमाडौंमा हुँदैछ।

माओवादीका केन्द्रीय नेताहरु सम्मेलनको तीव्र तयारीमा जुटेका छन्। माओवादी केन्द्रका अनुसार काठमाडौं विशेष, बागमती, लुम्बिनी र कर्णालीको अधिवेशन सम्पन्न भएको छ।

प्रदेश १, २ र सुदूरपश्चिमको अधिवेशन भए पनि अध्यक्षसहितको पदाधिकारी चयन गर्न सकेको छैन। यसअघि माओवादी केन्द्रले पालिका, नगर, वडा सम्मेलन गरिसकेको छ।

माओवादी केन्द्रले यो सम्मेलनलाई नेतृत्व परिवर्तनको सम्मेलन बताए पनि नेताहरूका अनुसार फेरि अध्यक्षमा पुष्पकमल दाहाल प्रचण्ड नै दोहोरिने सम्भावना छ। माओवादी केन्द्रका नेता धर्मशीला चापागाईँले मूल नेतृत्व परिवर्तन नहुने बताइन्।

‘मूल नेतृत्व भनेको विचार र संगठन हो। कम्युनिष्ट पार्टीमा अन्तर्राष्ट्रियस्तरमा पनि मूल नेतृत्व प्रायः परिवर्तन हुँदैनन्। त्यही भएर प्रचण्ड नै अध्यक्ष बन्नुहुन्छ। पदाधिकारी भने परिवर्तन हुन्छ,’ उनले भनिन्।

गत भदौ २९ मा विष्णुपुकार श्रेष्ठको संयोजकत्वमा २२ सदस्यीय निर्वाचन आयोग गठन गरेको थियो। संघीयताको मर्मअनुसार जिल्ला समिति नरहने र संयोजन समितिमात्रै रहने छ। जसमा प्रमुख, उपप्रमुखको व्यवस्था गरिएको छ।

कसरी चुनिँदैछ नेतृत्व?

नेकपा माओवादी केन्द्रका एक स्थायी कमिटी सदस्यका अनुसार नयाँ नेतृत्व चयनका लागि सहमतिको प्रयास भइरहेको बताए। उनले सहमति प्रयास विफल भएमात्र लोकतान्त्रिक पद्धतिअनुसार चुनाव गराइने छ।

पार्टीको केन्द्रीय विधानअनुसार केन्द्रीय समिति, पोलिट्ब्युरो र स्थायी समितिमा अध्यक्ष, उपाध्यक्ष, महासचिव, उपमहासचिव र सचिवसहित २९९ सदस्यीय रहने उल्लेख छ। पार्टीको केन्द्रीय समितिको पदाधिकारी संख्या कति हुने भन्ने अझै एकिन छैन। पदाधिकारी संख्याबारे अन्तरिम विधान २०७८ पनि स्पस्ट छैन।

केन्द्रीय समितिको कूल सदस्य संख्याको बढीमा एकतिहाइ सदस्य रहेको पोलिटव्युरो, पोलिट्व्युरोको कूल सदस्यको बढीमा एकतिहाइ सदस्य रहेको स्थायी समिति रहने भनिएको छ। त्यस्तै दैनिक कार्य सञ्चालनका लागि अध्यक्षको नेतृत्वमा उपाध्यक्ष र महासचिवसहितको आवश्यक संख्यामा एक केन्द्रीय कार्यालय रहने छ।

अन्तरिम विधानमा २ सय ९९ जनाको केन्द्रीय समिति र त्यसमध्ये एकतिहाइ सदस्य रहेको पोलिटव्युरो र पोलिटव्युरोको एक तिहाइ सदस्य रहेको स्थायी कमिटी रहने व्यवस्था छ। प्रदेशमा १ सय ७५ सदस्यीय कमिटी र स्थानीय तहमा महानगरमा ९९, उपमहानगरमा ८१, नगरमा ६५ र गाउँपालिकामा ५५ सदस्यीय कमिटी रहने छ।

अन्तरिम विधानमा माओवादी केन्द्रले १४ केन्द्रीय निकायको व्यवस्था गरेको छ। जसमा राष्ट्रिय महाधिवेशन, केन्द्रीय समिति, राष्ट्रिय परिषद्, केन्द्रीय अनुशासन आयोग, केन्द्रीय लेखापरीक्षण आयोग, केन्द्रीय निर्वाचन आयोग, केन्द्रीय सल्लाहकार परिषद् र केन्द्रीय ज्येष्ठ कम्युनिष्ट मञ्च छन्।

प्रचण्ड बन्लान् त अध्यक्ष?

पछिल्लो वर्षमा माओवादी केन्द्रमा निकै उथलपुथल आएको छ। विसं २०४६ कात्तिकमा चितवनमा भएको केन्द्रीय समितिको बैठकले सेक्टर काण्डलाई एक भुलको रूपमा लियो र महामन्त्री किरणकै प्रस्तावअनुसार त्यसमा संलग्न नेताको एकएक पद घटुवा गर्ने निर्णय गर्‍यो।

त्यसअनुरुप किरण महामन्त्रीबाट पोलिटव्युरो सदस्यमा झरे भने पोलिटव्युरो सदस्यहरू केन्द्रीय समितिमा र केन्द्रीय सदस्यहरू क्षेत्रीय सदस्यमा झरे। अनि ‘सेक्टर काण्डमा नफसेका’ मुख्य नेताहरूमा ’प्रचण्ड’मात्र बाँकी रहे। मोहन वैद्य किरणकै प्रस्तावमा ३५ वर्षे युवा पार्टीका महामन्त्री बने। स्थापनाकालदेखि नै पार्टीको नेतृत्व प्रचण्डले गर्दै आएका छन्।

२०७५ जेठ ३ गते नेकपा (एमाले) र माओवादी केन्द्रबीच एकता भयो। एकतापश्चात माओवादी केन्द्रको पार्टी संरचना थिएन। गत २०७७ फागुन २३ गते तत्कालीन नेपाल कम्युनिस्ट पार्टी (नेकपा) वैधानिक नभएको सर्वोच्च अदालतले फैसला गरेपछि एमाले र माओवादी आफ्नै पुरानो पार्टीलाई सक्रिय बनाउन लागेका हुन्।

माओवादी केन्द्रका नेता सन्तकुमार थारुले नेतृत्वमा प्रचण्डको विकल्प नरहेको बताए। ‘मुख्य नेतृत्वको विकल्प छैन। बाँकी पदाधिकारीका लागि मूल्याकंन विधि भनेको क्रियाशिलता, गतिशिलता, निरन्तरता र लोकप्रियता नै हो,’ उनले अन्नपूर्णसँग भने। उनले पदाधिकारीलगायत केन्द्रीय कमिटी टुंग्याउन छलफल भइरहेको बताए।

पदाधिकारीमा कसको सम्भावना कति?

अध्यक्षमा प्रचण्ड दोहोरिने लगभग निश्चित छ। त्यसबाहेक कुन कुन पदमा को आउने भन्ने अहिल्यै टुंगो नलागेको एक नेताले बताए। उनका अनुसार पदाधिकारीमा नारायणकाजी श्रेष्ठ, जनार्दन शर्मा, देवेन्द्र पौडेल, देव गुरुङ, पम्फा भुषाल, मातृका यादव, बर्षमान पुन, ओन्सरी घर्ती, जयपुरी घर्ती, गिरिराजमणि पोखरेलको नाम चर्चा छ। पदाधिकारीमा सहमति नभए केन्द्रीय कमिटीमात्रै गठन गर्ने माओवादी केन्द्रको तयारी छ। प्रचण्ड निकट नेताहरु महासचिवका लागि लबिङ गरिरहेका छन्।

१५ सय प्रतिनिधि सहभागी हुने

प्रत्येक प्रदेशबाट ३० जना सहभागी गराउने माओवादी केन्द्रको तयारी छ। औसत १ हजार ५ सय संगठित सदस्य बराबर १ जना प्रतिनिधि चयन गर्ने मापदण्ड बनाइएको छ। राष्ट्रिय प्रज्ञा प्रतिष्ठानमा सम्मेलन हुने माओवादी केन्द्रले जनाएको छ।

कहाँ कहाँ भयो नेतृत्व चयन?

माओवादी केन्द्रका अनुसार अहिलेसम्म बागमती प्रदेश, उपत्यका विशेष प्रदेश समिति, सम्पर्क समन्वय प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशमा नेतृत्व चयन भएको छ। प्रदेश १, प्रदेश २, कर्णाली र सुदूरपश्चिम प्रदेशमा अधिवेशन सम्पन्न भए पनि पदाधिकारी चयन भएको छैन। पदाधिकारीबाहेक भने कमिटी सदस्यको टुंगो लगाइएको छ।

राजनीतिक प्रतिवेदन तयार पार्दै प्रचण्ड

माओवादी केन्द्रले यो सम्मेलनमा पार्टीको आगामी कार्यदीशा र संगठनात्मक दस्तावेज प्रस्तुत गर्नेछ। प्रचण्ड राजनीतिक प्रतिवेदन तयारीमा छन्। संगठनात्मक विषय पनि प्रतिवेदनमा समेटिने छ। विधान परिमार्जन गर्न देव गुरुङको संयोजकत्वमा जनार्दन शर्मा, लिलामणि पोखरेल, पम्फा भुसाल र मातृका यादव रहेको समिति गठन गरिएको थियो। त्यस्तै समसामयिक प्रस्ताव गिरिराजमणि पोखरेलको संयोजकत्वमा शक्तिबहादुर बस्नेत, गणेश साहले तयार पारिरहेका छन्। राष्ट्रिय सम्मेलनको पुस ११ मा उद्घाटन हुनेछ।

वैद्य, विप्लवलगायत आउँलान्?

नेकपा माओवादी केन्द्रको राष्ट्रिय सम्मेलन आउन एक हप्ता बाँकी छ। यो अवधिमा माओवादी केन्द्रका नेताहरु नेकपा (क्रान्तिकारी) माओवादीका महासचिव मोहन वैद्य, नेकपाका महासचिव विप्लवसँग औपचारिक-अनौपचारिक छलफल गरिरहेका छन्। विप्लवलाई पार्टीभित्र ल्याएर महासचिव बनाउनेसम्म चर्चा छ। विप्लवलाई फर्काउन प्रवक्ता कृष्णबहादुर महरालगायतका नेताहरू लगातार सम्वादमा छन्। यो खबर अन्नपुर्ण पोस्टमा छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय