बिहिबार , चैत्र १५, २०८०

नेपाली राजनिती,

मकवानपुर — नेपाली कांग्रेस वाग्मती प्रदेश सभापतिमा मकवानपुरका इन्द्रबहादुर बानियाँ निर्वाचित भएका छन् ।

उनी संस्थापन अर्थात् सभापति शेरबहादुर देउवा निकट हुन् । विशेषगरी वाग्मती प्रदेशलाई संस्थापन इतर समूहको भोट बैंकको रुपमा व्याख्या गरिँदै आएको थियो ।

यस्तो कठिन अवस्थामा पनि बानियाँले संस्थापन इतरका उम्मेदवार संस्थापन इतरका जगदीश्वरनरसिंह केसीलाई १ सय ५८ मतअन्तरले पराजित गर्दै कांग्रेस भावी सभापतिमा पुन: शेरबहादुर देउवा नै बलियो हो भन्ने सन्देश दिएका छन् ।

यसै प्रदेशबाट कांग्रेस सभापतिमा उम्मेदवारी घोषणा गरिसकेका प्रकाशमान सिंह र महामन्त्रीमा उम्मेदवारी घोषणा गरेको युवा नेता गगनकुमार थापा हेटौंडामै डेरा जमाएर बानियाँको विपक्षमा मत मागिरहेका थिए ।

उनीहरुले हरेक गुटको भेलामा बानियाँको विरुद्धमा मत माग्दै सवल र सक्षम नेतृत्व चयन गर्न जरुरी रहेको औंल्याइरहेका थिए । बानियाँको विजयीले ‘पार्टी शुद्धीकरण र प्रधानमन्त्री देउवा’विरुद्ध लामो समयदेखि अभियान सञ्चालन गरिरहेका सिंह र थापालाई सबैभन्दा बढी अप्ठेरोमा पारेको छ ।

संस्थापन इतरका केसीलाई १ सय ५८ मतअन्तरले पराजित गर्दै वाग्मती प्रदेश संसदीय दलका नेता समेत रहेका बानियाँ दोस्रो पटकमा प्रदेश सभापतिमा निर्वाचित भएका थिए ।

शनिबार भएको पहिलो चरणको निर्वाचनमा ४८ प्रतिशत मत प्राप्त गरे पनि कांग्रेसको विधान अनुसार ५० प्रतिशत मत कटाउनुपर्ने भएपछि आइतबार पुन: मतदान भएको थियो ।पहिलो चरणमै बानियाँ बलियो देखिएपछि सिंह बिहानै हेलिकप्टरबाट हेटौंडा आएर गुटको बैठक सञ्चालन गरेका संस्थापन पक्षको आरोप लगाएका छन् ।

‘प्रकाशमान सिंह र गगन दाईले काठमाडौंका धेरै नेताहरुलाई एक/एक गरेर भेटेर निर्वाचनलाई गम्भीर रुपमा लिन आग्रह गर्नु भएको थियो । प्रदेश र महाधिवेशन प्रतिनिधिमा उहाँहरुकै सहयोगमा जितेकाहरुले बानियाँलाई सहयोग गर्दा यस्तो अवस्था सिर्जना भएको हो’, संस्थापन इतर समूहका एक नेताले भने ।

दोस्रो चरणको मतदानमा बानियाँले १ हजार ८५ मत प्राप्त गरेका थिए भने केसीले ९ सय २७ मत प्राप्त गरे । कुल २ हजार २५ मत खसेकोमा १३ मत बदर भएको थियो ।

कांग्रेस सभापति एवम् प्रधानमन्त्री देउवाको विश्वास पात्र बानियाँलाई दोस्रो चरणको मतदानमा कांग्रेस नेता कृष्णप्रसाद सिटौला पक्षधरका भीमसेन दास प्रधानले समर्थन गरेका थिए । प्रधान पहिलो चरणको मतदानमा तेस्रो स्थानमा रहँदै दोस्रो चरणको निर्वाचन प्रक्रियाबाट बाहिरिएका थिए । बानियाँ कांग्रेस मकवानपुरका सभापतिसमेत हुन् ।

पहिलो चरणको मतदानमा बानियाँले ९ सय ९२ मत ल्याएका थिए भने दोस्रो हुने केसीले ८ सय ७२ मत ल्याएका थिए । पहिलो चरणमा प्रधानले १ सय ९७ मत ल्याएका थिए । पहिलो चरणमा कुल २१ सय ५१ मतमध्ये २०८३ मत खसेको थियो ।

सभापतिमा निर्वाचित भएसँगै बानियाँले वाग्मती प्रदेशमा कांग्रेसलाई पहिलो पार्टीको रुपमा स्थापित गर्न आगमी निर्वाचनमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने बताए । ‘स्थानीय तह, प्रदेश र संघको निर्वाचन नजिकिँदैछ ।

अब पार्टीलाई एकढिक्का बनाएर अगाडि बढाउनेतर्फ अब निर्वाचित भएको समितिले सम्पूर्ण ध्यान केन्द्रित गर्नेछौं’, बानियाँले भने ।उनले पार्टीको आन्तरिक निर्वाचन भएका कारण आफ्नो जीतलाई उत्साहपूर्ण रुपमा नलिएको प्रतिक्रिया दिए । कान्तिपुरबाट साभार गरियको खबर ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय