नेपाली राजनिती,

पूर्वराजा ज्ञानेन्द्र शाह र पूर्वयुवराज्ञी हिमानी शाहको नाममा सञ्चालित फेसबुक र ट्वीटर अकाउन्ट आधिकारिक नभएको निर्मल निवासले बताएको छ।

पछिल्ला राजनीतिक घटनाक्रममा पूर्वराजा ज्ञानेन्द्र र पूर्वयुवराज्ञी हिमानीको नामबाट प्रेसित भइरहेका सामग्रीप्रति निर्मल निवासले चासो देखाएको हो। उसले ती अकाउन्टबाट प्रेसित सामग्रीको जिम्मेवारी नलिने जनाएको छ।

पछिल्लो समय राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को एकता महाधिवेशनपछि ज्ञानेन्द्र र हिमानीको नाममा सञ्चालित ट्वीटर तथा फेसबुकहरूबाट स्टाटस सम्प्रेषण भइरहेका थिए।

नेता राजेन्द्र लिङ्देनले अध्यक्षमा पराजित गरेपछि राप्रपाका निवर्तमान अध्यक्ष कमल थापाले पनि ज्ञानेन्द्र र हिमानीको नाममा सञ्चालन गरिएका ट्वीटरलाई ‘मेन्सन’ गरी असन्तुष्टि पोखेका थिए।

उनले निर्मल निवासले राप्रपा महाधिवेशनमा हस्तक्षेप गरेको आरोप लगाएका थिए।पूर्वाराजा ज्ञानेन्द्रका संवाद सचिव फणिराज पाठकले बिहीबार साँझ विज्ञप्ति जारी गरी ती कुनै पनि सामाजिक सञ्जाल उनीहरूले नचलाएको प्रष्ट्याएका छन्।

‘श्री ५ महाराजधिराज ज्ञानेन्द्र वीरविक्रम शाहदेवले राष्ट्रिय समसामयिक घटना सन्दर्भ, राष्ट्र र जनताको हितसँग सम्बद्ध साझा चासो र चिन्ताको विषयप्रति ध्यान राखी बक्सनु स्वाभाविक हो,’ पाठकद्वारा प्रेसित विज्ञप्तिमा भनिएको छ, ‘तर, मौसुफले ट्वीटर, फेसबुक वा कुनै पनि प्रकारका सामाजिक सञ्जाल सञ्चालन नगरिबक्सेको व्यहोरा जानकारी गराइन्छ।’

पाठकले पठाएको विज्ञप्तिमा त्यस्तो भ्रमबाट मुक्त रहन आग्रह गर्दै आस्था र मर्यादामा आँच नपुर्‍याउन अनुरोध गरिएको छ।पाठकले विज्ञप्तिमा भनेका छन्, ‘श्री ५ हिमानी राज्यलक्ष्मी देवी शाहबाट ट्वीटर, फेसबुक वा कुनै पनि प्रकारका सामाजिक सञ्जाल सञ्चालन नगरिबक्सेको व्यहोरा जानकारी गराइन्छ।’

राप्रपा महाधिवेशनमा पराजित भएपछि थापाले निर्मल निवासले हस्तक्षेप गरिरहेको बताएका छन्। तर, पूर्वराजाका संवाद सचिव पाठकले विज्ञप्तिमा त्यसप्रति कुनै प्रसंग उल्लेख गरेका छैनन्।

राप्रपा महाधिवेशनपछि पूर्वयुवराज पारस शाहको नामबाट खोलिएको ट्वीटर पनि देखिएको छ।ती ट्वीटर अकाउन्ट पूर्वराजाको सचिवालयका मान्छेहरूले चलाउने गरेको दाबी गरिएको पनि छ। तर, सचिवालयबाटै ती अकाउन्टबारे खण्डन गरिएकाले कसले चलाउँछ भन्ने अनुसन्धानको विषय भएको छ।

नेपाल प्रहरीको साइबर ब्युरोले सामाजिक सञ्चालबारे अनुसन्धान गर्छ। ती ट्वीटर र फेसबुकबारे आधिकारिक रूपमा कसैले रिपोर्ट नगरेकाले साइबर ब्युरोले पनि चासो राखेको छैन।

यद्यपि, पूर्वराजा ज्ञानेन्द्र र पूर्वयुवराज्ञी हिमानीको नाममा खोलिएका फेसबुक र ट्वीटर अकाउन्टबाट लामो समयदेखि राष्ट्रिय विषवस्तुमा चासो राखेर अभिव्यक्ति सार्वजनिक गरिँदै आएको छ। यो खबर सेतो पाटिबाट गरियको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय