मंगलबार , बैसाख ११, २०८१

नेपाली राजनिती,

काठमाडौं। नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच निकटता बढ्दै गएको छ । यी दुई नेताबीच कतिपय मुद्दाका कारण निकटता बढेको हो ।

विशेषगरी अमेरिकी सहयोगसम्बन्धी मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) बारे देउवा र ओलीको धेरै कुरा मिलेको छ । प्रधानमन्त्री देउवा एमसीसी पारित गर्न आतुर छन् ।

ओली पनि प्रधानमन्त्री हुँदा एमसीसीको पारित गर्न बढेको थिए । अहिले ओली एमसीसीबारे मौन छन् । तर, उनले सत्ता गठबन्धनको धारणा आएपछि मात्र बोल्ने स्पष्ट पारेका छन् ।

एमसीसीबारे नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालसहित सबैजसो कम्युनिस्ट पार्टीहरु विरोधमा छन् ।

प्रचण्डले एमसीसी पारित गर्ने लिखित पत्र पठाएको देउवाको खुलासालाई खण्डन गरेका छन् । माधव नेपाल पनि संशोधनविना एमसीसी पारित गर्न नहुने पक्षमा छन् ।

सत्ता गठबन्धनभित्र एमसीसीबारे मतभेद देखिएकाले गठबन्धनमा समस्या आइसकेको छ । एमसीसीकै कारण गठबन्धन टुट्न पनि सक्छ । यसलाई पारित गर्न काँग्रेस र एमाले मिलेर अगाडि बढ्ने परिस्थिति सृजना पनि हुनसक्छ ।

यही यथार्थ बुझेर जसपा संघीय परिषदका अध्यक्ष डा। बाबुराम भट्टराईले एमसीसीबारे भ्रम नफैलाउन भनेका छन् । उनी एमसीसीको पक्षमा उभिएका छन् ।

एमसीसीको पक्ष या विपक्षमा दलहरु देखिएकाले संसदमा अगाडि बढाउँदै ठूलै कम्पन जानसक्छ । माओवादी र नेकपा एस विपक्षमा उभिएमा देउवाले ओली, महन्थ ठाकुर र उपेन्द्र यादवलाई मिलाएर जाने अवस्था बन्ने देखिएको छ । त्यतिबेला नयाँ गठबन्धनको परिस्थिति तयार हुनसक्छ ।

अर्कोतर्फ, संवैधानिक परिषदले गरेका संवैधानिक निकायका नियुक्तिहरुमा पनि देउवा र ओलीबीच भित्री सहमति देखिन्छ । यसको खारेजीको दबाब प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरामाथि सृजना गर्न खोजिएको कारण देउवा र ओलीबीच निकटता बढेको देखिन्छ ।

काँग्रेस र नेकपा एमाले निकट कानुन व्यवसायीहरुको संगठनले एकैदिन प्रधानन्यायाधीश जबरालाई उत्साही बनाउने गरी तिहारको ठिक अघि विज्ञप्ति जारी गरेका थिए । यो अर्थपूर्ण छ ।

संवैधानिक निकायको नियुक्ति अदालतको फैसलाले खारेज गराउन प्रचण्ड र माधव नेपाललगायत नेताहरु लागेका छन् । यो विषयले पनि देउवाको प्रचण्ड र माधव नेपालसँग दूरी बढ्दै गएको छ ।

यस अवस्थामा ओली नजिकिएका छन् । एमसीसी र प्रधानन्यायाधीशको विषयले देउवा र ओलीबीच फेरि गठबन्धन बन्नसक्ने परिस्थिति विकास हुँदै गएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय