नेपाली राजनिती,
काठमाण्डाै – नेकपा एमालेका नेता भीम रावलले आफूलाई सोध्दै नसोधी केन्द्रीय सल्लाहकार पदको सदस्य नियुक्त गरिएकोमा आपत्ति जनाउनुभएको छ ।
सामाजिक सञ्जाल ट्विटरमार्फत नेता रावलले आफ्नो अनुमति नलिइकन कुनै पनि पदमा नियुक्त गर्नु आपत्तिजनक भएको बताउनुभएको हो ।
रावलले लेख्नुभएको छ, ‘मलाई नेकपा एमालेको केन्द्रीय सल्लाहकार परिषद्को सदस्य बनाइएको समाचार सुनियो ।
यो सत्य हो भने, मलाई सोध्दै नसोधी कुनै पदको टीका लगाइदिनु आपत्तिजनक छ । यस्तो टीके प्रणाली जनताको बहुदलीय जनवाद र लोकतान्त्रिक मान्यताको विपरीत हुन्छ ।’
चितवनमा भएको एमालेकाे दशौँ महाधिवेशनमा अध्यक्षमा केपी शर्मा ओलीसँग पराजित भएपछि नेता रावलले आफू कुनै पनि पदमा नबस्ने घोषणा गर्नुभएको थियो ।
तर एमालेको केन्द्रीय कमिटीको बैठकले रावललाई सल्लाहकारमा राखिएको एमालेका महासचिव शंकर पोखरेलले बताउनुभएको छ । यता नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले एमालेले आगामी हुने तीनै तहेको निर्वाचनमा बहुमत ल्याउने दाबी गरेका छन् ।
उनले दशौं महाधिवेशनपछि पहिलो अन्तरपार्टी निर्देशन गर्ने क्रममा यस्तो बताएका हुन् । अध्यक्ष ओलीले एमालेले अघि सारेको नीति, कार्यक्रम र निर्णयहरु सफल कार्यान्वयन हुने र आगामी सबै निर्वाचनमा बहुमत ल्याउने दाबी गरे ।
अब एक वर्ष समय रहेको र सत्ता गठबन्धनका राष्ट्र, जनता र कम्युनिष्ट आन्दोलन विरुद्धका गतिविधिको सामना गर्ने क्रममा आफ्नो शक्तिलाई थप सुदृढ र एकताबद्ध बनाउन सफल हुने दाबी अध्यक्ष ओलीको छ ।
‘अबको एकवर्ष भित्रमा स्थानीय, प्रदेश र प्रतिनिधिसभाका निर्वाचनहरू आयोजना हुनेछन् । स्थानीय तहको निर्वाचन वैशाखभित्रै गर्नुपर्ने संवैधानिक र कानुनी व्यवस्था छ’, उनले भनेका छन्, ‘उल्लेखित निर्णयहरूको सफल कार्यान्वयनबाट हाम्रो पार्टी आगामी तीनै तहका निर्वाचनमा पहिलोमात्र होइन, बहुमत प्राप्त पार्टीका रुपमा स्थापित हुने निश्चित छ ।’साभार खबर ।