शुक्रबार , बैसाख ७, २०८१

नेपली राजनिती,

प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले सत्तारुढ पाँच दलीय गठबन्धनलाई लोकतन्त्रको ‘भक्षक’ को संज्ञा दिनुभएको छ ।

एमाले अध्यक्ष ओलीले सत्तारुढ गठबन्धनलाई लोकतन्त्र, लोकतान्त्रिक मूल्य, मान्यता नभइ आफ्नो स्वार्थ पूर्तिका लागि केवल सत्तामात्रै चाहिएको दाबीसमेत गर्नुभयो ।

नेकपा एमाले कर्णाली प्रदेश कमिटीले आज आइतवार काठमाण्डाैमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उहाँले सत्तारुढ गठबन्धनलाई देश नभइ आफ्नो स्वार्थमात्रै पूरा गर्नुरहेको बताउनुभयो ।

अध्यक्ष ओलीले एमाले नभएको भए फेरि १७ साल आइसकेको हुने दाबीसमेत गर्नुभयो । एमाले नभएकै कारण २००७ सालपछि १७ साल आएको तर अहिले एमाले भएकाले आउन नसकेको उहाँको दाबी छ ।

अध्यक्ष ओलीले एमाले भएकै कारण प्रतिक्रियावादी शक्तिहरू चुप लागेर बसेको पनि बताउनुभयो । उहाँले एमालेले संविधान च्यात्न नदिने, लोकतन्त्रलाई तलमाथि हुन नदिने प्रतिबद्धता गरेकाे बताउनुभयाे ।

अध्यक्ष ओलीले भन्नुभयो, ‘एमाले हुँदैनथ्यो भने १७ साल अस्ति नै आइसक्थ्यो । तर यहाँ एमाले छ । त्यस कारण १७ साल आउन सक्दैन । २००७ सालपछि १७ साल आइहाल्यो नि ।

आउँथ्यो यहाँ पनि । संविधान भनेको एउटा पुस्तक हो । बलजफ्ती गर्‍याे भने च्यात्न कतिबेर लाग्दैन । तर नागरिक सचेत छ भने उनीहरूकाे मनोबल च्याप्न सकिँदैन ।

त्यसै कारण प्रतिक्रियावादी शक्तिहरू चुप लागेर बसेका छन् । त्यस्ता परमादेशहरू, प्रतिगामी परमादेशहरू अनेक आउन सक्छन् । हामी सरकार छोड्न तयार छौँ, तर देशलाई तलमाथि हुन दिँदैनौँ ।

हामी सरकार छोड्न तयार छौँ, संविधान च्यात्न दिँदैनौँ । हामी लोकतन्त्र तलमाथि हुन दिँदैनौँ । हामीले सात दशकभन्दा बढी सङ्घर्ष गरेर ल्याएको लोकतन्त्र हो, बलिदान दिएर ल्याएको लोकतन्त्र हो ।

नेकपा एमाले यो अठोटमा भएकै हुनाले लोकतन्त्र जीवित छ, होइन भने अहिले यो पाँच दलीय गठबन्धन भन्ने छ नि । बर्को राधे–राधे लगाएका हुन् कि, रामराम लगाएका हुन् कि, कृष्ण–कृष्ण लगाएका हुन् ? यी सबै लोकतन्त्रको भक्षकहरू हुन् । यिनीहरूलाई सत्ता चाहिएको छ, स्वार्थ पूरा गर्नुछ । देश होइन ।’

अध्यक्ष ओलीले आफ्नो पार्टीविरुद्ध भ्रम फैल्याउने काम गरिएको उल्लेख गर्दै त्यसका विरुद्ध सामाजिक सञ्जालमार्फत् ‘वार’ गर्न पनि पार्टीका नेता, कार्यकर्तालाई सचेत गराउनुभयो । यो खबर उज्यालो अनलाइन बाट साभार गरियको ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय