बिहिबार , चैत्र १५, २०८०

नेपाली राजनिती,

चितवन । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) अध्यक्ष महन्थ ठाकुर नेकपा एमालेको दशौं महाधिवेशनमा सहभागी हुन चितवनमा छन् । महाधिवेशन आज नारायणी नदी किनारमा उद्घाटन हुँदैछ ।

महाधिवेशनको एक दिनअघि भरतपुर पुगेका ठाकुरसँग एमालेको महाधिवेशन, आगामी नेतृत्वसँग सहकार्यलगायतका विषयमा कुराकानी गरिएको छ ।

एमाले महाधिवेशनमा किन आउनुभयो ? एउटा त शुभकामना दिन आएको हुँ । शुभकामना आदानप्रदान राजनीतिक संस्कार हो । पार्टीबीच आदान प्रदान हुन्छ । दोस्रो धन्यवाद पनि दिन आएँ ।

धन्यवाद किन ?

किनभने हाम्रा जो माग थिए, मधेसका माग सम्बोधनमा एमालेले अग्रसरता लियो । अध्यक्ष एवं तत्कालीन प्रधानमन्त्री केपी ओलीजीले प्रयास गर्नुभयो ।

संविधान संशोधनको प्रयास, मधेसी नेता कार्यकर्तामाथि लगाइएको झुटा मुद्दा फिर्ता (१२ सयमा १४० जना मुक्त) र लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्ने प्रयास, नागरिक ऐन ल्याएको (यद्यपि अदालतले रोकिदियो) र इतिहासमै पहिलोपटक मन्त्रिमण्डलमा ५० प्रतिशतभन्दा बढी मधेसी सहभागिता (त्यो पनि अदालतले रुचाएन) गराएकाले एमालेलाई धन्यवाद पनि दिनेछु ।

ओलीजीले प्रयास गर्नुभयो, केही सफलता पनि भयो । तर, जुन मुख्य मुद्दा थियो गर्न सम्बोधन गर्न नपाउँदै उहाँ जानुभयो ।एमालेको महाधिवेशनमा शुभकामना दिँदै गर्दा कस्तो नेतृत्व आओस् भन्ने चाहनुहुन्छ ?

एमाले अहिले पनि लार्जेस्ट पार्टी हो । सत्ता उसकै हातमा थियो । दुईतिहाइको थियो । विभिन्न कारणले टुटफुट भयो । सत्ता गयो । अदालतको पनि कृपा रहेन । त्यसकारण हामी चाहन्छौं कि यो महाधिवेशनबाट एमाले अझै मजबुत भएर आओस् भन्ने हाम्रो शुभकामना छ । ओलीजी दोहोरिए राम्रो हुन्छ, हाम्रो शुभकामना छ ।

एमालेको आउने नेतृत्वले राष्ट्रिय राजनीतिमा कस्तो असर पार्छ ?

एमालेको नेतृत्व अहिले जसको हातमा छ त्यो (केपी ओली) कम्युनिस्ट मुभमेन्टको डिस्पुटेड लिडर अर्थात विवादरहीत नेता हो । प्रचण्डजीको त्यो अवस्था छैन । एक समय थियो, उहाँ (प्रचण्ड) को तुलना गौतम बुद्ध र पृथ्वीनारायण शाहसँग गरिन्थ्यो । तर अहिले त्यो स्थिति छैन ।

माधव नेपालजी त साथी(साथी हो । भर्खर छुट्टिएर जानुभएको छ । उहाँ (माधव) आउनु हुन्छ कि आउनुहुन्न थाहा छैन । त्यसकारण अहिले कम्युनिस्ट मुभमेन्टको विवादरहीत नेता ओलीजी नै हो ।

उहाँको भूमिका के हुन्छ राष्ट्रिय राजनीतिमा ?

राष्ट्रिय राजनीतिमा हामीले संकल्प गरेका एजेण्डा अलपत्र छन् । ओलीजीले अगाडि बढाउन प्रयास गर्दा सफल भएन । अहिले राज्य नै अनिर्णयको बन्दी बनेको छ । प्रतिनिधिसभा पनि काम गरिरहेको छैन । सत्ता गठबन्धनमा विभिन्न मतले कार्यपालिका पनि चल्न सकेको छैन ।

अदालतको हालत त अहिले देखिएको छ । कुनै पनि अंग फङ्सनिङ अवस्थामा छैन । सहज अवस्था ल्याउन देशको पहिलो पार्टी बलियो हुनु आवश्यक छ । नेतृत्व पनि बलियो भयो भने भूमिका प्रभावकारी हुन्छ ।

एमालेको अब आउने नेतृत्वसँग साझेदारी, समन्वय र अब आउने चुनावमा गठबन्धनको सम्भावना छ ?हाम्रो माग मुद्दा अझै सम्बोधन भएको छैन । हाम्रो प्राथमिकता सम्बोधन गरे हुनसक्छ । माग, मुद्दाका आधारमा त्यतिखेरै निर्धारण हुन्छ ।

अन्तिममा एमाले महाधिवेशनमा के शुभकामना दिन चाहनु हुन्छ ? हाम्रो शुभकामना छ कि यो महाधिवेशनबाट तपाईँको उचाई बढोस् । आकाशभन्दा उचो होस् । मजबुत भएर आउनुस् । देवताले समुद्र मन्थन गरेका थिए, तपाईँहरु जनमन्थन गरेर आउनुभएको छ, नवरत्न बन्नुस् । यो खबर साभार गरियको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय