बिहिबार , बैसाख १३, २०८१

नेपाली राजनिती,

माेरङ – प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले एमसीसीबारे झुट नबोल्न प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई चेतावनी दिनुभएको छ ।

एमसीसी पास गर्ने भनेर पत्राचार गरिएको प्रधानमन्त्री देउवाको भनाइ र त्यस्तो पत्र नपठाइएको माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले दिएको अभिव्यक्तिमध्ये एक झुट भएको उल्लेख गर्दै अध्यक्ष ओलीले झुट बोल्ने काम नगर्न सचेत गराउनुभएको हो ।

आज सोमवार विराटनगर विमानस्थलमा सञ्चारकर्मीहरूले राखेका जिज्ञासाको जवाफ दिने क्रममा उहाँले भन्नुभयो, ‘शेरबहादुरजी हस्ताक्षर गरेर दिएको भन्नु हुन्छ । प्रचण्ड दिएको छैन भन्नुहुन्छ । दुइ जनामध्ये एक जनाले झुट बोल्याजस्तो देखिएन ? त्यस्तो झुट बोल्नु हुँदैन ।’

केही दिनअघि प्रधानमन्त्री देउवाले एमसीसी पास गर्ने भनेर आफू र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पत्राचार गरिसकेकाे बताउनुभएकाे थियाे । तर देउवाकाे याे भनाइकाे खण्डन गर्दै प्रचण्डले थप समयका लागि मात्र पत्राकार गरिएकाे बताउनुभएकाे थियाे ।

अध्यक्ष ओलीले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरासहित कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन परमादेश जारी गर्ने सबै न्यायाधीशहरूले राजीनामा दिनुपर्ने अडान दोहोर्‍याउनुभयो । उहाँले प्रधानन्यायाधीश जबरासहित सबै न्यायाधीशले संविधानको पालना नगरेको आरोपसमेत लगाउनुभयो ।

अध्यक्ष ओलीले भन्नुभयो, ‘सबै जना राजीनामा दिनुपर्ने खालको हुनुहुन्छ । उहाँहरू कसैले पनि अदालतको मर्यादा बचाउनुभएको छैन । संविधानको पालना कसैले गर्नुभएको छैन । संविधानको व्याख्यातासम्म हो अदालत । संविधान परिवर्तन गर्ने, संविधान हेरफेर गर्ने होइन । उसले संविधानको व्याख्या गरेन बरु आफैँ संविधानको अनेक धारा सृजना गर्‍याे ।’

अध्यक्ष ओलीले संविधान परिवर्तन गर्ने र हेरफेर गर्ने काम अदालतको नभएको स्मरण गराउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय