नेपाली राजनिती,
काठमाडौं । सरकारलाई सहयोग गर्न सत्ता दलका शीर्ष नेताहरूले राजनीतिक संयन्त्र (समन्वय समिति) बनाएका छन् ।
सोमबार बालुवाटारमा बसेको गठबन्धन बैठकले समिति संयोजकमा रामचन्द्र पौडेललाई राख्ने निर्णय गरेको सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिएका छन् ।
गठबन्धन ५ दलबाट २/२ जना गरी १० र एक मन्त्रीसहित ११ सदस्यीय समिति बनाउने निर्णय भएको छ ।
कांग्रेसबाट कृष्ण सिटौला र मन्त्रीबाट ज्ञानेन्द्र कार्की सदस्य रहेका छन् । माओवादी केन्द्रबाट अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नारायणकाजी श्रेष्ठ सदस्य रहेका छन् ।
एकीकृत समाजवादीबाट अध्यक्ष माधव नेपाल, जनता समाजवादी पार्टीबाट अध्यक्ष उपेन्द्र यादव, राष्ट्रिय जनमोर्चाबाट अध्यक्ष चित्रबहादुर केसी र उपाध्यक्ष दुर्गा पौडेल सदस्य रहेका छन् ।
एकीकृत समाजवादी र जसपाले एक/एक जनाको नाम दिन बाँकी छ । दुई–दुई महिनामा संयोजक परिवर्तन हुने कार्यविधि छ । संयन्त्रको बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवा उपस्थित हुनेछ ।
समितिले राष्ट्रियसभा रिक्त सदस्य निर्वाचन, प्रतिनिधि सभा र प्रदेश सभा उप–निर्वाचनमा मिलेर जानेबारे गृहकार्य पनि गर्नेछ । यो खबर रिपव्लिक दैनिकमा छ ।