बिहिबार , बैसाख १३, २०८१

काठमाडौं ।

नेपाली कांग्रेसका पूर्वमहामन्त्री प्रकाशमान सिंहले कांग्रेसले वर्तमान नेतृत्त्व फाल्न नसके आगामी दिन कष्टपूर्ण हुने बताएका छन् ।

वर्तमान नेतृत्त्वले विधि र नीति समाप्त पारेको भन्दै यही नेतृत्त्व कायम रहे जनताको विश्वास पनि कांग्रेससँग नरहने उनको दाबी छ ।

नेपाली कांग्रेस सिन्धुलीका सभापति उज्ज्वल बरालीकी आमाको शोकमा समवेदना प्रकट गर्न सिन्धुली पुगेका सिंहले नेतृत्त्वविरुद्ध कडा टिप्पणी गरेका हुन् ।

“कांग्रेस विधिको शासनका पक्षमा लडेर यहाँसम्म आएको हो । पार्टीका विभागहरु नेतृत्त्वको कार्यकाल सकिएपछि गठन भएका छन् ।

अझै पनि नियुक्तिको श्रृंखला रोकिएको छैन,” सिंहले असुन्तुष्टि जनाए, “आफ्नै अधिवेशन गर्न नसक्ने कांग्रेसबाट देश कसरी चल्छ भनेर जनताले प्रश्न गरिरहेका छन् । जब जनताले आफैं विधिमा चल्दैन भनेर प्रश्न गर्दैछन् भने कांग्रेसले देशलाई विधि अनुसार चलाउँछ भनेर कसरी विश्वास गर्न सक्छन् ?”

उनले यो सबै वर्तमान नेतृत्त्वका कारण भएको भन्दै नेतृत्व फेर्नु कांग्रेसका लागि अनिवार्य भएको बताए । सिंहले भने, “अव पनि यही नेतृत्त्वको निरन्तरता चाहने हो भने कांग्रेसको साख समाप्त हुने छ ।” उनले वर्तमान नेतृत्त्वको विषयमा सबै जानकार रहेको भन्दै उनलाई कुनै पनि हालतमा नदोहोर्याउने बताए ।

“राज्यसंयन्त्रको जतिसुकै दुरुपयोग गरोस्, जतिसुकै पैसा खर्च गरोस् तर भोट चाहिँ दिदैनौँ भन्ने समूह कांग्रेसमा अहिले पनि बहुमतमा छ,” सिंहले भने, “त्यसैले पैसा र पावरको प्रभावमा महाधिवेशन प्रतिनिधिहरुले भोट दिनुहुने छैन भन्नेमा म विश्वस्त छु ।”

यता नेपाली कांग्रेसका नेता गगन थापाले अरू पार्टीसँग तालमेल गरेर चुनाव लड्ने स्वभाव कांग्रेसको नभएको बताएका छन् । सिन्धुलीमा आज आयोजित कार्यक्रममा बोल्दै थापाले अब हुने निर्वाचनमा कांग्रेस एक्लै लड्ने बताएका हुन् ।

‘कोहीसँग मिलेर चुनाव लड्ने कांग्रेसको स्वभाव नै होइन, रूखबाहेक अन्यत्र कांग्रेसले भोट हाल्दैन, थापाले भने।’ उनले कांग्रेस पहिलो पार्टी बनाउने हो भने अहिले रहेका मतदाता जोगाउँदै थप मतदाता आकर्षित गरिनुपर्ने बताए।

‘कांग्रेस पहिलो पार्टी बन्ने हो भने अहिलेको मतदाता जोगाउँदै ४३ लाख भन्दा बढी मत हामीले ल्याउनुपर्नेछ,’ उनले भने।
सभापतिसमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवाले नै गठबन्धन चुनावसम्म जाने संकेत गरिरहेका बेला थापाले अरूसँग मिलेर चुनाव लड्न नहुने बताएका छन्।

उनले गत निर्वाचनमा माओवादीसँग चितवनमा गठबन्धन गर्दा त्यसको नकरात्मक प्रभाव परेकोसमेत बताए। साथै उनले १४ औं महाधिवेशन मंसिर २४ देखि २६ सम्म हुने र अब महाधिवेशनको मिति नसर्ने बताए। पार्टी नेतृत्व चयन गर्दा सक्षमलाई नेतृत्वमा पुर्याउनसमेत उनले आग्रह गरेका छन्। खबर रफतारबाट साभार ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय